PahiloPost

Sep 21, 2019 | ४ असोज २०७६


बलात्कार यौन अपराध होइन, यो त शक्तिको उन्माद हो: कमला भसिन


पहिलोपोस्ट

बलात्कार यौन अपराध होइन, यो त शक्तिको उन्माद हो: कमला भसिन

दक्षिण एसियाकी सशक्त सामाजिक अभियन्ता, कवि अनि लेखक हुन् कमला भसिन। पाँच दशकदेखि निरन्तर लैङ्गिक समानता, गरिबी निवारण, मानव अधिकार र शैक्षिक विकासमा बहस गर्दै आएकी छिन् उनी। नारीवादी विचारका कारण चर्चित भसिन नारीवादीहरुको सञ्जाल ‘संगत’का संस्थापक हुन्। सन् २००२ मा संयुक्त राष्ट्रसंघको जागिर छाडेपछि उनले संगतमार्फत् काम गर्दै आएकी छिन्। यो संस्थाले महिलाविरुद्धको हिंसा अन्त्य गर्न र न्याय, समानता, शान्ति स्थापनाका लागि काम गर्छ।

लैङ्गिक असमानता, पितृसत्ता, महिला हिंसा लगायत विषयमा खुलेर बोल्ने भसिनका ‘बोर्डर्स एण्ड बाउन्ड्रिज: वुमन इन इन्डियाज पार्टिसन', ‘एक्प्लोरिङ मस्कुलिनिटी’,‘लाफिङ म्याटर्स’, र ‘ह्वाट इज पेट्रियार्की’ लगायत पुस्तक चर्चित र ३० भन्दा बढी भाषाहरुमा अनुदित छन्।

भसिन २४ अप्रिल १९४६ मा मन्दी बाहुद्धिनमा जन्मिएकी हुन् जुन हाल पाकिस्तानमा पर्छ। उनी जन्मदा भारतीय स्वतन्त्रताको लडाईँ उत्कर्षमा थियो। त्यसैले उनी आफूलाई 'मध्यरातको पुस्ता'मान्छिन्। उनी स्वतन्त्रता उदाउनु र विभाजन हुनु अघि जन्मिइन्। कमला जन्मिएको भूमि पाकिस्तानमा पर्‍यो। एउटै जराका भए पनि राष्ट्रियताका नाममा यी दुई देशबीच विभाजनको सुरुवातदेखि नै सिर्जित तिक्ततामा कहिले पनि कमी आएन। कश्मीर पछिल्लो विवादको केन्द्रमा छ। तर, यस्ता विषयले कमलाको विचारलाई असर गरेन। नेपालमा महिलावादीहरुको सञ्जाल बिस्तारका लागि आएकी कमला भसिनसँग यिनै विषयहरु माथि भावना शर्मास्वेच्छा राउतले गरेको कुराकानी :-

तपाईंको जन्म भारतमा भयो। त्यो भूमि अहिले पाकिस्तानमा पर्छ। यी दुई देशबीचको तिक्तताका कारण कश्मीरमा सिर्जित तनावका बारेमा तपाईं के सोच्नुहुन्छ?

जन्म जहाँसुकै भएको होस् हिंसा कतै हुनु हुँदैन। शान्तिको चाहना राख्‍न कुनै देशको नागरिक हुनुले फरक पार्दैन। म प्रजातन्त्रमा विश्वास गर्छु। यी दुवै प्रजातान्त्रिक राष्ट्रले छलफल गरेर अगाडि बढ्नुपर्छ। तिक्तता, युद्ध, हिंसा समस्याको समाधान होइन। हिंसाले त व्याप्त गरिबीलाई बढाउँछ मात्र। जनतालाई धम्क्याउनु, तर्साउनुले अल्पकालका लागि समस्याको समाधान गर्ला तर दीर्घकालीन उपाय होइन।

कश्मीरले भारत, पाकिस्तान दुवै देशको प्रहार सहनु परेको छ। युद्धको मारमा अरु देशका मानिस पनि परेका छन्। तर, जहिले पनि युद्धभूमिमा पुरुषलाई मात्र पठाइन्छ। युद्ध रणनीति वा आत्मसुरक्षालाई लिएर महिलामाथि विश्वास नगरिएको हो?

राष्ट्रवाद र पुरुषवाद एकअर्कासँग जोडिएका विषय हुन्। कुनै पनि देश जनताको मातृभूमि अर्थात् 'आमा' कहलिन्छ। त्यसको सुरक्षा उसको राष्ट्रवादी 'छोरा'ले गर्छ भनिन्छ। छोरीले किन गर्दैनन् देशको रक्षा? किनकि पहिलेदेखिनै राष्ट्रका लागि लडिने युद्ध पुरुषहरुको जिम्मेवारी मानियो। महिलालाई त निर्देशन दिइयो- तिमीहरु घरभित्र बस। हामी तिमीहरुको रक्षा गर्छौं।

यो विचार, सामाजिक संरचना पुरुषहरुले स्थापित गरिदिएका हुन्। त्यसैलाई तोड्न त एउटा भिन्‍न आन्दोलन आवश्यक पर्‍यो। यो आन्दोलनको काम पितृसत्ताविरुद्ध बोल्नु हो। आशा गरौं कुनै दिन महिलाले आत्मरक्षा पनि गर्न सक्छे र देशको रक्षा पनि भन्ने कुरा प्रमाणित हुनेछ।

तर, यस्ता विषयमाथि छलफल हुँदा पुरुष आक्रोशित हुन्छन्। महिला आन्दोलनले पुरुषहरुलाई चिढ्याएको जस्तो लाग्दैन?

महिलावादी कुरा सुन्दा पुरुषहरु आक्रोशित हुनुको कारण उनीहरुले आन्दोलनलाई गलत तरिकाले बुझ्नु हो। पितृसत्ताले महिलालाई मात्र होइन पुरुष स्वयंलाई पनि हानी गरेको छ। त्यसको विरुद्ध हो हाम्रो आन्दोलन। कुनै घरमा छोरीको धुमधामसँग विवाह हुन्छ। विवाहका लागि आवश्यक खर्च र लाखौंको दाइजो कसले जुटाउँछ? केटीको बुबा वा दाइले होइन? वा भनौं कसैकी श्रीमती आत्मनिर्भर भइन् भने त्यसको फाइदा उसलाई मात्र हुन्छ त? उनले आफ्नो खर्च आफैं जुटाउँछिन्, घरमा आवश्यक सामानको लागि श्रीमानको तलब पर्खिन्नन्। यस्ता कुराले पुरुषलाई हानी गर्छ त?

महिला घर बाहिर निस्किनु नै हुँदैन भन्ने हो भने कोही पनि अगाडि बढ्नेवाला छैन। महिला घरभित्र नै रहन्छन् र पुरुष सधैं उनीहरुको पहरेदार बनेर बस्छन्।

तपाईंमा चाहिँ के कुराले पितृसत्ता विरोधी चेत भरिदियो?

म सानो गाउँमा हुर्किएँ। त्यहाँ छोरीहरु घर बाहिर खेल्न आउँदैन थिए। उनीहरुको पनि मन हुन्थ्यो होला साइकल चलाउने, रुख चढ्ने, चङ्गा उडाउने, गोजी भएको लुगा लगाउने। तर, उनीहरुको लुगामा गोजी हुन्थेन। गोजी त पैसा वा खाली हात राख्नका लागि हो। छोरीसँग न पैसा हुन्थ्यो न उनीहरुको हात नै कहिले खाली रहन्थ्यो। उनीहरु बाँधिएका थिए। मलाई सधैं लाग्थ्यो स्वतन्त्रता उनीहरुको अधिकार हो। त्यो बुझाइ नै पितृसत्ता विरोधी चेत रहेछ। मैले पछि बुझेँ।

भनेपछि तपाईंले बाल्यकालदेखि नै विद्रोह गर्नुभयो?

त्यस्तो बिल्कुल होइन। मैले पितृसत्ता, महिलावाद जस्ता शब्दहरु सुन्दा म २७/२८ वर्षको भइसकेको थिएँ। तर, मलाई मैले र मजस्तै छोरीहरुले घर बाहिर निस्कन, खेल्न पाउनुपर्छ भन्ने चाहिँ सानैदेखि लाग्थ्यो। मेरो परिवारमा विद्रोह गर्नु परेन किनकि मेरा बुबाआमाले मलाई दाजुभाइ सरह समान रुपमा हुर्काउनु भयो। मैले गोजी भएको लुगा पनि लगाएँ र मैदानमा केटाहरुको हुलमा मिसिएर खेलेँ पनि। समस्या त मेरा केटी साथीहरु खेल्न नआउनुमा थियो।

बुझ्दै जाँदा उनीहरु बाहिर ननिस्किनुको कारण थाहा पाएँ। जब म गैरसरकारी संस्थाहरुमा आवद्ध भएर काम गर्न थाले तब झन् धेरै महिलाहरुसँग भेट भयो। उनीहरुको कथा सुनेँ। समस्याबारे थाहा पाएँ। असमानता जहीँतहीँ देखेँ। अनि प्रष्ट भएँ, विद्रोह कोही एकको लागि होइन, धेरैभन्दा धेरै महिलाका लागि आवश्यक छ। त्यसैले पितृसत्ताविरुद्धको उठाएको आवाज मेरो मात्र आवाज बनेन।

पितृसत्ताविरुद्धको आन्दोलनका लागि तपाईंसँगै खेल्ने केटा साथीहरुको व्यवहारले पनि असर गर्‍यो त?

म स्वतन्त्रता चाहन्थेँ। धन्न मेरो बुबाआमाले मलाई बुझ्नु भयो र मेरो खेलप्रतिको मोहलाई पनि। त्यसैले कहिले पनि खेल्न रोक्नु भएन। विडम्बना मैदानमा म एक्ली केटी हुन्थेँ, केटाहरुसँग खेल्न। तर, मलाई कहिले पनि डर लागेन। नडराई खेल्दा म जित्थेँ। मेरा केटा साथीहरु मेरो जितमा खुसी हुन्थे। ती घटनाहरुले सबै पुरुष गलत हुँदैनन् भन्ने सकारात्मक छाप पारेको छ।

सायद, उनीहरुसँग डराएको भए म हार्थेँ होला। हार्दा झगडा गर्थेँ होला। उनीहरु मेरा साथी नभइ दुश्मन बन्थे होला। तर, मैले कहिले पनि उनीहरुलाई दुश्मन मानिनँ। आज पनि मेरो लडाईं कुनै एक पुरुषसँग होइन, पितृसत्ताविरुद्ध हो।

एउटै समाजमा हुर्किए पनि तपाईंको र तपाईंका साथीहरुको भोगाइ फरक रहनुमा परिवारको शैक्षिक वातावरणले प्रभाव पारेको हो?

बिल्कुल होइन। औपचारिक शिक्षा र समानताको एकअर्कासँग केही पनि लिनुदिनु छैन। मेरी आमाले कहिले पनि स्कुल जानु भएन तर पनि मैले समानता महसुस गरेको उहाँको व्यवहारबाटै हो।

हामी आफ्नै उदाहरण लिऔं न! हामीमध्ये धेरै शिक्षित छौं। तर, हामी डिग्री सर्टिफिकेट दराजमा थन्क्याएर खुसी खुसी तीज मनाउँछौं। पढाई सक्कियो भन्दै बुबाको हातबाट आफ्नै कन्यादान गराउन तयार हुन्छौं। दाइजो लिन्छौं। श्रीमानको नाममा सिन्दुर लगाउँछौं। कहाँ पार्‍यो शिक्षाले असर?

समानतासँग सम्बन्ध छैन त्यस्तो शिक्षाको जसले स्वतन्त्रता सिकाउँदैन। सयमा पाँचजना शिक्षित महिला समानताको बाटो रोज्छन् र बाँकी ९५ जना महिला पति परमेश्वरको साथ सहयोग रोजेर आफैंलाई पितृसत्ताको शिकार बनाउँछन्।

यस्ता कुराहरुले महिलालाई सधैं पछाडि धकेल्न खोज्ने तत्वहरुलाई सहयोग पुर्‍याउँछ। शिक्षा त मूल्य, विवेक र नैतिकता हो।

के-के हुन् त त्यस्ता तत्व जसले महिलालाई अगाडि बढ्न दिँदैन?

पुँजीवादी पुरुषसत्ता। यसले अन्य तत्वहरुलाई प्रोत्साहित गर्छ। उदाहरणका लागि पोर्नोग्राफीलाई हेरौं न। महिलालाई पोर्नमा देखाएर धानिएको बिलियन डलर पोर्नोग्राफी इन्डस्ट्री। त्यसमाथि कस्मेटिक्सको व्यापार। गाजल, लिपस्टिक नलगाई कुनै महिलालाई पूर्ण नस्वीकार्ने बजार हो यो। कस्मेटिक्सको बजारले ९० प्रतिशत् महिलालाई दु:खी र कमजोर महसुस गराउँछ। किनकि उनीहरु सबैजना ऐश्वर्या राय वा कट्रिना कैफजस्तो हुन सक्दैनन्। निकै कम महिला हुन्छन् जो आफ्नो ओठ वा ब्रेस्टजस्तो छ त्यस्तै ठीक छ भन्ने पक्षमा हुन्छन्।

खेलौना उद्योगले बाल्यकालदेखि नै छोरा र छोरीमा त्यो विभेदको पर्खाल खडा गरिदिन्छ। छोराहरु सबै आफूलाई सुपरम्यान, ब्याट्सम्यान ठान्छन्। बन्दुक समाउँछन्। छोरीहरु बार्बी डलको लुगा फेरिदिने, भाडाकुटी सम्हाल्नेतिर ढल्कन्छन्।

त्यसपछि आउँछ मिडिया। हाल मिडिया सत्य फैलाउन होइन, पैसा कमाउनमात्र प्रयोग भएको छ। मिडिया मालिकहरु फाइदाको उदेश्य राख्छन्। नग्न केटीको फोटो बेच्दा हुने फाइदा कुनै पीडित महिलाको न्यायका लागि लेखिएको समाचारबाट हुँदैन भने ऊ पहिलो सामग्री रोज्छ।

पैसालाई सबथोक मान्दा प्रजातन्त्र, समानता, मानव अधिकार, सत्य केही पनि बाँकी रहँदैनन्।हलिउड, बलिउड र सौन्दर्य प्रतियोगिता अर्को यस्तो व्यापार जसले महिलालाई केवल शरीरको रुपमा मात्र प्रस्तुत गर्छ।

मतलव सिनेमा र सौन्दर्य प्रतियोगिताको व्यापारसँगै महिलाविरुद्धको हिंसा पनि बढेको छ?

हो। महिलालाई केवल शरीरमात्र हो भन्ने पारिन्छ र त उनीहरुविरुद्ध हिंसा गर्छन्, बलात्कार गर्छन्। शरीर मात्र ठान्छन् र त केही वर्षमै हिरोइन, हिरोइन रहँदिनन्। हिरोलाई त ६० वर्षको उमेरसम्म पनि लभर ब्वाइ बनिरहने छुट छ।

महिला शरीर हो मतलव महिला 'नश्वर' हो। त्यसैले यस्ता पुँजीवादी पितृसत्ताले महिलालाई नास गर्न ठूलो भूमिका खेलेको छ। संविधानले हामीलाई अगाडि बढ्ने बाटो त दिएको छ तर पुँजीवादी पितृसत्ताले त्यो बाटो छेक्छ। सरकार यसको विरुद्ध केही पनि बोल्दैन। त्यसैले लडाईँ एक कदम अगाडि जाँदा दुई कदम पछाडि धकेल्छन्।

महिला स्वयंले पनि केही भूमिका खेल्छन् कि? तीजमा एक नेपाली अभिनेत्रीले श्रीमानको खुट्टा पखालेर पानी पिएको भिडियो सार्वजनिक गरिन्। भिडियोको आलोचना भयो। अभिनेत्रीले परम्परा जोगाएको भन्दै स्पष्टीकरण दिएकी थिइन्।

उनी अभिनेत्री रहिछन् त्यसैले अभिनय गरेकी हुन्। दर्शकको ध्यान खिच्न पनि कहिले काहीँ यस्तो गर्छन् कलाकारहरु। नत्र त उनले सरासर संविधान र महिला आन्‍दोलन विरोधी काम गरेकी हुन्। यस्तो कार्यले पितृसत्तालाई बढवा दिन्छ। उनलाई देखेर ५० जनाले सिक्छन्।

फिल्ममा छोटो कपडा पनि लगाएकी होलिन्, त्यतिखेर त परम्परा, संस्कारको पक्कै मतलव हुँदैन होला। परम्परालाई उनले आफू अनुकूल बहाना बनाएकीमात्र हुन्।

के धर्म, परम्परासँग जोडिएका विषयले लैङ्गिक असमानतालाई प्रश्रय दिइरहेको हो?

हामीले मान्दै आएको धर्महरु पुरुषले बनाए। आफैं लेखे, आफैं व्याख्या गरे। र आफूले बनाएको देउताको पूजारी पनि पुरुषनै। पत्नी धर्म नमाने देउता 'रिसाउँछ' रे! हेर्नुस् न देउता पनि पुलिङ्गी नै स्थापित गरिदिएका छन्। आस्था पनि पुरुष जातको हो भने पुरुष भगवान हुन्। र, महिला उनीहरुको दासी।

उसको नामको सिन्दुर लगाउ, उसको खुट्टाको पानी पिउ- यी सबै धर्मको नाममा हामीमाथि लादिनुको पनि कारण छ। धर्ममाथि प्रश्न गर्ने आँट हत्तपत्त कसैले गर्दैन। धर्म आस्था हो। आस्थामा बेवकुफी हुँदा हामी बोल्न सक्दैनौं र यसले बहस बन्द गरिदिन्छ।

पैसा र पदको शक्ति महिलालाई दबाउने आधार बनेको हो त?

सरकार, मिडिया, समाज सबै पैसा र पदवालासँग डराउँछ। गरिब, दलित, पदहीनहरुको बलात्कार हुँदा प्रहरीले एक्सन लिँदैन। यस्ता धेरै मुद्दाहरु मेलमिलाप वा दमनमा पुगेर टुंगिन्छ। समाज पनि पीडकलाई गलत देख्दैनन्। यसको मतलव मानिसहरु पीडितको विरोधी होइनन्। उनीहरु पावरमा भएकाको पक्षमा उभिएका हुन्। बलात्कार यौन अपराध होइन, यो त शक्तिको उन्माद हो।

अहिले महिला आन्दोलनलाई कुन अवस्थामा पुगेजस्तो लाग्छ?

महिला आन्दोलन फरक ठाउँमा फरक बिन्दुमा छ। किनकि यो नियमित प्रक्रिया हो। नेपालमा ३३ प्रतिशत महिला आरक्षणको व्यवस्था छ। राष्ट्रपति महिला। न्यायालयमा पनि महिलाहरु छन्। तर, यही देशमा आफ्नै बुबा वा घरबेटीबाट बलात्कृत हुने छोरी पनि त छन्। कोही अघि छौं कोही पछि, सबै पुग्नुपर्ने चाहिँ एउटै बिन्दुमा हो।

हरेकले हर बखत पितृसत्ता भोग्नुपर्छ। फरक भोगाइका लागि लडाईँ पनि फरक हुन्छ। हार्ने महिलासँगको कुराकानीले पीर दिन्छ, आन्दोलनको प्रभावबारे सोच्न बाध्य भइन्छ। जित्नेहरुको कथाले ऊर्जा दिन्छ। आज तपाईंहरु आएर मसँग अन्तर्वार्ता लिनु पनि यस्तै उर्जाको एउटा उदाहरण हो। हाम्रो आन्दोलन समानताको आन्दोलन हो, नयाँ पुस्ताले यो बुझ्न अति आवश्यक छ। र, उनीहरुलाई पढाएर, घोकाएर सिकाउने होइन। आफूले गरेर बुझाउनु पर्छ।



बलात्कार यौन अपराध होइन, यो त शक्तिको उन्माद हो: कमला भसिन को लागी ५ प्रतिक्रिया(हरु)

Suresh [ 2019-09-11 16:21:58 ]
India vs pak kai kahani badhi cha chaine kura aalik kamai cha

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


radha koiral [ 2019-09-07 20:29:46 ]
you are right, thousands of steps have to walk to reach to the destination for equity. thank you very much for your interview, DD.

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


डेभिल शर्मा [ 2019-09-06 16:53:51 ]
सत्य वचन

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Dr. Gurubhakta Aghori [ 2019-09-05 15:44:23 ]
Nice interview. I like it.

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


प्रदीप खद्योत: [ 2019-09-05 13:32:27 ]
राम्रो छ।

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट