PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

ठगी गिरोहका नटवरलालको करिष्मा : आफैं स्थानीय सरकार, आफैं गभर्नर अनि आफ्नै घरमा मन्त्रालय



एम बम

ठगी गिरोहका नटवरलालको करिष्मा : आफैं स्थानीय सरकार, आफैं गभर्नर अनि आफ्नै घरमा मन्त्रालय

कैलाली : स्थानीयलाई उनको आयआर्जन र सम्पत्तिको विषयमा शंका सुरु भएको धेरै भइसक्यो। तर, प्रहरीमा सञ्जय राणाले ठगी कारोबार गर्छन् भन्ने प्रमाणसहित सूचना आएको एक महिना पूरा भएको छैन। केही दिनअघि मात्रै प्रहरीमा धनगढी उपमहानगरपालिका वडा नम्बर ६ मटियारी बस्ने सञ्जय शमशेर जंगबहादुर राणा भन्ने सञ्जय राणाले ठगीको धन्दा चलाएका छन् भन्ने विशेष सूचना प्राप्त भएको थियो।

सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय कैलालीले उनीमाथि निगरानी बढायो। उनको कारोबारमाथि ठूलो शंका लागेपछि प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टोलीलाई कैलाली बोलायो।

त्यसक्रममा प्रहरीले उनलाई प्रायः मटियारीस्थित घरबाट धनगढी उपमहानगरपालिका ४ बोराडाँडीमा रहेको अर्को घरसम्म बढी आउजाउ गर्ने गरेको भेट्यो। निगरानी बढ्दै गएपछि बोराडाँडीस्थित घरमा छापा मार्दा प्रहरी उनको वास्तविक कर्तुत नजिक पुग्यो।

उक्त घरमा रहेको अट्याच कोठाको ट्वाइलेटमा उनले प्रयोग गर्ने गरेका नक्कली कागजात र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको छाप प्रहरीले फेला पार्‍यो। त्यसपछि प्रहरीले राणालाई पक्राउ गरी अनुसन्धान थाल्यो। अनुसन्धानमा उनले अन्य दुई जनालाई समेत प्रयोग गरी ठूलो ठगी धन्दा चलाएको देखायो।

उनीसँगै प्रहरीले उनका सहयोगीका रूपमा रहेका साबिक मकवानपुर आम भञ्ज्याङ गाउँ विकास समिति घर भई हाल धनगढी उपमहानगरपालिका ३ बस्ने रुद्रप्रसाद अधिकारी र धनगढी उपमहानगरपालिका ६ बस्ने कमल बहादुर विकलाई पनि पक्राउ गरेको छ। उनीहरु दुवै जनालाई राणाले ठगी काममा प्रयोग गरेको प्रारम्भिक अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी सुदीप गिरीले बताए। राणाले अहिलेसम्म गरेका अधिकांश ठगीका कार्यमा उनीहरू दुवैको नाम र संलग्नता देखाउने र आफू बच्ने काम गरेको देखिएको छ।

प्रहरीले उनीहरूविरुद्ध ठगी मुद्दामा जिल्ला अदालत कैलालीबाट ७ दिनको म्याद थप गराएर अनुसन्धान अघि बढाएको छ।

 

स्थानीय सरकारदेखि मन्त्रालय आफ्नै घरमा

प्रहरीका अनुसार राणाले स्थानीय सरकारदेखि केन्द्रको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको छापसमेत काटेर ठगीका लागि घरबाटै कीर्ते कागजात बनाउने गरेका थिए। ट्वाइलेटमा लुकाएर राखेको अवस्थामा धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका लगायत कैलालीका ४ स्थानीय तह, कैलालीका विभिन्न स्थानमा रहेका मालपोत र नापी कार्यालयका छाप पनि प्रहरीले बरामद गरेको छ।

त्यस्तै उनीहरुका साथबाट नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालय, अर्थ मन्त्रालय सिंहदरबार, नेपाल राष्ट्र बैंक शाखा कार्यालय बाँके, गभर्नर डा. चिरञ्जीवी नेपाललगायतका नामका ३५ थान छाप बरामद गरेको छ। ती कार्यालयसम्बद्ध अधिकांशका नगद रसिद पनि प्रहरीले बरामद गरेको छ।

ती छापहरूको प्रयोग गरी उनले हस्ताक्षर गरिएका विभिन्न बैंकका सक्कली तथा कतिपय नक्कली गरी ३८ वटा खाली चेक र विभिन्न व्यक्तिका नाममा काटिएका २ करोड ४५ लाख २० हजार रुपैयाँ बराबरका चेक पनि भेटिएको छ।

साथै नक्कली छाप र अन्य केही विद्युतीय सामग्री प्रयोग गरेर उनीहरुले नेपाल राष्ट्र बैंकले रिलिज गरिसकेको बताउने २ अर्ब ९२ करोडका तीन थान नक्कली बैंक ड्राफ्ट छापेको अवस्थामा प्रहरीले बरामद गरेको छ।

 

हातहतियारमा पनि संलग्नता

उनीहरुका साथबाट चार थान पेस्तोल, ७ राउन्ड गोली र एउटा बटनवाला चक्कु समेत प्रहरीले बरामद गरेको छ।

जिल्ला अदालतका छाप र ट्राफिक प्रहरीले प्रयोग गर्ने सेतो बेल्ट, सिट्टीकर्ड, आर्मब्याग, चेस्ट नेमस्लेट, प्रहरीकै जुत्ता समेत बरामद गरिएको छ। प्रहरीले उक्त समूह हातहतियार ओसारपसारमा समेत संलग्न रहेको हुनसक्ने अनुमान गरेको छ।

 

तमसुकको खात

प्रहरीले विभिन्न व्यक्तिको नाममा लिनेदिने गरी बनाएका १८ करोड ३ लाख ६४ हजार बराबरका २३ थान तमसुक र उनको घरबाट खानतलासी गरी ६ सय ७९.३६ ग्रामका सुनका गरगहना पनि बरामद गरेको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनीहरु ठगीका लागि मिटर ब्याज, जग्गा दलाली र बैंकका कीर्ते कागजातमा प्रत्यक्ष संलग्न रहेको पाइएको छ। उनले जग्गाको ट्रेस नक्सा निकालेर कित्ता नम्बर फेर्ने र सडकको सीमाभित्र पर्ने जमिन समेत बेचेको पाइएको छ।

छापहरू धनगढीबाट सबैभन्दा नजिकको भारतीय शहर पलियाबाट काटेर ल्याएको भन्ने बयान दिएकाले प्रहरीले घटनामा अन्य व्यक्तिहरूको पनि संलग्नता रहेको आशंका गरेको छ।

 

जिरोबाट बनेको करिष्मा

प्रहरीले जिल्ला प्रशासन कार्यालय डोटीबाट जारी भएको एक र कैलालीको टीकापुरबाट जारी भएको उनकै नामका अर्को गरी दुई थान नागरिकता समेत बरामद गरेको छ।

साबिक डोटी केआईसिंह गाउँपालिका राना गाउँका सञ्जय राणा भनिने सञ्जय राणाको केही वर्ष अगाडि धनगढीको मटियारीमै सामान्य घर थियो। उनको पारिवारिक अवस्था सामान्य नै थियो। एकाएक उनले मटियारीमै आलिसान घर बनाए। कारमा हिँड्न थाले। घाँटीमा सुनको सिक्री लगाउन थाले र ठूला होटलहरुमा भोज भतेरको कार्यक्रम समेत आयोजना गर्न थाले।

देखिने गरी कुनै पनि कारोबारमा संलग्न नभए पनि उनको जीवनशैली एकाएक फेरियो। एकाएक धन सम्पत्ति जोडेपछि छिमेकमा चर्चाको पात्र बन्ने लागे। छिमेकीले सोध्दा जग्गाको कारोबार गर्छु भन्दै उनी सहजै जवाफ दिन्थे। तर उनको कर्तुत भने अहिले मात्रै बाहिर आएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell