PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

कांग्रेस कार्यकर्ताको प्रशिक्षणमा शीर्ष नेताबीच नै वाकयुद्ध : कसको निसानामा को?



नेत्र तामाङ

कांग्रेस कार्यकर्ताको प्रशिक्षणमा शीर्ष नेताबीच नै वाकयुद्ध : कसको निसानामा को?

भक्तपुर : एक अर्काप्रति आरोप र प्रतिवाद नगर्ने भद्र सहमतिलाई नेपाली कांग्रेसका शीर्ष नेताहरु भक्तपुरको बोडेमा भने बिर्सिएका छन्। पार्टीका कार्यकर्ताको प्रशिक्षण उद्घाटन सत्रमा शीर्ष नेताहरु एक अर्काप्रति खनिन् छाडेनन्।

प्रशिक्षणमा सहभागी हुन आएका सिन्धुपाल्चोकका कांग्रेस महाधिवेशन प्रतिनिधि चित्र मिजार भन्दै थिए - 'आफू आफै झगडा गर्छन्। के तालिम दिने हो यस्ताले?'

नेपाली कांग्रेसले आजबाट प्रदेश ३ अन्तर्गत सात जिल्लाका महाधिवेशन प्रतिनिधिहरुलाई प्रशिक्षण दिन थालेको छ। दुई दिने प्रशिक्षणमा काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछापका महाधिवेशन प्रतिनिधिहरु भेला भएका छन्।

भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा प्रशिक्षण शुरु हुँदा शीर्ष नेताका कटाक्षपूर्ण अभिव्यक्तिले केही उत्साही देखिन्थे भने केही निरास। शीर्ष नेताजस्तै यहाँ भेला हुन आएका प्रतिनिधि पनि उनीहरुकै कुनै एक गुटआवद्ध छन्। गुटमै आवद्ध भए पनि सबैलाई ठूला नेताको घोचपेच मन परेको छैन। आफ्नो गुटको नेताले अर्को गुटको नेतालाई कटाक्ष गर्दा सहभागीहरु खुशी र दु:खी भइरहेको देखिन्थ्यो।

दुई दिनसम्म चल्ने प्रशिक्षणको उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले द्वोबु प्राङ्गणमा गरे।

कार्यकर्तामा राम्रो सन्देश नजाने भन्दै शीर्ष नेताहरुले आरोप प्रत्यारोपमा नउत्रने बताएका थिए। प्रशिक्षण र जागरण अभियानहरुमा नेतृत्वमै रहेकाले आरोप प्रत्यारोप गर्न थालेपछि कार्याकर्ताले सुझाव दिएका थिए - पहिला आफै मिलेर आउनुस्।

दोस्रो चरणको जागरणमा बृहत तयारीका साथ एकताको सन्देश लिएर जाने कांग्रेसले जनाएको थियो। तर, कांग्रेस शीर्ष नेता जागरण अभियान शुरु हुनु अघि नै आरोप प्रत्यारोपबाट बाहिरिन सकिरहेका छैनन्।

उद्घाटनमा सभापति देउवाले कांग्रेसमा एकता नभएको कुरा सहजै स्वीकारे। देउवाले झै वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले पनि उचित एकताको पर्खाइमा नेता कार्यकर्ता रहेको भन्दै घुमाउरो पाराले असन्तुष्टि पोखे। पौडेलले उपसभापति विमलेन्द्र निधिलाई पाठ पठाउन भ्याए भने देउवालाई सदनमा प्रतिपक्षीको भूमिका निभाउन नसकेको आरोप लगाए। पूर्व महामन्त्रीसमेत रहेका सिटौलाले हुकुमी शैलीमा एकता हुन नसक्ने उल्लेख गरे।

 

कांग्रेसको रोग निको पार्छु : देउवा

सभापति देउवाले पार्टी भित्र रहेको बेमेलको रोग निमिट्यान्न पर्नुपर्ने बताए।

'अन्तर्घातीलाई अब कारबाही हुन्छ,' देउवाले भने, 'कसले रोक्दो रहेछ म पनि हेर्छु अब।'

उनले पार्टीभित्र एकता हुन जरुरी रहेको भन्दै प्रश्न गरे, 'पार्टी किन हार्‍यो हिजो? के साच्चै एकता छ त? एकता हुँदाहुँदै हारेको हो त?'

वरिष्ठ नेता पौडेलको आरोपपछि उनले सदनमा सक्दो विरोध गरेको दाबी पनि गरे।

 

देउवा र निधिमाथि पौडेलको प्रहार

कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख हुन् उपसभापति विमलेन्द्र निधि। प्रशिक्षणका मुल आयोजक उनै हुन्।

उनले सभापति देउवाको प्रशंसा गर्दै कम्युनिस्टले प्रेस नियन्त्रण गर्न खोजेको कुरा बल्ल प्रेसले बुझ्न थालेको बताए। अहिले मिडियासम्बन्धी विधेयक आएपछि देउवाले भनेको कुरा सही रहेछ भनी पत्रिकाहरुले सम्पादीय नै लेख्न थालेको उनको तर्क थियो।

निधिले यति बोलेपछि वरिष्ठ नेता पौडेललाई चित्त बुझेनछ। प्रतिक्रिया दिइहाले, 'उपसभापतिजीले भन्नुभयो, पत्रिकाले लेख्छ रे! पत्रिकाले के लेख्छ हामलाई मतलब छैन। हामी सही बाटोमा हिँड्नुपर्‍यो नि।'

त्यसैगरी उनले सभापति देउवातिर लक्षित गर्दै संसदमा सरकारको विरोध नै गर्न नसकेको आरोप लगाए। पौडेलले भने, 'संसदमा आवाज उठाएको छैन। सदनमा किन उठाएन सभामुख र उपसभामुखको कुरा? संवैधानिक निकायका निर्णयमा पनि किन आवाज उठाउन सकेन?'

उनले जनतालाई कांग्रेसको पक्षमा ल्याउन के गर्ने भन्नेबारे सोच्ने बेला आइसकेको बताए। भने, 'हाम्रो पक्षमा जनता ल्याउन पर्‍यो। हिजोको चुनावमा हामीलाई मत दिएनन्। के कारणले दिएनन्? त्यसमा हामीले सोच्न सक्ने कि नसक्ने? जनतालाई आधार चाहिन्छ। विश्वासको ठाउँ चाहिन्छ। कम्युनिष्टबाट अब मोह भंग भएको छ। नेपाली कांग्रेस जनताको भारोसाको केन्द्र बन्ने कि नबन्ने? हामी समाजवादी हुन सक्ने किन नसक्ने? सिद्धान्तमा जित्छ तर संगठनले हार्छ। किन यस्तो भइरहेको छ?'

 

सिटौलाले खोजे खुल्लमखुल्ला भाग

पार्टीलाई एक गराउने विषय उठाउँदै पूर्व महामन्त्रीसमेत रहेका कृष्णप्रसाद सिटौलाले खुल्ला रुपमा भागवण्डाकै माग गरे। एकता हुनुपर्ने तर 'म भन्छु तिमी मान है' को शैलीमा त्यो हुन नसक्ने उनको तर्क थियो।

'सात सालदेखिको सफलता हामीले राख्नुपर्छ। हामी एक भएर अघि बढ्नुपर्छ,' नेता सिटौलाले भने, 'तर, एकता सिद्धान्त, नीति, रणनीति, विचार, व्यवहार, निर्णय प्रक्रिया, जिम्मेवारी बाँडफाटका आधारमा हुनुपर्छ।'

उनले पार्टीभित्र सन्तुलन कायम राखेर एकता हुनुपर्ने तर्क गरे। 'म खान्छु, तिमी हेर है। म महलमा बसिराख्छु, तिमी झुप्रोमा बसिराख भनेर एकता हुँदैन,' उनले भने, 'जहाज दुर्घटना भए सबै मर्छ। यो कुरा बुझेर एकतामा जानुपर्ने आवश्यकता छ।'

सिटौलाले विगतका गल्ती नदोहोर्‍याउन सचेत गराए।

'अब हामी परिवर्तन हुनुपर्छ। सबै साथीहरुमा परिवर्तन आवश्यक छ। गएको निर्वाचनमा माथिदेखि तलसम्म धेरै गल्ती भएका छन्। हामीले गल्ती दोहोर्‍याउन भएन,' उनले भने।

 

शशांकको डेढ मिनेट लामो मन्तव्य

स्वागत भाषण लगत्तै बाहिर जानुपर्ने भनी समय मागेका महामन्त्री शशांक कोइरालाले डेढ मिनेटमात्रै बोले। उनले नेपाली कांग्रेसलाई कसैलाई हराउन नसक्ने दाबी गरे। कांग्रेसलाई कांग्रेसभित्रै बसेकालेमात्र हराउन सक्ने उनको भनाइले पार्टीभित्र फुटको राजनीति कति छ भन्ने बुझ्न काफी थियो। कोइरालाले भने, 'कार्याकर्ता सबै सबल छन्। नेपाली कांग्रेसलाई कसैलाई हराउन सक्दैन। कांग्रेसलाई कांग्रेसभित्रै बसेकालेमात्र हराउन सक्छ।'

उनले धरान, पोखरा र भक्तपुरमा कांग्रेसले जित्नुपर्ने बताए। 'भक्तपुरमा चुनाव हुँदैछ। यसपटक कांग्रेसले जित्नुपर्छ,' कोइरालाले भने, 'देशको स्थिति जटिल भएकाले कांग्रेस अघि बढ्नुपर्ने अवस्था आइसकेको छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell