PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

राज्य कब्जाको बाटोमा कम्युनिस्ट सरकार



पहिलोपोस्ट

राज्य कब्जाको बाटोमा कम्युनिस्ट सरकार

  • कृष्णप्रसाद सिटौला -

कांग्रेसको वर्तमान स्थिति

नेपाली कांग्रेसको नेतृत्वमा अत्यन्त ठूलो परिवर्तन आयो। गणतन्त्र नेपालको अत्यन्त ठूलो मौलिक परिवर्तन हो २०६२/६३ को आन्दोलन। यो गणतन्त्रसँग जोडिएर अधिकार धेरै आए। सात सालको क्रान्तिको मौलिक परिवर्तन लोकतन्त्र थियो।

लोकतन्त्रसँग जोडिएर जनताका धेरै अधिकार आए। २०६२/६३ को आन्दोलनको मौलिक परिवर्तन गणतन्त्र थियो। निकै ठूलो उपलब्धि देशले पायो, राष्ट्रले प्राप्त गर्‍यो। ती उपलब्धिलाई संस्थागत गर्ने संविधान पनि नेपाली कांग्रेस पार्टीकै नेतृत्वमा सम्पन्न भयो।

निर्वाचन पनि कांग्रेस पार्टीकै नेतृत्वमा सम्पन्न भयो। अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय व्यवस्था जुन छ, त्यसपछि बनेका सरकारमा भने कांग्रेस सरकारमा पुग्न सकेन। हामी प्रतिपक्षीमा मात्र पुग्यौ।

केन्द्रमा कम्युनिस्टको दुई तिहाइको सरकार छ। ६ वटै प्रदेशमा उनीहरुकै सरकार छ। प्रदेश २ मा पनि उपेन्द्र यादव सरकारमा भएकोले कम्युनिस्ट समर्थित सरकार बन्यो।

यसरी संसदीय व्यवस्था अन्तर्गत बन्ने केन्द्र र प्रदेशका सरकारमा सबै ठाउँमा कम्युनिस्ट पार्टीको नेतृत्वमा छ। नेपाली कांग्रेस सबैतिर प्रतिपक्षमा छ। स्थानीय स्तरमा पनि हामी दोस्रो स्थानमा छौं। सुरुमा एमाले केही अगाडि देखिएको थियो - संख्याका दृष्टिले। दुई पार्टी एक भएपछि हामीभन्दा निकै माथि पुग्यो, कम्युनिस्ट पार्टी। यसरी हेर्दा स्थानीय स्तरमा पनि हामी मुलभूत रुपमा प्रतिपक्षीमा छौं।

यसरी प्रतिपक्षीमा रहेर नेपाली कांग्रेस कसरी यो देशलाई नेतृत्व दिने हो नीतिगत नेतृत्व कसरी दिने हो, सैद्धान्तिक नेतृत्व कसरी दिने हो, हामीले गम्भीरतापूर्वक विचार गर्नुपर्छ। नेतृत्व दिन सक्नेगरी क्षमता अब हामीले आफैभित्र विकास गर्न सक्नुपर्छ ।

अराजक बन्दै कम्युनिस्ट सरकार

सरकार बनेको छोटो समय छ। भर्खर दोस्रो वर्षको बजेट आएको छ। अन्तिम मूल्यांकन गर्ने बेला त होइन होला। तर, प्रारम्भीक वर्षले नै बताउँछ संविधानभित्रबाट हिँड्न खोजेको छैन। संविधानले स्थापित गरेको मूल्य र मान्यतालाई स्थापित गर्न सरकार अग्रसर भएको देखिदैन।

संवैधानिक निकायहरुलाई निष्पक्ष र स्वतन्त्र ढंगले बढ्ने बाटोमा सरकारले सहजीकरण गरेको छैन। चारैतिर सरकार हस्तक्षेप गरी अघि बढ्न थालेको छ, न्यायपालिकामाथि, संवैधानिक निकायहरुमाथि एकलौटी निर्णय कब्जा गरेर अघि बढ्न खोजेको छ। संविधान बमोजिम न्यायालय स्वतन्त्र र निष्पक्ष रहोस् भन्ने दृष्टिकोण सरकारको पाइन्न। संवैधानिक निकायहरु, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोग, निर्वाचन आयोग आदिलाई स्वतन्त्र र निष्पक्ष ढंगले काम गर्न दिइएको छैन।

संवैधानिक आयोगमा नियुक्ती गर्दासमेत प्रतिपक्षी दलको नेताहरुलाई वास्ता नगरी संवैधानिक परिषद्ले एकलौटी ढंगले नियुक्ति गरेकोबाट हामीले सहजै बुझ्न सक्छौ।

संवैधानिक परिषद्ले प्रधान न्यायाधीशलाई नियुक्तीको सुनुवाईको बेला सत्तारुढ दलका नेताहरुले अस्वीकृत गरेबाटै हामीहरु सजिलै बुझ्न सक्छौ। समग्र कब्जा गरेर सम्पूर्ण राष्ट्रका निकाय र लोकतन्त्रमाथि नै डन्डा बर्साउन चाहन्छन्। र, यसरी नै आगामी निर्वाचनमा क्याप्चर गर्न चाहन्छन्। यो प्रारम्भीक वर्षले बताएको छ।

प्रेसमाथि अंकुश लगाउन खोजिरहेको छ सरकार। मानवअधिकार आयोगलाई स्वतन्त्र ढंगले काम गर्न नसक्ने बनाउने प्रयास गरिरहेको छ। अन्य, धेरै यस्ता कानुन ल्याउने प्रयासमा छ जसले संविधानले जनतालाई दिएका आधिकार कुण्ठित गर्ने प्रयास गर्छ।

कर्मचारीको ट्रेड युनियन अधिकार संविधानको मौलिक अधिकारले ग्यारेन्टी गरेको अधिकार हो। त्यो अधिकारलाई पनि अंकुश लगाउने बाटोमा सरकार हिड्न थालेको छ।

संविधानलाई गलत प्रयोग गरेर राज्य कब्जा गर्ने प्रयासमा छ सरकार। यसैले आजको दिनमा सरकारको यस्तो गतिविधि रोक्ने तागत कांग्रेसबाटै जनताको माझमा गएर निर्माण गर्नुछ।

दह्रो प्रतिपक्षको भूमिका संसद र प्रदेशसभामा रहेका हाम्रा संसद जनताको माझ पुगेर जनमतबाट सरकारलाई तह लगाउनु छ। सरकारलाई गलत बाटोमा जान नदिने गरी तह लगाउनु छ हामीले।

सरकार अहिले नै गिरिहालोस् भन्ने चाहना हैन। सरकारले राम्रो काम गरोस्। संविधानभित्रबाट काम गरोस्। संविधानले देखाएको बाटोबाट काम गरोस्। त्यो बाटोमा सरकार हिडेन भने हामीले समयमै भन्न सक्नुपर्छ–सरकार तिमी ठीक बाटोमा छैनौ। तिमी संविधानभन्दा विपरीत बाटोमा तिमी हिड्न थालेका छौ। प्रष्टताका साथ सरकारलाई मात्र भनेर पुग्दैन। संसदमा मात्र भनेर पुग्दैन।

कांग्रेसको अबको बाटो?

हामीले संगठनलाई लिएर जनताको माझमा पुग्न आवश्यक छ। सरकारकै कारणबाट उठेका विषयबारेमा व्यापक छलफल होस्। यसबारे विचारहरु आउन्। जनस्तरमा साथीहरुले के पीडा भोग्नुपरेको छ? त्यो विचारहरु आउन्।

अब कांग्रेस पार्टी कसरी अगाडि जाने? आजको स्थिति पर्याप्त छैन। परिवर्तन हाम्रो देशले पाउने, हामी आफै परिवर्तित हुन सक्दैनौ भने यो परिवर्तित व्यवस्थालाई हामीले नेतृत्व दिन सक्दैनौं।

त्यसैले नेपाली कांग्रेसका केन्द्रीयदेखि तल्लो तहको साथीहरुमा अत्यन्त्यै ठुलो परिवर्तन आवश्यक छ। त्यो परिवर्तन विचारले, आचरणले, चरित्रले, व्यवहारले, काम गर्ने शैलीले देखाउनुपर्छ।

धेरै गुनासो केन्द्र प्रति छ। गएको निर्वाचनमा धेरै गल्ती भएको छ। माथि केन्द्रदेखि तलैसम्म। धेरै यसमा अड्केर अगाडि बढ्न सकिन्न। तर, एउटा कुरा भन्नै पर्छ। आइन्दा हामीले गल्ती दोहोर्‍याउनु हुँदैन। यो संकल्प हामीले गर्नैपर्छ।

जे बेथिति भएको छ, हामीबाट त्यो दोहोर्‍याउँदैनौ। जे राम्रो काम हामी छाड्दैनौं। सात सालदेखि यहाँसम्म आइपुग्दा हामीले धेरै राम्रो काम राष्ट्रको लागि गरेका छौं। जे गल्ती भएको छ त्यो रियालाइजेसन माझबाट साथीहरुको साथमा शपथ लिन चाहन्छौं। गल्ती हामी किमार्थ दोहोर्‍याउन चाहदैनौं।

एकता सिद्धान्तका आधारमा बन्दछ, नीतिका आधारमा बन्दछ रणनीतिका आधारमा बन्दछ। विचारका व्यवहार, व्यवहारका आधारमा, निर्णय प्रक्रियाका आधारमा, जिम्मेवारी बाँडफाँटका आधारमा, पार्टीभित्र सन्तुलन कायम राखेर एकता बन्दछ।

म भन्छु तिमी मान है, म खाइराख्छु तिमी हेर है, म हिँडिराख्छु तिमी बस है, म महलमा बसिराख्छु, तिमी झुप्रोमा नाँगै बसिराख है भनेर एकता बन्दैन पार्टीभित्र। पार्टीभित्र वृहत एकताका लागि हामी सामान छौ। लोकतान्त्रिक समाजवादी दर्शनलाई विश्वास गर्ने पार्टी हो। हामी कोही मालिक छैन। कोही मजदुर छैन हामी सामान छौ। हाम्रो लक्ष्य एक हो।

शिखरमा पुग्दा हामी सबै पुग्नेछौ। जहाज सकुशल अवतरण भए हामी सकुशल हुन्छौ। जहाज दुर्घटनामा परे कोही मर्ने कोही बाँच्ने हुँदैन। सबै मर्ने सम्भावना छ।

२०६२/६३ मा आन्दोलन जस्तैजस्तै एउटा परिस्थिति फेरि नेपालमा आउन थालेको छ। यो व्यवस्थामाथि प्रहार सिंहदरबारबाट पनि हुन थालेको छ। जंगलमा गएर विप्लवले पनि प्रहार गर्न थालेको छ। दक्षिणपन्थी कोणहरुबाट अनेक आशंका यही व्यवस्थामाथि उठ्न थालेको छ।

चारैतिरबाट प्रहार, लोकतन्त्रमाथि चारैतिरबाट प्रहार, गणतन्त्रमाथि चारैतिरबाट प्रहार, संघीयतामाथि चारैतिरबाट प्रहार, हामीले ल्याएको संवैधानिक प्रबन्ध र व्यवस्थामाथि किन भइरहेको छ?

कांग्रेस पार्टीले बडो गम्भीरतापूर्वक विचार गर्नुपर्दछ। साहस र दृढताका साथ हामीले संकल्प गर्नुपर्दछ। जे परिवर्तन हामीले ल्याएका छौ राष्ट्रका लागि ल्याएका छौ। जनताको अधिकारका लागि, जनताको प्रगतिका लागि ल्याएका छौ। जनताका समृद्धिको लागि ल्याएका छौ जनताको माझबाट ल्याएको जनताकै लागि हो। कुनै नेता विशेषका लागि होइन। कुनै पार्टी विषेशका लागि होइन।

त्यसैले हामी कम्युनिस्ट पार्टीलाई हामी भन्न चाहन्छौ। यो देश कम्युनिस्टको मात्र हैन। तपाईहरुको अहिलेको व्यवहार हेर्दा लाग्छ मानी लिउँ कम्युनिस्ट धनी भए देश धनी हुन्छ। कम्युनिस्टले सुख पाए जनताले सुख पाउँछन् भन्ने बाटोमा तपाई हिँड्न थाल्नुभएको छ। तपाई अत्यन्तै गलत बाटोमा हिड्नु थाल्नुभएको छ। जनताप्रति समर्पित भएर काम गर्ने बाटो तपाईले छाड्नुभएको छ। जनताको दु:ख तपाईले बिर्सनुभएको छ। जनताको कष्ट तपाईले बिर्सनुभएको छ। जनताको संघर्ष तपाईले बिर्सनुभएको छ। हिजो जनआन्दोलनमा सँगसँगै हिड्ने बाटो तपाईले बिर्सनुभएको छ।

दुई तिहाईको दम्भमा अहंकारमा डण्ड वर्षाउँदै हुनुहुन्छ। किमार्थ कांग्रेसले त्यो डण्ड जनतामाथि प्रहार हुन दिने छैन। कांग्रेसमा त्यो तागत छ, जुन तागतले राणाहरु गए, राजाहरु गए, निरंकुशताहरु गयो, माओवादीको बन्दुक खोस्न सक्ने तागत कांग्रेसमा थियो। राजाको गद्दी खोस्ने तागत कांग्रेसमा थियो।

तपाईहरु चारचार जना प्रधानमन्त्री हुँदा पनि तपाईहरुले संविधान दिन सक्नुभएन। तर, हामीले पहिलोपटक हाम्रो नेता सुशील कोइरालालाई प्रधानमन्त्री बनाएर भनेकै समयमा संविधान दियौ। त्यसैले जनताको बोलेको कुरा पुरा गर्ने तागत कांग्रेसमा छ। त्यसैले जनताको हक र अधिकार बचाउने तागत कांग्रेसमा छ।

(भक्तपुरको बोडेमा महाधिवेशन प्रतिनिधिहरुलाई प्रशिक्षण कार्यक्रममा दिएको मन्तव्यको सम्पादित अंश।)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell