PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

विद्यार्थीहरुले दिएको गृहकार्यबाट ‘गुलाबी उमेर’ लिएर आए अमर न्यौपाने



विद्यार्थीहरुले दिएको गृहकार्यबाट ‘गुलाबी उमेर’ लिएर आए अमर न्यौपाने

काठमाडौं : मदन पुरस्कार विजेता लेखक अमर न्यौपानेको चौथो कृति ‘गुलाबी उमेर’ लोकार्पण गरिएको छ। शनिवार काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको डबलीमा आयोजित कार्यक्रममा साहित्यकार कृष्ण धरावासी, नायिका केकी अधिकारी र लेखक न्यौपानेले पुस्तक लोकार्पण गरेका हुन्।

पुस्तकमा लेखकले एउटी किशोरीको हुर्कंदो उमेरको कथा प्रस्तुत गरेका छन्। बाल्यकालबाट किशोरावस्थामा प्रवेश गर्दा एउटी बालिकामा देखापर्ने मानसिक तथा शारीरिक परिवर्तन र उतारचढावको कथा समेटिएको 'गुलाबी उमेर' उपन्यास किशोर मनोविज्ञानमा आधारित रहेको छ।

किशोरावस्थाको मनोविज्ञानको  विकास र किशोरकिशोरीहरुको व्यवहारमा आउने परिवर्तन, परिवारसँगको व्यवहार आदि विषयलाई पुस्तकमा समेटिएको लेखक न्यौपानेले बताए। नेपाली साहित्यमा किशोर साहित्यको अभाव रहेकाले त्यो कमीलाई पूरा गर्न आफूले नयाँ उपन्यास ल्याएको बताउँदै उनले यसमा फ्रायड प्रतिपादित इलेक्ट्रा कम्प्लेक्सलाई चित्रण गरिएको बताए।

कार्यक्रममा नायिका केकी अधिकारीले पुस्तकमा प्रत्येक किशोरीले आफूलाई भेट्नुका साथै महिलाहरुले आफ्नो किशोरावस्थाका घटना परिघटनालाई सम्झने विचार राखिन्। 

कार्यक्रममा लेखक न्यौपानेले आफूले १२ वर्षसम्म पढाउँदा किताबको कुरा पढाएको र किताबकै गृहकार्य दिए पनि विद्यार्थीहरुले भने आफूलाई जीवनको कुरा पढाएर जीवनकै गृहकार्य दिएको बताउँदै भने, ‘मैले भनेर गृहकार्य दिएँ, उनीहरुले नभनेरै गृहकार्य दिए । यो उपन्यास विद्यार्थीहरुले दिएको त्यही गृहकार्य हो।’

लेखकले पुस्तकमा उमेरलाई पाँच भागमा विभाजन गरेका छन्। फाइनप्रिन्टले प्रकाशनमा ल्याएको पुस्तकको मूल्य ४९८ रुपैयाँ राखिएको छ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell