PahiloPost

Sep 21, 2019 | ४ असोज २०७६


उत्तरबाट : के नेपाल विकास गर्न सक्दैन?


विधुर ढकाल

उत्तरबाट : के नेपाल विकास गर्न सक्दैन?

आकाश माथिबाट सगरमाथालाई एक फन्को मार्दै जहाज तिब्बत प्रवेश गर्‍यो। नेपाली आकाश र तिब्बती आकाशमा भिन्नता पनि उस्तै देखिन्थ्यो। बादलसँग लुकामारी खेल्दै गरेका हिम शृङ्खला पार गर्दै कतै समथर कतै पहाड त कतै व्यवस्थित बस्तीहरू माथि उडिरहेको जहाज ल्हासाको विमानस्थलमा अवतरण गर्‍यो।

यी शब्द कोर्दै गर्दा आज चीन प्रवेश गरेको एक साताभन्दा बढी भइसकेको छ। भदौ १३ गते काठमाडौंबाट सिचुवानको छेन्दुका लागि उडान भरेको जहाज ल्हासामा अवतरण गर्‍यो। विमानस्थलमा विमान अवतरण हुनासाथ विमानको ढोकामा जोडिएको ‘सुरुङ मार्ग’ (वास्तविक नाम थाहा भएन) ले सीधै विमानस्थलको अध्यागमन तथा सुरक्षा जाँच कक्षमा प्रवेश गरायो।

काठमाडौं विमानस्थलमा कहाँ कता जाने सोध्दै खोज्दै पुगेको मान्छे त्यहाँ पुग्दा जानुपर्ने जहाँ थियो त्यहीं पुगियो अन्त जानै परेन। अध्यागमनमा स्क्रिनिङ भयो। सहज अध्यागमन प्रक्रिया देख्दा लाग्यो के नेपालमा यस्तो सम्भव छैन र?

हुन त पहिलोपटक विदेशी भूमि (भारत बाहेक) टेकेको हुनाले पनि होला। अझ कति विकास देख्नुपर्ने हो। त्यो समयले देखाउँदै जाला। ‘निपोआर रन’ (नेपाली नागरिक) ? हो, को संकेतमा मुन्टो हल्लाएँ।

अध्यागमनमा फोटो लिँदै गर्दा चिनियाँ कर्मचारीले सोधेकी थिइन्। मैले हो को संकेतमा मुन्टो हल्लाउनासाथ कम्प्युटर स्क्रिनतिरबाट आवाज आयो, ‘तपाईंको दाँया हातको सबै औँला राख्नुहोस्।’ मैले स्क्रिनिङ मेसिनमा पञ्जा राखेँ। मिलेन होला। फेरि राख्नुहोस्। ‘अब बायाँ हातको औँला राख्नुहोस्।’ त्यो पनि सकेँ।

दायाँ हातको बूढीऔँला राख्नुहोस्। बायाँ हातको बूढीऔँला राख्नुहोस्। सबै निर्देशन कम्प्युटरबाट। त्यो पनि चिनियाँ होइन, अंग्रेजी होइन, नेपाली भाषामै। अरूलाई अचम्म लाग्यो लागेन मलाई लाग्यो।

कम्प्युटर कुन-कुन भाषामा बोल्छ मलाई थाहा भएन। नेपाली र हिन्दीमा दिएको निर्देशन चाहिँ मैले सुनेँ। किनकि मभन्दा अगाडि भारतीय पर्यटकहरू ल्हासाकै लागि थिए। हामीलाई काठमाडौंबाट लिएको जहाजले नै छेन्दु पुर्‍याउँदै थियो।

सुरक्षा जाँच कडाइका साथ भयो। सामान्य विमानभित्र प्रवेश गर्नका लागि सुरुङ जोडिएकै थियो सोही मार्गबाट प्रवेश गरेँ। ‘वेलकम ब्याक सर।’ काठमाडौंबाट छेन्दु जाने यात्रुहरू कम भएकाले होला अनुहार सबैको याद राखेकी थिइन् कि परिचारिकाले।

छेन्दुमा स्थानीय समय अनुसार साँझ ७ बज्नै लाग्दा विमानले भुईँ छोयो। त्यसपछि लगातार विमान धावनमार्गमा कुदिरह्यो। यस्तैमा सँगै रहेकी नेपाली विद्यार्थी निशाले भनिन्, 'के हो विधुर सर जहाजले सिधै युनिभर्सिटीमै पुर्‍याउँछ कि के हो रोक्ने त नामनै लिँदैन त।' उनको पनि पहिलो यात्रा मेरो पनि पहिलो चीन यात्रा।

छेन्दुको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणपश्चात् बाहिर निस्किँदा लागेको थियो चीन प्रवेश गर्दा कडा चेकजाँच होला। तर, भएन। सायद प्रविधिले चेक गर्दै थियो कि।

काठमाडौं विमानस्थलमा अवतरणका लागि विमानमा भर्‍याङ राखिन्थ्यो यहाँ टनेल राखिँदो रहेछ। अगाडि बढ्दै गर्दा ‘काठमाडौं टु छेन्दु प्लिज कम दिस साइड’ एक कर्मचारी प्लेकार्ड बोकेर बसेकी थिइन्। लाग्यो हामीलाई अलि कडा चेक गर्ने होला। विमानमा ल्हासाबाट चढ्ने अधिकांश चिनियाँ नै थिए। विदेशी भनेका हामी केही नेपाली। तल बस कुरिरहेको थियो। बसले भित्र लग्यो जहाँ लगेज आइपुग्दै थियो। लगेज लिइसकेपछि अझ पनि लागेको थियो चीनको कडा चेक कहाँ हुन्छ। अगाडि होला लगेज गुडाउँदै अघि बढ्यौँ। अहँ चेक जाँच कतै भएन। बाहिर पो निस्किइयो त।

बाहिर गेटैमा युनिभर्सिटीका भोलन्टियर प्लेकार्ड बोकेर कुरिरहेका थिए। हाम्रै पर्खाइमा अन्य केही विदेशी विद्यार्थी पनि आइपुगेका रहेछन्। नेपालबाट दुई जना। हामीलाई विश्वविद्यालयसम्म पुर्‍याउनका लागि बिएमडब्लू रेडी रहेछ। काठमाडौँमा साना सेता ट्याक्सी चढेको बिएमडब्लूमा पहिलोपटक सवार हुँदै थिएँ। हामीसँगै त्यहाँदेखि एकजना रसियाली विद्यार्थी जोडिए।

‘आर यू फ्रम इन्डिया?’ ती विद्यार्थीले सोधे। नाम अलि कण्ठ छैन। रुसी नाम त्यसै त उच्चारणका लागि कठिन।

उनी पढ्ने क्रममा हामीसँगै छन्। बस्न पनि मसँगै जोडिएको कोठामा बस्छन्। तर पनि नाम कण्ठ पारेको छैन। पछि कुनै सन्दर्भ जोडिएमा नाम लिउँला।

छेन्दु चक्रपथ बाहिर रहेको विश्वविद्यालय युनिभर्सिटी अफ इलेक्ट्रोनिक साइन्स एन्ड टेक्नोलोजी अफ चाइना (युइएसटिसी) मा जानु थियो। विमानस्थलमा भेटिएका भोलन्टिएरले गाडी चढाए। ओर्लिने ठाउँमा अन्य भोलन्टिएर आउने छन्।

ट्याक्सीमा दुई नेपाली, एक रुसी र एक चिनियाँ चालक। चालक दाइ केही भन्दै थिएँ। हामीले बुझेनौँ। हामीले भनेको उनले बुझेनन्। सिमसिम पानी।

चाक्ला सडक। विधुरजी यहाँ पनि त जाम हुँदो रहेछ नि। केही समय ट्याक्सी रोकिँदा काठमाडौँको जामको याद आयो होला। रातो बत्तीमा गाडी रोकिँदा भन्दै थिइन् निशा।

एक घण्टाको यात्रापछि एउटा ठूलो अस्पताल अगाडि पुगेर ट्याक्सी रोकियो। अस्पताल विश्वविद्यालयको आफ्नै। गेटमा हामीलाई कुरिरहेका थिए 'काले दाइहरू'। लाग्थ्यो अफ्रिका पुगियो कि? दाइहरूले हाम्रो लगेज पनि बोकिदिए। हामीलाई बोक्नै दिएनन्। हामी विश्वविद्यालयको डर्मिटरी पुग्दा अर्कै संसार।

दक्षिण एसियाली मुलुकको अनुहार देख्नसाथ सोध्ने हुन्थे, कहाँ से हो भाइसाप?

नेपाल।

ओ और ठीक है ना?

ठीक है।

कवि कुच जरुरत परे तो याद किजिए।

यहाँ पुग्दा लाग्यो पाकिस्तान नै पुग्यौँ कि।

डोर्ममा लगेज राखिसकेपछि दुई जना नेपाली साथी पनि आइपुगे। पहिलेदेखि नै यहीँ थिएँ उनीहरू। अनिमेश तीन दिनपछि नेपाल फर्किँदै थिए।

दाइ आज बाहिर खान जाउँ?

उनले प्रस्ताव राखे।

जाउँ न त।

हामी नयाँ दुई। पुराना दुई मिलेर बाहिर निस्कियौँ। दाई यो रुखमा ढल्न लागेर टेका लगाएको होइन है। किन टेको लगाए भन्नुहोला? टेको लगाएका रुखहरु देखाउँदै उनले भने, ‘बाहिरदेखि रुख ल्याएर यहाँ रोपेका हुन्।’

मानव निर्मित वन। मानव निर्मित ताल। मानव निर्मित नदी विश्वविद्यालयभित्रै। विश्विद्यालयभित्रै इन्डोर आउटडोर स्पोर्टस् सेन्टर।

दाइ एसियाकै ठूलो स्पोर्टस् सेन्टर छ हाम्रो विश्वविद्यालयमा। अझै घुमेर भ्याएको छैन। बाहिर चिनियाँ खाना ‘हट पट’ खाएर आयौँ। पहिलोपटक ‘सिन्का’ (चपस्टिक) ले खाना खाएर आइयो।

फर्किँदै गर्दा भाइले फेरि भने, ‘दाई खतरा शहर आए जस्तो लाग्यो होला है। यो गाउँ हो दाई। भर्खर विकास हुँदै गरेको। म आउनु अगाडि यहाँ धेरै संरचना बनेकै थिएनन्। तपाईँ बस्ने डर्म त बल्ल बन्न थालेको थियो। कति छिटो निर्माण गर्दा रहेछन्। यत्रा घर बनेका छन् तर धुलो केही देखिँदैन। बाहिर नि आउँदैन। हाम्रोमा कहिले यस्तो होला। यिनीको गाउँ नै यस्तो विकास भइरहेको छ।‘

अर्को दिन शनिबार विश्वविद्यालयमा रजिस्टर गर्ने काम गरियो।

आइतबार विश्व विद्यालयको स्कुल अफ पब्लिक एडमिनिस्ट्रेसनले स्वागत कार्यक्रम राख्यो। स्वागत कार्यक्रमसँगै सुपरभाइजरसमेत उपलब्ध गरायो। हामी दुई नेपालीको सुपरभाइजर हान होङ स्कुलका भाइस डिन। नेपालमै हुँदा पनि विच्याटमा कुरा भएको थियो केही सजिलो हुने भयो। सोच्दै थिएँ।

दिउँसो २ बजे खानापछि अफिसमा भेट्न बोलाए। हान होङ चिनियाँ विद्यार्थीलाई मात्र पत्रकारिता पढाउँछन्। २०१९-२१ का लागि ६ चिनियाँ विद्यार्थी र दुई नेपाली विद्यार्थीका सुपरभाइजर रहेछन् उनी। हामी उनको अफिस पुग्दा छ चिनियाँ विद्यार्थीहरुसँगै थिए। हामीलाई पनि समूहमा बोलाए। एक अर्कालाई परिचय गर्न लगाए।

म नेपाल लुम्बिनीबाट आएको मैले नेपालमा पत्रकारितामा मास्टर्स सकेको जानकारी गराए। उनले चिनियाँ भाषामै चिनियाँ विद्यार्थीलाई जानकारी गराए। शाक्यमुनि, लुम्बिनी भनेको मात्र बुझेँ अरू के भने थाहा भएन्।

यहाँ किन आइस त? उनले प्रश्न गरे?

‘नेपालमा भर्खरै राजनीतिक परिवर्तन भएको छ। विकासको दिशामा अगाडि बढ्दै छौँ। यहाँको विकास अनुभव हाम्रो विकासमा पनि काम लाग्छ। त्यही अनुभव जान्न आएको हुँ,‘ मैले भने।

उनले भने, ‘नेपाल कान्ट।’

म अवाक।

त नेपालको माइनरिटी क्लासको मान्छे होस?

होइन। सुपेरियर अपर क्लास मैले जवाफ दिएँ।

‘जबसम्म तेरो देशमा यो क्लास हुन्छ तबसम्म विकास हुन सक्दैन। राजनीतिक स्थायित्व बाहिर देखिए पनि भित्र हुँदैन,’ उनले भने।

अहिले सोचिरहेको छु। के नेपालमा विकास हुनै सक्दैन्? हामीमा के कमी छ? हाम्रा विकासका बाधाहरु के हुन्?

हामीले यिनको पहिचान र समाधान गर्न सकेनौँ भने सँच्चै हामी विकासको गतिमा अगाडि बढ्न सक्दैनौँ। नेपालमा हुँदा बुझिरहेको र यहाँ आएको छोटो समयमा चेतेको कुरा पनि यही हो।



उत्तरबाट : के नेपाल विकास गर्न सक्दैन? को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट