PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

ढाड दुख्ने समस्या महिलामा बढी, कसरी जोगिने? यस्तो छ डाक्टरको सुझाव



हेम रोकाहा

ढाड दुख्ने समस्या महिलामा बढी, कसरी जोगिने? यस्तो छ डाक्टरको सुझाव

ढाड दुख्दा निकै असजिलो महसुस हुन्छ। यसले दैनिक कामकाजमा प्रत्यक्ष रुपमा प्रभाव पारिरहेको हुन्छ। प्रायः ढाड दुख्ने समस्या घरेलु उपचारले पनि केही दिनमा ठीक हुन्छ। तर यो समस्या एक पटक देखिएपछि फेरि फेरि पनि दोहोरिने सम्भावना बढी हुन्छ।

गह्रौँ समान उचाल्दा तथा अपर्झट ढाडमा बल पर्ने काम गरेमा मांसपेशी तन्कने, खुम्चिने तथा च्यातिने हुन्छ, जसले मेरुदण्डको हड्डी टुट्न सक्छ। मेरुदण्डमा आर्थ्रिटिस(मेरुदण्डमा हुने संक्रमण), ओस्टोपोरोसिस(मेरुदण्डको जोर्नी खिइनु) तथा कर्भेचर (मेरुदण्ड अनियमित तरिकाले बांगिनु) हुँदा त्यसले ढाड दुख्ने समस्या निम्त्याउने राष्ट्रिय ट्रमा सेन्टरका कन्सल्टेन्ट अर्थोपेडिक तथा स्पाइनल सर्जन डाक्टर सन्तोष पौडेल बताउँछन्।

कतिपय अवस्थामा मेरुदण्डमा ट्युमर हुँदा पनि ढाड दुख्न सक्ने उनले बताए। डा पौडेलका अनुसार यो समस्या पुरुषमा भन्दा महिलामा बढी देखिन्छ।

'उमेर बढ्दै जाँदा महिलाहरुमा महिनावारी रोकिएपछि एस्ट्रोजिन नामक हड्डीलाई बलियो बनाउने हर्मोनको कमी हुन्छ। जसले गर्दा पुरुषको तुलनामा महिलामा यो समस्या बढी देखिन्छ', डा पौडेलले भने।

नेपालमा ढाडको चोटपटक लाग्नुमा यहाँको भौगोलिक अवस्था र कामको प्रकृति पनि भएको उनको भनाइ छ। उनी भन्छन्, 'नेपालमा डाँडाकाँडा धेरै छन्। मानिसहरु घाँसदाउरा गर्न डाँडापाखामा जाने र रुखमा चढ्ने गर्छन्। भीर तथा रुखबाट लडेर ढाडमा चोटपटक लागेका मानिसहरु उपचारको लागि धेरै आउने गरेका छन्।'

ढाड दुख्ने समस्या १८ देखि ३० वर्षसम्मका मानिसहरुमा इन्टर भर्टिब्रल डिस्क अर्थात मेरुदण्डको जोर्नीको कमजोरीले हुने उनले बताए। त्यस्तै ६० वर्षभन्दा माथिका मानिसहरुमा मेरुदण्डको क्यान्सर, मेरुदण्ड खिइनु तथा नशा च्यापिने कारणले यो समस्या देखा पर्ने उनको भनाइ छ।

तत्काल दुखाइ कम गर्ने तरिका

१. बरफले सेक्ने

ढाड दुख्न शुरु भएको केही छिन मै दुखेको भागमा बरफ वा चिसो वस्तुले सेक्ने गरेमा दुखाइ कम हुने डा पौडेलले बताए। यो विधि ढाड दुख्न शुरु भएको २४ देखि ७२ घण्टाभित्रको समयको लागि उपयुक्त हुन्छ। त्यसपछि भने तातो वस्तुले सेक्नुपर्छ।

दुखेको भागमा एक पटकमा २० मिनेटसम्म सेक्नुपर्छ। यो विधि २४ घण्टाको समयमा १० पटक भन्दा बढी गर्नु हुँदैन। बरफले सेक्दा कपडामाथिबाट सेक्नुपर्छ।

२. तातोले सेक्ने

शुरुको अवस्थामा चिसो पदार्थले सेकिसकेपछि तातो पदार्थले पनि दुखेको भागमा सेक्न सकिन्छ। तातोले सेक्दा रक्तसंचार प्रवाह सहज हुन्छ र दुखाइ कम हुन मद्दत पुग्छ।

सफा कपडालाई तातो पानीमा चोबेर दुखेको भागमा सेक्न सकिन्छ। त्यस्तै तातो पानी भरिएको बोतलले पनि सेक्न सकिन्छ। सानोतिनो दुखाइलाई १५ देखि २० मिनेट तथा बढी दुखेको अवस्था २ घण्टासम्म पनि यो विधि अपनाउन सकिन्छ।

३. ढाड तन्किने व्यायाम गर्ने

ढाडको दुखाइ कम भइसके पनि हल्का हल्का ढाड तन्कने गरी व्यायाम गर्दा दुखाइ अझ कम गर्छ। यसले दीर्घकालिन रुपमा पनि दुखाइ कम गर्न सहयोग गर्ने डा पौडेलको भनाइ छ।

जमिनमा उत्तानो परेर सुत्ने र घुँडालाई खुम्चाएर छातीसम्म ल्याउने कोसिस गर्ने। फेरी खुट्टा सीधा पारेर पहिलेकै अवस्थामा फर्कने कोशिस गर्ने। यसो गर्दा ढाडमा दुखाइ महसुस भए अर्को तरिकाले ढाड तन्काउन सकिन्छ।

जमिनमा पेट तल पारेर सुत्ने र हातको बलमा टाउकोलाई माथि उचाल्ने। यसो गर्दा दुखाइ बढ्यो भने चिकित्सकको सल्लाह लिन सकिन्छ।

 

४. नियमित हल्का व्यायाम गर्ने

ढाड दुखेको समयमा आराम गरिरहनु पर्ने भएपनि त्यो समाधान भने होइन। यसले समस्यालाई अझ बढाउन सक्छ। त्यसैले हल्का कामहरु गरेर सक्रिय रहनु पर्ने डाक्टर पौडेलको सुझाव छ।

उनले भने, 'सकेजति आफ्ना नियमित कामहरु गर्ने कोशिश गर्नुपर्छ। ढाडमा बल पर्ने कामहरु भने गर्नु हुँदैन। यताउता हिँडडुल गर्ने, ढाड तन्काउने तथा हलचल गर्ने गर्नुपर्छ।'

५. मसाज

छोटो समयको लागि दुखेको भागमा मसाज गर्दा दुखाइ कम हुन्छ भन्छन्, डा पौडेल। मांशपेशीमा हुने तनावका कारण ढाड दुख्ने समस्याका लागि मसाज निकै नै उपयुक्त मानिन्छ। व्यवसायिक रुपमा मसाज गर्ने व्यक्तिहरुबाट मसाज गर्दा यसको प्रभाव छिट्टै महशुस गर्न सकिन्छ।

दुखाइ कम गर्ने दीर्घकालिन तरिका

१. चिकित्सकसँग सल्लाह गर्ने

ढाडको दुखाइ सहनै नसक्ने गरी बढेमा डाक्टरलाई देखाउन उपयुक्त हुने उनले बताए।

'हरेक मानिसमा ढाड दुख्ने समस्या फरक कारणले हुन्छ। र त्यसको उपचार पनि फरक हुन सक्छ' डा पौडेलले भन्छन्, 'डाक्टरले विभिन्न विधिबाट परिक्षण गरी उचित उपचार र औषधीको सल्लाह दिन्छन्। डाक्टरले अवस्था हेरेर एक्स रे, एमआरआइ तथा सिटी स्क्यान जस्ता परिक्षण गरेर ढाड दुख्ने समस्याको वास्तविक कारण पत्ता लगाइ उपचार गर्छन्।'

 

२.  चोटपटकबाट बच्ने

ढाड दुख्ने समस्या ढाडमा चोटपटक लागेर हुने डा पौडेलले बताए।

उनले भने, 'त्यसैले ढाडमा अत्याधिक बल पर्ने गरी गह्रौँ सामान उचाल्ने गर्नु हुँदैन। ग्रह्रौँ कुरा उचाल्न परेमा ढाडमा बढी बल पर्न दिनु हुँदैन।'

बस्दा वा हिढ्दा ढाडलाई सधैँ सीधा पार्न उनले सुझाव दिए। एकै ठाउँमा धैरै लामो समय सम्म बस्न वा उभिन नहुने उनले बताए।

'धैरै लामो समय कुर्चीमा बसेर काम गर्नु पर्ने अवस्थामा ढाडलाई सीधा राख्ने, ढाडलाई सपोर्टको लागि अढेस लागेर बस्ने तथा बस्ने पोजिसन परिवर्तन गरिरहने गर्नुपर्छ', उनले भने।

उनले थपे, 'व्यायाम नगर्ने अथवा निस्क्रिय रहने मानिसहरुको ढाडको मांसपेशी कमजोर हुन्छ। जसले गर्दा ढाडमा आन्तरिक रुपमा चोटपटक लाग्न सक्छ। त्यसैले ढाडको मांसपेशी बलियो बनाउने व्यायामहरु गर्नुपर्छ।'

३‍. तनाव नलिने

दुखाइ मानसिक तनावसँग सम्बन्धित भएकाले तनाव कम गर्ने तर्फ पनि सोच्नु पर्ने उनले बताए।

उनले भने, 'मानसिक समस्या शारीरिक रुपमा व्यक्त हुन्छ। ढाड दुखेर उपचारको लागि आउने धेरै विरामीमा मानसिक समस्या देखिन्छ। तनाव, चिन्ता, डिप्रेसन आदिले ढाड दुख्ने समस्याको उपचारमा ढिलाइ गर्छ। यसबारे धेरै चिन्ता लिएमा वा सोचेमा झनै दुखाइ बढ्छ। योगा तथा ध्यान गरेमा चिन्ता कम गर्छ र ढाड दुखाइको पनि महशुस पनि हुन्छ।'

४. अक्कुपङचर

अक्कुपङचर एक प्रकारको प्राचीन चिनियाँ उपचार हो। यो सुई जस्तो तिखो वस्तुलाई शरीरका मुख्य भागहरुमा गाडेर उपचार गर्ने विधि हो। यसबारे यकिन वैज्ञानिक तथ्य नभएपनि यो विधिलाई सबै प्रकारका दुखाइ कम गर्ने उपयुक्त उपचार विधिको रुपमा लिइन्छ। यो अन्य उपचार जत्तिकै प्रभावकारी तथा सुरक्षित हुन्छ।

५. योग

योग ढाडको मांसपेशी बलियो बनाउने प्रभावकारी विधि हो। अनुभवि योग शिक्षकबाट यसको कक्षामा लिएमा यसले दिर्घकालिन रुपमा ढाड दुख्ने समस्याबाट बचाउँछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell