PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

य:सिं ठड्याएसँगै येँया: सुरु,  य:सिं ढाल्ने साइत असोज १ गते बिहान ५ बजेर ३५ मिनेटमा

य:सिं ठड्याएसँगै येँया: सुरु,  य:सिं ढाल्ने साइत असोज १ गते बिहान ५ बजेर ३५ मिनेटमा

सहयोग रञ्जित/पहिलोपोस्ट


काठमाडौं : काठमाडौंको हनुमानढोकास्थित कालभैरवको मूर्ति अगाडि य:सिं ठड्याएसँगै आजबाट विधिवत् रुपमा येँया: (इन्द्रजात्रा) सुरु भएको छ।

भक्तपुरको यसिगुँबाट तानेर हनुमानढोका पुर्‍याइएको य:सिंलाई आज बिहान ९ बजेर १७ मिनेटको शुभ साइतमा इन्द्रध्वज फहराएर ठड्याइएको हो। त्यसअघि हनुमानढोकास्थित डबलीमा किलागलको दी प्याखं प्रस्तुत गरिएको थियो। मजिपा लाखे, सवभक्कु, पुलुकिसी लगायतका नाचहरु भने आज बेलुकीबाट सुरु हुनेछन्।

आजै दिवंगत आफन्तहरुको सम्झनामा पाल्चामा बत्ती बालेर 'उपाकु' जाने गरिन्छ। इन्द्रचोकमा रहेको आकाश भैरव,  हनुमानढोकामा रहेको हाथु द्य (श्वेत भैरव) को मूर्तिलाई सार्वजनिक रुपमा प्रदर्शन गर्ने गरिन्छ। मरुमा भन बन्धनमा कैद इन्द्र प्रदर्शन गर्ने गरिन्छ।

भाद्र २७ गते भने जीवित देवी कुमारीका साथै जीवित देवहरू गणेश र भैरवलाई 'क्व:नेया'  (तल्लो टोलमा रथयात्रा) गराइन्छ। रथ यात्रा सम्पन्न भएपश्चात् राति वर्षभरि बितेकाहरूको सम्झनामा रथ यात्रा भएकै बाटो हुँदै 'दागीं' र त्यसपछि 'बहुमत:'  ल्याउने परम्परा रहेको छ।

भाद्र २८ गते भने कुमारी, भैरव र गणेशलाई थ:नेया (माथिल्लो टोलमा रथ यात्रा) गराइन्छ।

भदौ ३१ गते भने ननिचा:या: अर्थात् बीचको टोलमा रथयात्रा गरी कुमारी, गणेश र भैरवको रथ यात्रा सकिन्छ। त्यसैदिनबाट लाखे, सवभक्कु, पुलुकिसी, दी प्याखं लगायतका नाचहरु समेत एक वर्षका लागि बन्द हुन्छन्।

राति होइन बिहान ढालिनेछ य:सिं

हरेक वर्ष नानिचा:याको रात शुभ साइतमा हनुमानढोकामा ठड्याइएको य:सी ढालेर टेकु दोभानमा लगेर विसर्जन गरेसँगै मात्रै येँया विधिवत् रुपमा सम्पन्न हुने गर्छ। तर यसपटक भने येँया:को विधिवत् समापन भने भदौ ३१ गते नहुने भएको छ। यसपटक येँया:को आठौं दिनमा नभइ नवौं दिन अर्थात असोज १ गते बिहान ५ बजेर ३५ मिनेटमा य:सिं ढालिनेछ।

राष्ट्रिय पञ्चांग निर्णायक समितिले तय गरेको साइत अनुसार यसपटक बिहान साइत जुरेको बताउँछन् केन्द्रीय मानन्धर संघका सचिव गजेन्द्र मानन्धर।

समितिले पठाएको पत्रमा इन्द्रध्वज पतन भाद्र ३१ गते मंगलबार समय २९ बजेर ३५ मिनेटमा रहेको उल्लेख छ। पत्र पाएसँगै येँया:मा सहभागी सबै गुठीमा हलचल मच्यो। कारण थियो त्यहाँ उल्लेखित समय र मिति।

गजेन्द्र भन्छन्, '२९ लेखेर पठाएपछि हामीले समितिमा सम्पर्क गर्‍यौं। उहाँहरुले ज्योतिष विज्ञानमा २४ भन्दा माथि पनि समय हुन्छ भन्ने तर्क गर्नुभयो। त्यसपछि उहाँहरुलाई बिहान ५ बजेर ३५ मिनेट लेख्न लगायौं। सूर्य उदय नहुने भएकाले त्यस समयलाई पनि एकै दिन मानिने उहाँहरुले बताउनु भयो।'

पञ्चांग निर्णायक समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेल भने यःसिं ढाल्ने साइत जुराउँदा नक्षत्र नमिलेकाले यसपटक बिहान साइत निस्किएको बताउँछन्।

उनले भने, 'हामीलाई धरणी नक्षत्र चाहिन्थ्यो। तर ३१ गतेको रात अश्विनी नक्षत्र थियो। यस्तै, नक्षत्रसँगै य:सिं ठड्याउने दिनदेखिको बार, सूर्योदय, सूर्यास्त, चौथी तिथि सबै मिल्नुपर्छ। नक्षत्र नमिलेकोले यसदिन बिहानको साइत जुरेको हो।'

उनका अनुसार ज्योतिषशास्त्रले सूर्योदय नभएसम्म नयाँ दिन सुरु भएको नमानिने भएकाले असोज १ गते बिहान ५ बजेर ३५ मिनेटको शुभ साइत निकालिएको हो। सो दिन सूर्योदय बिहान ५ बजेर ५० मिनेटमा हुनेछ। तस्बिरमा य:सीं।



ट्रेन्डिङ पोस्ट

Ncell