PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

हत्या भएको १८ वर्षपछि भीमसेनको हातमा हत्कडी !



सविन ढकाल

हत्या भएको १८ वर्षपछि भीमसेनको हातमा हत्कडी !

काठमाडौं : घटना भएको १८ वर्ष बितिसकेपछि यस्तो परिस्थिति आउला भन्ने भीमसेन भण्डारीले सोचेका पनि थिएनन्। तर, सोचेकैजस्तो सधैं किन हुन्थ्यो? उनी एकाएक सोमबार भक्तपुरमा पक्राउ परे। भक्तपुर नगरपालिका - २ को बसपार्कबाट केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनलाई समात्यो।

१८ वर्ष अघि भीमसेन २० वर्षका मात्र थिए, जतिखेर एउटा जघन्य अपराध भयो। २०५८ साल साउन ७ गतेको त्यही घटनाले उनलाई प्रहरीको नियन्त्रणमा पुर्‍याएको हो। प्रहरीले घटना भएको झन्डै दुई दशक पुग्नै लाग्दा किन समात्यो त भीमसेनलाई?

काठमाडौं महानगरपालिका - ३४ रत्नराज्य स्कुल नजिकै महादेबस्थान टोलमा एउटा घर बन्दै थियो। त्यो बन्दै गरेको घरका कुरुवा थिए अशोक राई, उमेर २० वर्ष। २०५८ साउन ७ गते तिनै राई मृत अवस्थामा भेटिए। उनीमाथि धारिलो हतियार प्रहार भएको देखियो।

घटना कसले गर्‍यो? अनि किन त? यिनै प्रश्नमा प्रहरी अलमलिरह्यो।

‘धेरै वर्ष पुरानो घटना थियो। तर, हामीले विभिन्न कोणबाट अनुसन्धान भने गरिरहेका थियौं,' केन्द्रीय अनुसन्धान व्यूरोका एसपी दीपक रेग्मीले भने।

घटना भएको दिन राईले नजिकैको एक भट्टीमा रक्सी पिएका थिए। त्यहीँ उनको झगडा परेको थियो अर्को एक जनासँग। झगडा परेको प्रहरीले अनुसन्धानमा थाहा त पायो तर कोसँग? कुनै भेउ पाउन सकेन। केही समयअघिमात्रै प्रहरीको हात लाग्यो एउटा संकेत। त्यो संकेतले नै प्रहरीलाई हत्याराको नजिकतिर लैजाँदै थियो।

हो, १८ वर्षपछि प्रहरीले नियन्त्रणमा लिएका भण्डारी तिनै व्यक्ति थिए जसलाई प्रहरीले लामो समयदेखि खोजिरहेको थियो।

भीमसेन भण्डारी र अशोक राईबीच भट्टीमा चर्कै विवाद परेको रहेछ, घटना भएकै दिन। यतिसम्म कि दुईबीच रक्सीको सुरमा हात हालाहाल भएको रहेछ। त्यो झगडापछि के भयो त? कसैलाई थाहा भएन।

यति चाहिँ हो राईले भण्डारीलाई गालामै झापड हानेका थिए। त्यसपछि राईको पिछा गर्दै उनी कुर्न बसेको घरसँगैको टहरोमा पुगेर बदला लिएका रहेछन् - भण्डारीले। अशोकलाई आक्रमण गरेपछि भीमसेन भागिहाले। भीमसेन त भागे तर अशोक पनि रहेनन्।

'हत्या नशाको सुरमा भएको देखिन्छ,' एसपी रेग्मीले भने।

त्यहाँबाट फरार रहेका भीमसेन महाँङ्काल पुगे र साथीको कोठामा रात बिताए। रक्सीको नसामा भएको झगडा र हिर्काएको विषय भीमसेनले आफूभित्रै राखिराख्न भने सकेनन्। कुरैकुरामा उनले आफ्नै साथीलाई सुनाए - एकजनालाई हानेको तर बाँचे मरेको थाहा नभएको कुरा।

भीमसेनले साथीलाई सुनाएको त्यही संकेत थियो जसले प्रहरीलाई उनीसम्म पुग्ने मेलो बन्यो।

हामीलाई केही जानकारी आएको र त्यो कुरा पुष्टि भएपछि मात्रै नियन्त्रणमा लिएका हौं,' रेग्मीले भने, 'अन्य कुरा चाहिँ थप अनुसन्धानबाट खुल्दै जानेछ।'

१८ वर्षपछि अभियुक्तको नजिक पुगेको प्रहरीले उनका गतिविधिहरुको खोजतलास गर्‍यो। र, फेला पार्‍यो -हत्या गरेपछि पक्राउ पर्ने डरले भीमसेन आफ्नो जिल्ला सिन्धुपाल्चोक गए। त्यही बसे। उनीमाथि कसैको शंका थिएन न त कसैले खोजी नै गर्‍यो। त्यसपछि भने उनी काठमाडौं फर्किए। र, गाडीमा काम गर्न थाले।

सोमबार प्रहरीले गाडीमा काम गरिहेकै अवस्थामा नियन्त्रणमा लियो।

‘हत्यापछि गाँउमा र उपत्यकाभित्र नै लुकिछिप बसेको देखियो। नेपाल छोडेर बाहिर गएका थिएनन्,' एसपी रेग्मीले भने।

व्यूरोले थप अनुसन्धानका लागि भण्डारीलाई महानगरीय प्रहरी वृत्त बानेश्वरमा बुझाएको छ। थप अनुसन्धान गरेर राय सहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउने तयारीमा छ प्रहरी। प्रहरीको अनुसन्धान चित्त बुझेमा सरकारी वकिलको कार्यालय मार्फत जिल्ला अदालत काठमाडौंमा भीमसेनमाथि ज्यान मुद्धा दर्ता हुनेछ। तर, अहिलेलाई चाहिँ यति हो कि - अपराधबाट मुक्त भइसकेँ भन्ने भीमसेन सोच भने नराम्ररी भत्किएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell