PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

चिनियाँ विदेशमन्त्री वाङ यी'को भ्रमणः झस्किएको भारत, उपयोग गर्न चुकेको नेपाल



विधुर ढकाल

चिनियाँ विदेशमन्त्री वाङ यी'को भ्रमणः झस्किएको भारत, उपयोग गर्न चुकेको नेपाल

  • टिप्पणी-

सिचुवान : जनगणतन्त्र चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी नेपाल भ्रमण सकेर स्वदेश फर्किएका छन्। नेपालको तीनदिने भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्री काठमाडौंमा रहँदै गर्दा भारतीय सक्रियता पनि बढ्यो। जब जब नेपालमा चिनियाँ चासो र सक्रियता बढ्छ, तब तब दक्षिणको पनि चिन्ता र चासोसँगै सक्रियतासमेत बढ्ने गरेको छ।

यसपटक पनि त्यस्तै भयो। भारतले लगाएको नाकाबन्दीको समयमा पेट्रोलियम पदार्थको हाहाकार भएको र चीनबाट पेट्रोलियम पदार्थको आयात भएको तितो यथार्थलाई हामीले भुल्यौँ। र भारतले अमलेखगन्जसम्म विस्तार गरेको पेट्रोलियम पाइपलाइन हेरेर दंग पर्दै हर्ष मनायौँ।

हरेक पटक चीनले नेपालमा सहयोगी हात अघि बढाउने प्रयास  गर्दा भारतले सधैं उछिन्ने कोशिश गर्दै आएको छ। त्यस्तै भयो यसपटक पनि।

नेपाल र चीनबीच दुरी पैदा गराउने भारतीय प्रयास

सोमवार नेपाल र चीनबीच तीन वटा सहमति पत्रमा हस्ताक्षर भए। विदेशमन्त्री यी र उनका समकक्षी प्रदीप ज्ञवाली नेतृत्वको दुई देशको टोलीबीच भएको द्विपक्षीय वार्ता पुराना सन्धि सम्झौताको कार्यान्वयनमा छलफल भयो।

नेपालले चीनबाट पेट्रोलियम पदार्थको आयातको विषयलाई विर्सिँदै जाँदा भारतबाट पेट्रोलियम पदार्थको आयात गर्ने गरी निर्माण भएको पेट्रोलियम पाइपलाइनको उदघाटन चिनियाँ विदेशमन्त्री यी नेपालमै हुँदा भयो। सुरुमा पेट्रोलियम पाइपलाइनको उदघाटनका लागि भारतीय प्रधानमन्त्री नेपाल आउने बताइए पनि कन्फ्रेन्स कलमार्फत पाइपलाइनको उदघाटन भयो।

त्यति मात्र होइन भारतीय प्रधानमन्त्री मोदीले वाङ यी नेपालमै छन् भनेर बिर्साउने गरी एकपछि अर्को गर्दै सामाजिक सञ्जाल ट्विटरबाटै नेपाललाई सम्बोधन गरे। सबैको ध्यान उतै मोडियो। नेपालले चीनबाट ल्याउने भनेको पेट्रोलको चर्चा हुन सक्यो न त हामीले भूकम्पल थिलोथिलो हुँदा भारतले लगाएको नाकाबन्दीको बेला हामीले बेहोर्नु परेको पीडादायी अवस्थालाई नै स्मरण गर्‍यौं।

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भिडियो कन्फरेन्सबाट भारतको मोतिहारीदेखि नेपालको अमलेखगन्जसम्मको ७० किलोमिटर लामो क्रसबोर्डर पेट्रोलियम पाइपलाइनको शुरुवात गरे। यसले नेपाललाई पेट्रोलियम पदार्थको ढुवानी खर्च जोगाउनुका साथै चुहावट पनि बचाउँछ। तर, यसले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणलगायत विभिन्न एजेन्डा लिएर नेपाल पुगेका चिनियाँ विदेशमन्त्री यीको भ्रमणलाई भने पूरै छायामा पारिदियो।

भारतले नाकाबन्दी लगाउँदा सिंहदरबारमा पहिलोपटक प्रधानमन्त्री बनेर प्रवेश गरेका ओलीले त्यतिवेला चीनबाट केही ट्यांकर तेल ल्याएर वाहवाही बटुले, त्यसैले उनलाई राष्ट्रवादी नेताको रुपमा पगरी मात्र गुताएन, आम चुनावमा पनि फाइदा पुर्‍यायो।

अहिले चीनबाट पेट्रोलियम पदार्थ ल्याउने कुरा सेलाउँदै गएको छ।

मोदीले मंगलवार लगातार ट्विट गर्दै मोतीहारी-अमलेखगन्ज पाइपलाइनको नेपालका प्रधानमन्त्री ओलीसँग संयुक्त उदघाटन गर्न पाएकोमा खुशी व्यक्त गरे। त्यति मात्र होइन सन् २०१९ मे महिनामा ओली भारतको भ्रमणमा रहँदा भारतीय सहयोगमा निर्मित आयोजनाहरुको चाँडै उदघाटन गर्ने सहमति भएको स्मरण समेत गराए। मोदीले यो स्मरण गराइरहँदा उत्तरी छिमेकीसँग भएका सम्झौताहरुको कार्यान्वयनको पाटोमा भने हामी पछाडि परिरहेका छौँ।

उत्तरतिरबाट उच्चस्तरीय भ्रमण टुंगो नहुँदा मोदीले सम्झाए नेपाल-भारत उच्चस्तरीय भ्रमण

उत्तरी छिमेकी चीनबाट नेपालमा लामो समयदेखि उच्चस्तरीय भ्रमण हुन सकेको छैन। २३ वर्षयता चीनका कुनै पनि राष्ट्रपति नेपाल भ्रमणमा गएका छैनन्। सन् २०१२ मा चिनियाँ प्रधानमन्त्री, सन् २०१६ मा चिनियाँ उपप्रधानमन्त्री नेपाल गएयता यही साता भएको चिनियाँ विदेशमन्त्री यीको नेपाल भ्रमण नै सबैभन्दा ठूलो उच्चस्तरीय भ्रमण हो।

यस्तोमा मोदीले भारतबाट नेपालमा भएका उच्चस्तरीय भ्रमणहरुको स्मरण गर्दै नेपाललाई भारतले सधैं प्राथमिकतामा राखेको संकेत दिए। उनको यो संकेत उत्तरबाट नभएको अवस्थामा तिमीहरुका लागि हामी नै अगाडि हौँ भनेर नेपाललाई सम्झाउनका लागि दिएको देखिन्छ।

'पछिल्ला केही वर्ष हाम्रोबीचमा उच्चस्तरीय राजनीतिक सम्बन्ध अभूतपूर्व ढंगले नजिक भएको छ र हामी नियमित सम्पर्कमा छौँ। पछिल्लो डेढ वर्षमा मेरा मित्र प्रधानमन्त्री ओलीजी र मैले चार पटक भेटेका छौँ,' मोदीले उल्लेख गरेका छन्।

पढ्नुस्ः वाङको नेपाल भ्रमण छायाँमा पार्ने गरी नेपालबारे मोदीले गरे ९ ट्वीट, फेरि नेपाल भ्रमणमा आउने  

उनले यति भनिरहँदा भूकम्पको वितन्डाबाट बौरिँदै गरेका बेला भारतले लगाएको अघोषित नाकाबन्दीलाई ओझेलमा पार्दै मोदीले सामाजिक सञ्जालमा भनेका छन्, '२०१५ को विनाशकारी भूकम्पपछि जव नेपालले पुनर्निर्माणको जिम्मेवारी उठाउँदै थियो, भारतले छिमेकी तथा निकटतम मित्रको नाताले आफ्नो हात सहयोगका लागि बढायो। मलाई बहुत खुशी छ कि नेपालको गोरखा र नुवाकोट जिल्लामा हाम्रो आपसी सहयोगबाट फेरि घर बसेका छन्। आम मानिसको शिरमा फेरि छत आएको छ।'

पछिल्लो ५ वर्षमा महत्वपूर्ण द्विपक्षीय परियोजनाहरु सम्पन्न गर्न सकेको भन्दै मोदीले नेपाल भ्रमणका बेलामा पशुपतिनाथ धर्मशाला र वीरगन्जमा आइसिपीको उदघाटन गरेको समेत स्मरण गर्न भ्याएका छन्।

मोदीले पशुपतिनाथमा भारतले निर्माण गरिदिएको धर्मशालाको कुरा सम्झिरहँदा बिर्सन नहुने तथ्य के हो भने सो धर्मशाला अझै प्रयोगविहीन रहेको छ।

त्यति मात्र होइन उत्तरबाट चिनियाँ राष्ट्रपति सिको भ्रमणको तयारी भइरहँदा त्यही तयारीका लागि चिनियाँ विदेशमन्त्री यी काठमाडौंमै रहेका बेला मोदीले फेरि नेपाल भ्रमणमा आउने घोषणा समेत गरे।

मोदीले भिडियोमार्फत प्रधानमन्त्री ओलीसँग कुराकानी गर्दै स्वास्थ्य लाभको कामना समेत गर्दै पुनः नेपाल भ्रमण गर्ने घोषणा गरे। 'तपाईंले दिएको भ्रमणको निम्तो मेरो लागि धेरै महत्वपूर्ण छ। त्यहाँ आउने मेरो जहिल्यै इच्छा रहन्छ। म समय मिलाएर पक्कै आउनेछु,' मोदीले भने।

चीन जान खुट्टा उचालेका ओलीलाई मोदीले गरेका थिए स्वागत

प्रधानमन्त्रीको रुपमा ओली दोस्रो कार्यकालका लागि सिंहदरवार प्रवेश गरेको महिना दिनपछि उनलाई चीनको औपचारिक भ्रमणमा जाने अवसर थियो। नेपालका प्रधानमन्त्रीले पहिलो भ्रमण भारतबाट थाल्ने अघोषित परम्परालाई तोड्ने अवसर ओलीसँग थियो।

चीनको हाइनान प्रान्तको बोआओ फोरममा नेपालबाट उच्चस्तरीय सहभागिताका लागि चीनबाट निम्तो आएको पनि थियो। प्रधानमन्त्रीले चासो पनि दिएका थिए। तर, भारतले चलाखीपूर्वक सोही समयमा प्रधानमन्त्रीलाई राजकीय भ्रमणको निम्तो पठायो।

प्रधानमन्त्री ओली भारत गए। बोआओ फोरममा त्यस वर्ष नेपालको सहभागिता शून्य भयो। लगातार उच्चस्तरीय सहभागिता र सम्बोधनको अवसर प्राप्त गरेको नेपालको सहभागिता सन् २०१८ मा शून्य भयो।

यो पनि पढौं- चीनको हैनानमा बोआओ फोरम शुरु : प्रधानमन्त्री ओली छुटेपछि नेपालको सहभागिता शून्य

चिनियाँ राष्ट्रपतिसहित विश्वका शीर्ष नेताहरू सहभागी हुने सम्मेलनमा नेपालका तर्फबाट प्रधानमन्त्री ओली सहभागी नहुँदा नेपालको सहभागिता शून्य भयो।

यसअघि सन् २०१७ को सम्मेलनमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विशेष वक्ताका रूपमा निम्ताइएका थिए। त्यस्तै सन् २०१६ मा प्रधानमन्त्री ओलीले नै सहभागिता जनाएका थिए।

सन् २०१५ मा तत्कालीन राष्ट्रपति डा. रामवरण यादव अतिथिको रूपमा सहभागी भएका थिए। चीनले नेपालको तर्फबाट उच्चस्तरीय सहभागिताका लागि निम्तो पठाएको थियो। तर, सहभागिता शून्य भयो।

यो विषयमा चीनले पटक पटक कुरा उठाउँदै आएको छ। गत मंसिरमा बेइजिङमा दुई देशका परराष्ट्र मन्त्रालयका अधिकारीहरुको छलफलमा चिनियाँ पक्षले यस विषयलाई उठाउँदै सचेतसमेत गराएको थियो।

यो पनि पढौं- चिनियाँ चासो : बोआओ फोरममा यस पटक सहभागिता शून्य नहोस्, चर्चा राष्ट्रपति सीको नेपाल भ्रमण



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell