PahiloPost

Sep 21, 2019 | ४ असोज २०७६


दशैंको मुखमा टीकाको कथा : जागते रहो, जागते रहो...


स्वेच्छा राउत

दशैंको मुखमा टीकाको कथा : जागते रहो, जागते रहो...

जागते रहो, जागते रहो…

सपना देख्न निदाउनु पर्छ। निदाउन नपाउँदा कमानसिंह सपना पनि देख्न पाउँदैनन्। रातभर भारतको एउटा कोलोनीको गेट छेउमा उभिएर कराइरहन्छन् उनी - 'जागते रहो जागते रहो…।'

जागै रहन नसके कमाइ हुँदैन। कमाइ नभए घरमा के पठाउने?

बुढी आमा छिन्, श्रीमती र बालक छोरो पनि। आउँदै गरेको दशैंले जिम्मेवारी थपिदिएको छ। त्यसैले रातमा निद्रा र दिनमा आराम हराम भएको छ कमानसिंहको।

बिहानपख एउटा सेठको बगैंचामा फूल स्याहार्ने काम छ। उनीसँग फूर्सद छैन, आफ्नो करेसामा के फल्यो होला भनेर सोच्न, दशैंका लागि जमरा कसले उमार्ला भन्ने पनि।

दिउँसो कोलोनीमै अर्को मालिकको बिरामी छोरा स्याहार्छन् कमानसिंह। आफ्नो काखे छोरालाई नयाँ लुगा किनिदिन सेठको छोराको हेरचाह गर्नु उनको विडम्बना।

उनी बाध्यताहरु बीच यसरी पिल्सिएको छन् कि तन्द्रामा पनि खराब सपनाहरुले लखेट्छन्। उनी चिच्याउँछन्, कराउँछन्। आफू भित्रको भडासलाई अधकल्चो होसमा व्यक्त गर्छन्।

यी दृश्यहरु हेर्दै गर्दा विदेशिएको आफन्त, साथी वा चिनजानका मानिस सम्झिन्छन्। किनकि कमानसिंहले कमाउने विदेशिएका त्यस्तै पात्रहरुको प्रतिनिधित्व गर्छन्, भिमनिधि तिवारीको नाटक 'टीका'मा।

कमानसिंह भारत गएका छन्। नेपालका धेरै युवा कमानसिंह जस्तै थोरै सपना र धेरै बाध्यता बोकेर ज्याला मजदुरीका लागि धाइरहेका छन् छिमेकी मुलुक। खाडीतिर पुग्ने पनि उत्तिकै। र, मोटो रकम तिरेर युरोप अमेरिका पुग्नेहरु पनि। सबै उस्तैगरी पिल्सिन्छन्, मजदुरीको चपेटामा। तिवारीले सात दशक अघि लेखेको कथा आज पनि सान्दर्भिक लाग्छ, नेपाल र नेपालीको हालत देख्दा। निर्देशक संगीत सापकोटाले यिनै सान्दर्भिकतालाई ध्यानमा राख्दै तिवारीको कथा टपक्क टिपेर मञ्चमा प्रस्तुत गरेका छन्।

गरिबी छ, बेरोजगारी पनि। अभावले भावनात्मक रुपमा नजिकिएकाहरुलाई टाढा बनाएको छ। देशमा केही परिवर्तन त भए। तर, विदेशनु बाध्यता मात्र रहेन रहर पनि बन्दै गयो। पहिले बाबुहरु विदेशिन्थे सन्तान छाडेर जानुको ग्लानी बोकेर। अहिले किशोरावस्थामै रहेका सन्तानलाई बाबुआमाले विदेश पठाउँछन्, रहरैले पनि।

बाध्यता होस् या रहर विदेशमो कमाइ सहज भने पक्कै छैन। नाटक 'टीका'मा कमानसिंहको मानसिक तनावको स्थितिले अहिलेको नेपाली समाजको त्यही तस्बिरलाई देखाउँछ। त्यस्तै मानसिक तनावमा गुज्रिरहेका नेपाली युवाहरुले विदेशमा गरेको आत्महत्या र बढ्दो डिप्रेसनका खबरहरु पनि सामान्य बनिरहेका छन् अहिले। नाटकले प्रत्यक्ष ती खबरहरु संकेत त गर्दैन तर केन्द्रीय पात्र तन्द्रामा छट्पटाइ रहेको दृश्य तिनै खबरहरुको विम्बजस्तो लाग्छ।

यता, गाउँमा पर्खिरहेकी आमामा निराशा छाउँछ। तर, न चिट्ठी आउँछ न कमानसिंह नै। दशैंसम्म आइपुग्छ भन्ने आशा चाहिँ मर्दैन। त्यसैले आँगनमा बसेर बत्ती कात्ने र हुलाकीको बाटो हेरिरहन्छिन् उनी। उनको छट्पटाहट संवादमा पनि झल्कन्छ।

'कतै हुलाकीले जानी जानी चिट्ठी ल्याइदिएन कि?', भन्छिन्,'यहाँ कसैको भर गर्नु हुँदैन।'

धन्न प्रविधिले साँघुर्‍याइदिएको छ, संसार। आँगनमा बसेर चिट्ठी पर्खने अवस्था अब छैन। दैनिक इन्टर्नेट कल वा भिडियो च्याट हुन्छ। स्काइपबाट नातिनीको पास्नी गर्नेदेखि दशैंको टीका स्क्रिनमै टाँसेको फोटो भिडियो सामाजिक सञ्जालमा हरेक वर्ष छाउने गरेको छन्। नत्र अरुकै भरको के विश्वास?

नाटक टीकाले पारिवारिक पीडाबाहेक सामाजिक अवस्था पनि चित्रण पनि गरेको छ। छाक टार्न मुग्लान भासिएकाबाहेकका युवा दुर्व्यसनी र जुवामा समय बिताइरहेका छन्। गाउँमै रहेर पनि पारिवारिक जिम्मेवारीबाट पर छन् उनीहरु। एउटा पात्र भन्छन्, 'श्रीमतीले बिहानैदेखि घट्ट जानु भनेर हैरान पारिसकी।'

पात्रहरुमध्ये एकमा क्रोध र अहम् छ, साहुजीको छोरा हुनुको। ऊ हरेकपल रिसाउँछ। काम केही छैन, तास खेल्छ बस्छ। उसमा शरीरमा परेको जुम्रा सायद उसको समस्या हो। जुन लुकेर बसेको छ, ऊ पनि ती जुम्रा लुकाउन चाहन्छ तर पत्तो पाउँदैन ती जुम्रा वा समस्याहरुले टोकेको।

समस्या, बाध्यता र अभावको प्रभावबाट पर रहेका बालबालिकाको मनोदशाको चित्रण नाटकको सुन्दर पक्ष हो। उनीहरुमा दशैं आउनुको, बुबा लाहुरबाट फर्कनुको खुशी छ तर दशैंसँगै आउने खर्चको वास्ता छैन। उनीहरु त चङ्गाजस्तै माथि उड्ने सपना देख्छन्। एउटा पात्रको त नाम नै 'हेलिकप्टरे'। ऊ बुबाले आफ्नो भागको दूध बेचेर रक्सी खाएको प्रसङ्ग सुनाउन पनि हिच्किचाउँदैन। ऊ कल्पनाको हेलिकप्टर बिग्रदा पनि साथीहरुलाई भन्छ, 'नआत्तिउ बन्छ'। ऊ साथीहरुलाई पनि निराश नहुन सुझाउँछ।

नाटकमा प्रयोग प्रप्सहरुले र संवादले गाउँले परिवेशको झल्को दिन्छ। पात्रहरुको अभिनय अर्को सबल पक्ष हो। मौलिक कथावस्तुले दर्शकको संवेदना छुन्छ। बीच बीचमा प्रयोग कमेडीले दर्शकलाई बाँध्छ पनि।

तर, केही दृश्यहरु हसाउँनकै लागि मात्र राखिएको भान हुन्छ जसको नाटकमा आवश्यकता नै छैन। अनि एउटा दृश्यको अर्कोसँग सम्बन्ध महत्व नै महसुस हुँदैन। तास र लङ्गुरबुर्जा खेल्दै गरेको दृश्य यति तन्काइएका छन् कि नाटकको मुल विषयबाट दर्शकको ध्यान भङ्ग गराउँछ।

संगीतको प्रयोग नाटकको सबल पक्ष हो। संगीत सापकोटको निर्देशकीय विशेषता हो, गीतमार्फत् कथा भन्नु। यसअघि नाटक 'अँधेरी नगरी चौपट राजा'मा उनले प्रमाणित गरेका थिए यही कुरालाई।

ऐक्य हेभन अफ आर्टको प्रस्तुति रहेको नाटकमा श्रवण राना मगर, वीनिता गुरुङ, राजकमल फकिर, न्हुँज महर्जन, दिपेश काफ्ले, शारदा अधिकारी, सविन भट्टराई, मणिराज पौडेल लगायतको अभिनय रहेको छ। नाटकलाई अमृतबाबु केसीले सह-निर्देशन गरेका हुन्।



दशैंको मुखमा टीकाको कथा : जागते रहो, जागते रहो... को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट