PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

डेंगुका कारण प्रदेश नम्बर २ मा एक जनाको मृत्यु, ७३ जना संक्रमित



रासस

डेंगुका कारण प्रदेश नम्बर २ मा एक जनाको मृत्यु, ७३ जना संक्रमित
फोटो : The Conversation ।

महोत्तरी : प्रदेश नम्बर २ मा डेंगुको संक्रमणबाट एक जनाको मृत्यु भएको छ भने ७३ जना विरामी भएका छन्।

सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका–११ का ३१ वर्षीय रामनारायण मण्डलको डेंगुको संक्रमणबाट मृत्य भएको प्रदेश नम्बर २ स्वास्थ्य निर्देशनालयले जनाएको हो।

प्रदेशका महोत्तरीसहितका आठ जिल्लामा आज बिहीवार बिहानसम्म ७३ जनामा डेंगु संक्रमण भेटिएको निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी दिए।

प्रदेशमा सबैभन्दा बढी बारा र पर्सामा गरी ३९ मा डेंगु संक्रमण भेटिएको निर्देशनालयले जनाएको छ। त्यसैगरी सिरहामा १५, रौतहट र सप्तरीमा सात/सात, महोत्तरीमा तीन र धनुषामा एक जनामा डेंगु संक्रमण फेला परेको वरिष्ठ स्वास्थ्य प्रशासक झाले बताए।

हिजो बुधवार बिहानसम्म १६ जनामा डेंगुको संक्रमण देखिएको थियो भने दिउँसो सो संख्या २५ र अबेर रातिसम्म ७३ पुगेको हो। प्रदेशका सबै जिल्लामा डेंगुविरुद्ध सचेतना र विशेष सरसफाइ कार्यक्रम चलाइएका छन्।

संक्रमित सबैको पायक पर्ने अस्पतालमा उपचार भइरहेको निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी दिए।

महोत्तरीको सुदूरउत्तरी क्षेत्रमा डेंगु भेटिएको छ। अहिलेसम्म बर्दिवास र यसैसँग सीमा जोडिएको औरही नगरपालिकामा डेंगुको संक्रमण तीन जनामा भेटिएको हो। दुई वर्ष पहिले २०७४ को हिउँदमा महोत्तरीको बर्दिवास क्षेत्रमा डेंगु आतंक नै छाएको थियो। त्यतिखेर बर्दिवास र आसपासका क्षेत्रमा गरी ७०० भन्दा बढी डेंगु प्रभावित भएका थिए।

यसैबीच बर्दिवास नगरपालिकाले डेंगुविरुद्ध सचेतना र सरसफाइ कार्यक्रम सँगसँगै शुरु गरेको छ। नगरपालिकाले आफ्नै स्वास्थ्य शाखाको संयोजनमा नगरभित्रका सबै स्वास्थ्य संस्था र सामाजिक संघसंस्थालाई अभियानमा परिचालन गरिएको नगरप्रमुख विदुरकुमार कार्कीले जानकारी दिए। बर्दिवास नगरपालिकाले वडा नम्बर १ का अध्यक्ष चुडामणि पोखरेलको संयोजकत्वमा सरसफाइ अभियान समिति नै गठन गरेर काम थालेको जनाएको छ।
 
डेंगु सार्ने लामखुट्टेले घरप्रयोजनका गिलास, बटुकाजस्ता साना भाँडामा राखिएका पानीमा पनि फूल पार्ने र वरपरका झाडीमा फैलनसक्ने भएकाले घरप्रयोजनको पानी राम्ररी छोप्न र वरपर सफा राख्न बर्दिवास अस्पतालका चिकित्सकले अपिल गरेका छन्। घर वरपर पानी जम्न नदिन र झारपात सफा राख्न सबैको तत्परता आवश्यक भएको अस्पतालले जनाएको छ। 

त्यसैगरी टायर, ट्युबका भित्री कापमा यो लामखुट्टेले फूल पार्ने र लार्भा हुर्कने भएकाले यत्रतत्र फालिएका टायर, ट्युब निश्चित ठाउँमा नष्ट गर्नुपर्ने बर्दिवास अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा विधानचन्द्र झाले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell