PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

'पासवर्ड' का निर्देशक सम्राट बस्नेत भन्छन् : फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन सन्नीलाई लियौं



'पासवर्ड' का निर्देशक सम्राट बस्नेत भन्छन् : फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन सन्नीलाई लियौं

नेपाली फिल्म 'पासवर्ड' भदौ २७ गते शुक्रबारबाट प्रदर्शनमा आउँदैछ। एक्सन थ्रिलर जनराको भनिएको फिल्म आइटम नम्बर 'आजको शाम' बोलको गीतका कारण चर्चामा छ। फिल्म युनिटले प्रचारप्रसारको शूत्र समेत यही गीतलाई बनायो। कारण, फिल्ममा बलिउड अभिनेत्री तथा आइटम डान्सर सन्नी लियोनीलाई फिचर गरिएको छ।

'पासर्वड'को प्रिमियरकै लागि भनेर सन्नी बिहीवार साँझ नेपाल आउँदै छिन्। फिल्ममा अन्य कलाकार विक्रम जोशी, अनुप विक्रम शाही, बुद्धि तामाङ, रविन्द्र झा लगायतका कलाकारको अभिनय रहेको छ।

फिल्मको निर्देशन सम्राट बस्नेतले गरेका हुन्। प्रचारप्रसारमा व्यस्त उनी फिल्मलाई लिएर निकै उत्साहित छन्। सँगै सन्नीको नाम प्रचारका लागि मात्र प्रयोग गरेको आरोप समेत खेपिरहेका छन्। फिल्मबारे यिनै विषयवस्तु केन्द्रमा राखेर निर्देशक सम्राट बस्नेतसँग पहिलोपोस्टकी मन्दिरा खत्रीले गरेको कुराकानी:

फिल्म पासवर्डले कस्तो विषय समेटेकाे छ?

यो फिल्म रोमान्स, एक्सन थ्रिलर र सस्पेन्स जनरामिश्रित प्याकेज हो।

फिल्म घोषणा भएदेखि नै अन्य कलाकारभन्दा बढी सन्नी लियोनीको कै मात्र चर्चा छ। उनलाई प्रचारकै लागि मात्र लिएको आरोपबारे के भन्नु हुन्छ?

सन्नीलाई हामीले फिल्म पब्लिसिटीकै लागि मात्र लिएको त होइन तर सन्नीलाई लिएर हाम्रो फिल्मलाई फाइदा भने पक्कै भएको छ। हामीले हलिउड, बलिउड लगायतको अन्तर्राष्ट्रिय फिल्म जस्तै नेपाली फिल्मलाई पनि अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउनका लागि पनि विदेशी कलाकारलाई नेपाली फिल्ममा लिएका हौं।

अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन भन्नु भयो, पासवर्ड नेपाल लगायत कतिवटा देशमा प्रदर्शन हुँदैछ त?

पासवर्डको अधिकांश छायांकन नेपाल र लन्डनमा गरिएको छ। नेपाल रिलिज पश्चात असोज १० गतेदेखि फिल्म लन्डन, क्यानडा, अमेरिका, जापान, दुबई, मलेसिया, अस्ट्रेलिया, भारत लगायतका १० वटा देशमा एकसाथ रिलिज गर्दैछौं।

सन्नीकै लागि करोडौं खर्च भएको चर्चा छ, फिल्मको कुल लागत चाहिँ कति हो?

फिल्मको कुल लगानी हामीले अझै हिसाब गरिसकेको छैन। तर तीनवटा राम्रा नेपाली फिल्म बन्ने बजेट चाहिँ खर्च भएको छ।

नेपाली फिल्म उद्योगमा यति धेरै अभिनेत्रीहरु छन् तर आइटम गीतको लागि सन्नी लियोनीलाई नै रोज्नुको कारण?

हामीलाई पनि नेपाली अभिनेत्रीलाई नै आइटम सङमा नचाउने रहर थियो तर विदेशी कलाकार लिँदा नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउनको लागि बाटो खुल्ने भएकोले गर्दा सन्नीलाई लिएको हो। जसरी विदेशी फिल्म नेपालमा रिलिज हुन्छ, त्यसरी नै नेपाली फिल्म पनि विदेशमा रिलिज गर्नुपर्छ।

फिल्ममा सन्नीसँगको सहकार्य कसरी सम्भव भयो?

सुरुमा हामीले सन्नीलाई फिल्मको स्क्रिप्ट पठायौं। उहाँले स्क्रिप्ट हेर्नु भयो। त्यसमाथि उहाँलाई नेपाल विश्वको सबैभन्दा मनपर्ने देश भएकोले गर्दा पनि नेपाली फिल्म खेल्न एकदमै इच्छुक हुनुहुन्थ्यो। अन्ततः उहाँ आइटम गीतका लागि राजी हुनुभयो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell