PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

आहा ! हेर्नुस् ज्ञानसँग जोडिएका ११ फोटो

आहा ! हेर्नुस् ज्ञानसँग जोडिएका ११ फोटो

पहिलोपोस्ट /पहिलोपोस्ट


यतिखेर बबरमहलस्थित नेपाल कला परिषदको ग्यालरीमा शिक्षासँग जोडिएका फोटोहरुको प्रदर्शन जारी छ।

‘बहुभाषिक परिवेशमा साक्षरता अभिवृद्धि’का लागि शुरु प्रदर्शनीमा देशभरिबाट १ सय ८२ जना फोटोग्राफरले पठाएका ६ सय ३६ फोटाहरुमध्ये निर्णायक मण्डलले विजेतासहित उकृष्ट ५४ फोटाहरु छानेको थियो, जुन अहिले प्रदर्शनमा छन्।

युनेस्को नेपाल र सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा र मानवस्रोत विकास केन्द्रसँगको सहकार्यमा फोटो पत्रकार क्लबले प्रदर्शनीको आयोजना गरेको हो। ४२ जना फोटोग्राफरका कला कस्तो छ त? हेर्नुस् प्रदर्शनमा रहेकामध्ये ११ तस्बिर :

भिक्षु शिक्षा : काठमाडौंको स्वयम्भुनाथस्थित सरकोङ दोर्जी च्याङ एकेडेमीमा अध्यनरत भिक्षुहरू । यहाँ कक्षा दुईसम्म निःशुल्क अध्यापन गराइन्छ । तिब्बती भाषामा बुद्ध सम्बन्धी ज्ञानका साथै अंग्रेजी, गणित र नेपाली पढाइन्छ । तस्बिर : किरण पाण्डे
कुसुन्डा भाषा पुनरुत्थान : ८२ वर्षीया ज्ञानीमाया सेन दाङको लमहीमा बालबालिकाहरूलाई कुसुण्डा भाषा सिकाउँदै। ज्ञानीमाया कुसुण्डा भाषा बोल्ने एकमात्र व्यक्ति रहेको बताइन्छ। आफ्नो भाषा र संस्कृति लोप हुने डरले ज्ञानीमायाले कुसुण्डा भाषा सिकाउने अभियान चलाएकी हुन्। २०६८ को जनगणना अनुसार कुसुण्डाको २७३ जना छन्। तस्बिर : दीपक तोलागें
चौतारीमा ज्ञान : सिन्धुलीको सित्तलपास्थित चौतारीमा सामुदायिक स्वास्थ्य स्वंयसेवीसँग आमाहरू छलफल गर्दै। तस्बिर : अनन्तकुमार बानियाँ
पहिलो अक्षर : काठमाडौंको एक मन्दिरमा आफ्नो बच्चालाई अक्षर लेख्न सिकाउँदै आमा। श्रीपञ्चमीको दिन विद्याकी देवी सरस्वतीको पूजा, आराधाना गरी विद्या आरम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ। तस्बिर : प्रवीण कोइराला
उर्दू सिकाइ : कपिलवस्तुको कृष्णनगरस्थित मदरसामा मुस्लिम समुदायका बालबालिकाहरू उर्दू भाषा सिक्दै । तस्बिर : विजय राई
बुढेसकालमा सिकाइ : भीमेश्वर नगरपालिका २ निवासी एक वृद्धा शिक्षकको पढाइमा ध्यान दिँदै। तस्बिर : जीवन लामा
ठाउँले फरक पार्दैन : ललितपुरको खोकनामा आमाले काम गर्ने गलैंचा कारखानमा पढ्दै नानीहरू। तस्बिर : नारायण महर्जन
वेद पाठ : काठमाडौंको गौशालास्थित नेपाल वेद विद्याश्रम संस्कृत विद्यालयमा विद्यार्थीहरू वेद सुनाउँदै । यस विद्यालयमा संस्कृत भाषामा विभिन्न विषय पढाइन्छ। तस्बिर : विजय राई
मन्त्रोच्चरण : भक्तपुरमा गाइजात्रामा मन्त्र जप्दै भक्तजन । तस्बिर : बिनय हाडा
कखरा : कालिकोटस्थित पलाँतेमा प्रौढ शिक्षामा सहभागी महिलाहरू। तस्बिर : विष्णु प्रसाद न्यौपाने
प्रकृति र पढाई : मकवानपुर जिल्लामा स्कुल बिदा भएपछि रुखको हाँगामा बसेर पढिरहेकी एक बालिका। तस्बिर : सुलभभक्त श्रेष्ठ


ट्रेन्डिङ पोस्ट

Ncell