PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

जेलमा रहेका गुन्डा नाइकेसँग गृह मन्त्रीका भाइको कनेक्सन : फिरौती र धम्कीको धन्दा



सविन ढकाल

जेलमा रहेका गुन्डा नाइकेसँग गृह मन्त्रीका भाइको कनेक्सन : फिरौती र धम्कीको धन्दा

काठमाडौं : हत्यासम्बन्धी मुद्दामा जेलमा रहेका गुन्डा नाइके समीरमान बस्नेतसँगको मिलेमतोमा फिरौती असुली गरेको अभियोगमा गृहमन्त्री रामबहादुर थापाका भाइ नरेश थापा यतिखेर प्रहरी नियन्त्रणमा छन्। थापालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नियन्त्रणमा लिएको हो। थापासहित अन्य ८ जनालाई बुधवार अदालतमा उपस्थित गराएर ३ जनाको बयान लिइएको छ।

निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरद गौचनको हत्यामा मुछिएका गुन्डा नाइके बस्नेतसँग मिलेमतो गरेर फिरौती असुली गरेको अभियोग थापामाथि लगाइएको छ। बस्नेत अहिले केन्द्रीय कारागारमा थुनामा छन्। २०७४ असोज २३ गते बानेश्वरमा अध्यक्ष गौचनलाई गोली हानिएको थियो। हत्याको अभियोगमा तीन महिनापछि मुख्य योजनाकार भनिएका समीरमान पक्राउ परेका थिए।

गृहमन्त्रीकै भाइ एक अपराधीसँगको संलग्नताले सुरक्षामा थप प्रश्न खडा गरेको छ। के गृहमन्त्रीका भाइ नरेशको समीरमानसँग सम्बन्ध थियो? फिरौती रकमको हिस्सेदार बनेका थिए उनी? ब्युरोले गरेको अनुसन्धानमा गृहमन्त्रीका साइँला भाइ नरेशको विभिन्न कोणबाट समीरमानसँग सम्पर्क भएको देखिएको छ।

केन्द्रीय कारागार सुन्धारामा सुरक्षार्थ खटिएका इन्स्पेक्टर विपिन ओझाले नरेश समीरमानसँग भेट्न कारागारमा पुगेको बयान प्रहरीलाई दिएका छन्। थापा तुलसी भनिने एक अर्का व्यक्तिसँग नरेश कारागारमा समीरमानसँग भेट्न आएको ओझाको बयानमा उल्लेख छ।

तर, गृहमन्त्रीका भाइ नरेशले भने आफूले समीरमान सिंहलाई नचिनेको र भेट्दै नभेटको दाबी गरेका छन्। नरेशले बयानमा भनेका छन्, 'समिरमान सिंह बस्न्यात भन्ने जावेद अनवर, दिन सरेन नगरकोटी, बीरबल भट्टराई र प्रदेश भन्ने मनबहादुर पुन मगरलाई चिन्दिनँ।'

गृहमन्त्रीका भाइ नरेशले शैलेश प्रजापति र पवन खड्कामार्फत समीरमानसँग सम्पर्क बढाएको प्रहरीको अनुसन्धानमा खुलेको छ। शैलेश समीरमानका सहयोगी हुन्। नरेशलाई आर्थिक प्रलोभन देखाएर जेलबाट निकाल्न सहयोग गर्ने र फिरौतीमा कनेक्सन देखिएको प्रहरीको अनुसन्धानमा खुलेको छ।

शैलेश र पवन पनि फिरौती अभियोगमा नै सोही घटनासँग जोडिएर प्रहरी नियन्त्रणमा छन्। नरेशले शैलेशलाई केही महिना अगाडि चिनजान भएको स्वीकार गरेका छन्। तर, उनीहरुको चिनजान नरेशले भने झैं दुई महिना अगाडिभन्दा धेरै अघि नै भएको देखिएको छ।

शैलेश प्रजापति व्यवसायी हुन्। बयानमा नरेशले भनेका छन्, 'म शैलेश प्रजापति र विनोद लामालाई चिन्छु। उनीहरुसँग करिब दुई महिना अगाडिदेखि चिनजान भएको हो। शैलेशले सञ्चालन गरेको फुड कोर्टमा खाजा नास्ता गर्न जाँदा शैलेश प्रजापति र विनोद लामासँग चिनजान भएको हो।'

शैलेश र पवन समीरमान बस्नेतका पहिले नै सम्पर्क भएका व्यक्ति हुन्। उनीहरुले नै समीरमानसँग नरेशलाई सम्पर्क गराएको देखिएको छ। पक्राउ परेको केही समयपछि जेलभित्रबाटै समिरले अापराधिक गतिविधि बढाएका थिए। जेलबाटै आपराधिक गतिविधि बढाएको भन्दै बस्नेतलाई २०७५ असोजमा केही समय मुस्ताङ कारागार समेत लगिएको थियो। केही समयपछि उनलाई फेरि काठमाडौं नै ल्याइएको थियो।

प्रहरीले शैलेशलाई नियन्त्रणमा लिएरपछि उनलाई हिरासतमा भेट्न समेत नरेश गएको खुलेको छ। शैलेशकी श्रीमतीले श्रीमान पक्राउ परेको जानकारी दिएपछि नरेश महानगरीय प्रहरी वृत्त कमलपोखरी पुगेका थिए।

‘शैलेशलाई अनुसन्धानको क्रममा केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरी महानगरीय प्रहरी वृत्त कमलपोखरीमा राखेको कुरा उनकी श्रीमतीबाट थाहा पाएँ। त्यसपछि म प्रहरी कार्यालय कमलपोखरीमा भेटन गएको थिएँ,‘ बयानमा नरेशले भनेका छन्।

नरेश पटकपटक कारागार पुगेर समीरमानलाई भेट्ने र केही जानकारी समेत दिने गरेको खुलेको छ। कारागारबाट नै समीरमानले फोनमा व्यापारीलाई धम्की दिएर रकम असुल्ने गरेको देखिएको हो। कारागारमा सुरक्षामा खटिएका प्रहरी जवान वीरबल भट्टराईले फोन उपलव्ध गराउने गरेका थिए उनीहरुलाई। प्रहरी बयानमा मनबहादुर पुन मगरले भनेका छन्, 'समीरमानले भने अनुसार समीरको भतिजले ल्याएको फोन वीरबलले मेरै अगाडि समीरमानलाई दिएका हुन्।'

उनी मानव बेचबिखन तथा ‌ओसारपसार मुद्दा ८ वर्ष र थुनुवा भगाएको अभियोगमा केन्द्रीय कारागारमा छन्।

समीरमानको योजना पवन खड्काले विभिन्न निर्माण व्यवसायीलाई रकम माग्ने र नदिए मार्ने धम्की दिने गरेका थिए। प्रहरीले धम्की दिएका व्यवसायीसँग पनि बयान लिएको छ। बयानमा उनीहरुले अज्ञात नम्बरबाट धम्की आउने गरेको बताएका छन्।

समीरमानले गत असोज २३ गते नयाँ बानेश्वरको प्रयागमार्गमा व्यवसायी शरदकुमार गौचन र २०७३ साल पुस ४ गते रुपन्देही देवदह नगरपालिका खैरहनीमा एमालेको भ्रातृ संगठन युवा संघका जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्याको मुख्य योजनाकार भएको प्रहरीको दाबी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell