PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

नेपालगन्जको भेरी अस्पतालको लापरवाहीले ज्युँदै शिशुलाई झन्डै गाडियो



नेपालगन्जको भेरी अस्पतालको लापरवाहीले ज्युँदै शिशुलाई झन्डै गाडियो

बाँके : सुत्केरी बेथा लागेपछि भेरी अस्पताल नेपालगन्जमा भर्ना भएकी जाजरकोटकी कमला अधिकारीको आज बिहानै करिब ५ बजे सामान्य प्रसूतिबाट शिशु जन्मियो। जन्मिएको केही समयमा अस्पतालले नवजात शिशुको मृत्यु भएको जानकारी कमलाका पति मिलन अधिकारीलाई दियो।

अस्पतालको प्रसूतिकक्षका कर्मचारीले नवजात शिशुको मृत्यु भएको भन्दै कपडामा बेरेर पोलिथिनमा राखी अन्तिम संस्कारका लागि मिलनको जिम्मा लगाए। सन्तान जन्मिएकोमा खुशी भएका मिलन नवजातको मृत्यु भएको भन्दै अस्पतालले नवजातको शव आफूलाई जिम्मा दिएपछि निन्याउरो भएर अन्तिम संस्कारको तयारी गर्न थाले।

छेडागाड नगरपालिका–९ जाजरकोटकी २० वर्षीया कमलाको नवजात शिशुलाई अस्पतालले मृत घोषित गरी अन्तिम संस्कारका लागि पति मिलनको जिम्मा लगाएपछि मिलनले अन्त्येष्टिका लागि नेपालगन्जस्थित बुलबुलियातर्फ लैजाँदै गर्दा नवजात शिशु बीचबाटोमै चल्मलायो।

'प्रसूतिकक्षका कर्मचारीले तपाईंको बच्चा मरेको भन्दै पोलिथिनमा राखेर दिए, दुःखी हुँदै हामी पनि सद्गत गर्न बुलबुलियातर्फ लैजाँदै गर्दा बच्चा चल्मलाएपछि फेरि तुरुन्तै अस्पताल ल्यायौँ,' मिलनले घटनाको विवरण सुनाउँदै आक्रोश पोखे, 'ज्यूँदो बच्चालाई मृत घोषित गर्दै अस्पतालले गाड्न पठायो, यो अस्पतालको चरम लापरवाही हो कारवाही गरिनुपर्छ।'

मिलनले मरेको शिशुलाई गाडिदिने भन्दै अस्पतालका कर्मचारीले आफूसँग २ हजार रुपैयाँसमेत मागेको बताए। 'एकातिर ज्यूँदो बच्चालाई मरेको भनेर गाड्न लगाउँछ, अझ त्यसमाथि अस्पताल कर्मचारी हामीसँग बार्गेनिङ गर्दै बच्चा गाडिदिने भन्दै रकम माग्छन्, यो कहाँको कानून हो?', मिलनले भने, 'कर्मचारीले कपडा धोएको ५ सय र बच्चालाई गाडेको १ हजार ५ सय गरी २ हजार रुपैयाँ मागेपछि हामी आफैँ गाड्छौँ भनेर लैजाँदै गर्दा बच्चा चल्मलायो।'

उक्त नवजात शिशुलाई अहिले आइसियूमा भर्ना गरिएको छ। सो अस्पतालको रेकर्डअनुसार कमला गर्भवती भएको २३ सातामा नै छोरीको जन्म भएको हो। सकुशल जन्मिएको शिशुको तौल ६ सय ग्राम रहेको छ।

गर्भवती भएदेखि नै अस्पतालकी डा. उर्मिला पराजुली रिसालसँग नियमित जाँच गरिरहेकी कमला बिहीवार पनि नियमित परीक्षणकै लागि नेपालगन्जस्थित भेरी अस्पताल आएकी थिइन्।

नवजात शिशुलाई भेरी अस्पतालको प्रसूतिकक्षमा कार्यरत कर्मचारीको चरम लापरवाहीका कारण मृत घोषणा गरेपछि पीडितहरुले दोषीमाथि कारवाहीको माग गरेका छन्। 'यसअघिको हाम्रो बच्चा खेर गयो, सन्तानको नाममा पहिलो शिशुका रुपमा छोरी पाएका थियौँ', मिलनले भने, 'अस्पतालका कर्मचारीको लापरवाहीले झन्डै ज्यूँदै बच्चालाई गाडेका थियौं।' रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell