PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

कम्पनी मोडलमा सञ्चालनमा आएका ठूला बसको संकटः कुनै बन्द, कुनैलाई बैंकको किस्ता तिर्न समेत मुस्किल



दिनेश खड्का

कम्पनी मोडलमा सञ्चालनमा आएका ठूला बसको संकटः कुनै बन्द, कुनैलाई बैंकको किस्ता तिर्न समेत मुस्किल

काठमाडौँः ०७० सालमा साझा यातायातको पुर्नजन्म भयो। साझा यातायातको उपत्यकामा पुर्नजन्मसँगै सार्वजनिक यातायातमा यू-टर्न समेत भयो। साना (माइक्रोबस) बाट आजित भएका उपभोक्ताका लागि साझाको ठूलो बसले आकर्षित गर्‍यो।

साझाले ठूला बस सञ्चालनमा ल्याएसँगै निजी कम्पनी दर्ता भए। र, ठूला सुविधासम्पन्न बसहरु भित्र्याउन थाले। तत्कालीन अर्थमन्त्री डा.रामशरण महतको कम्पनी मोडलमा दर्ता भएर ४० सिटभन्दा माथिका बस चलाउनेलाई ८० प्रतिशत राजस्व छुट दिने नीतिगत निर्णयले ठूला बस सञ्चालन बढ्यो। यो निर्णयसँगै साना मिनीबस र माइक्रोको दबदबा हट्दै गयो।

रङगीविरङगी फराकिला ठूला/ठूला विभिन्न सुविधा भएका बस चल्न थाले। निजी कम्पनी दर्ता हुने र बस ल्याउने लहर नै चल्यो। महानगर, सिटी मेट्रो, ओरेन्ज, बाबा गोकर्णेश्वर, मयूर, मध्य उपत्यका नगरबस लगायतका कम्पनीहरुले ठूला बस भित्र्याएर संचालनमा ल्याए। सामान्य नीतिगत सुधारले पनि ठूलो परिवर्तन ल्याउँछ भन्ने सफल उदाहरण समेत बन्यो।

उपत्यकाभित्रका सीमित रुटमा बाहेक बस सञ्चालन गर्न इजाजत नै पाइँदैन थियो। झण्डै २५ बर्षेदेखि सार्वजनिक यातायातको क्षेत्रमा सिन्डिकेटधारी व्यवसायीहरुको राज थियो। लाखौँ रुपैयाँ यातायात संघ/ समितिमा बुझाएपछि मात्रै रुट इजाजत पाइन्थ्यो। कम्पनी दर्ता भएर ठूला बस भित्रन थालेपछि सरकारले सिन्डिकेट तोड्ने योजना बनायो।

यातायात व्यवस्था विभागले ०७४ साल चैत १८ गते यातायात व्यवस्थापन कार्यविधि निर्देशिका संशोधन गर्दै सार्वजनिक यातायातको क्षेत्रमा रहेको सिन्डिकेट हटाउने निर्णय गर्‍यो। निर्णय मात्रै गरेन मयुर यातायातलाई पहिलोपटक उपत्यका बाहिर कोटेश्वरपूर्वको रुट इजाजत दियो। यो निर्णयको विरुद्धमा यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ नै हड्तालमा उत्रियो। तर कम्पनीका बस निर्वाध रुपमा संचालनमा रहे। सिन्डिकेट कायम गरेका व्यवसायीले सधै झुकाउने सरकार यो पल्ट भने आफैं झुक्न बाध्य भए।

यातयात व्यवस्था विभागले पनि एकै दिन साझा, ओरेन्ज, महानगर, दुप्चेश्वर लगायतका कम्पनीलाई कोटेश्वर पूर्व धुलिखेल बनेपामा गाडी सञ्चालनका लागि रुट इजाजत दियो। विभागले कम्पनीमा दर्ता भएर प्रक्रिया पुरा गरे एकैदिनमा जुनसुकै रुट पाइने सर्कुलर जारी गर्‍यो। अहिले धेरै यातायात समिति कम्पनीमा आइसकेका छन्।

रुट इजाजतका लागि लाखौँको चलखेल बन्द भएको छ। सिन्डिकेट हटाउन महत्वपूर्ण भूमिका खेलेका र काठमाडौं उपत्यकाको सार्वजनिक यातायातमा गेमचेन्जर बनेका कम्पनी भने विस्तारै हराउन थालेका छन्। दुई वर्ष अघि संचालनमा आएका कतिपय कम्पनी बन्द भएका छन् भने कतिपय घाटामा गएपछि सञ्चालक फेरिएका छन्।

साझा यातायात निरन्तर घाटामा

सार्वजनिक यातायातमा गेम चेन्जर बनेको साझा यातायाता निरन्तर घाटामा चलिरहेको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७४/०७५ मा साझालाई एक करोड ७८ लाख रुपैयाँ घाटा भएको छ। अघिल्लो बर्ष १ करोड ८२ लाख रुपैयाँ थियो। कम्पनीले ०७४/०७५ मा १३ करोड ५४ लाख रुपैयाँ आम्दानी गरेको छ भने यही अवधिमा १५ करोड रुपैयाँ कुल खर्च गरेको छ।

साझाले आफ्नो हातामा रहेको जग्गा र बसमा रहेको विज्ञानपन बोर्डबाट मासिक करिव १९ लाख रुपैयाँ आम्दानी गर्छ। यो आम्दानी पनि नभएको भए घाटा अझै बढी हुन्थ्यो। पार्किङस्थल र पेट्रोल पम्म साझाको स्वामित्वमा छ। यी पूर्वाधारबाट अतिरिक्त आम्दानी गर्दै आएको छ।

महानगरभित्रका अधिक व्यस्त रुटहरुमा साझाले बस सञ्चालन गर्छ। भरिभराउ यात्रु हुन्छन्। पीक आवरमा खचाखच यात्रु हुन्छन्। ठूला बस भएका कारण अन्य बस भन्दा तुलनात्मक रुपमा संचालन खर्च पनि कम छ। सरकारको अनुदानमा बस किनेकोले ऋणको व्याज तिर्नुपर्दैन्।

साझा यातायातका कार्यकारी सञ्चालक भुषण तुलाधार सम्झौता नगरि सेवा दिँदा घाटामा गएको बताउँछन्। बृद्ध ,अपाङगता भएका व्यक्तिसँग भाडा नलिने कारणले बस घाटामा गएको उनको तर्क छ।

साझाको ७१ ठुला बस संचालनमा छन्। बाग्लुङसम्म दुई वटा रात्रिबस सञ्चालनमा छन्। बाँकी बसहरु उपत्यकाका तीन जिल्लाका विभिन्न रुटहरुमा संचालनमा छन्। घाटामा रहेको साझालाई सरकारले वर्षेनि पैसा दिदै आएको छ।

मयुर यातायात

मयुर यातायातलाई कोटेश्वर पूर्वको रुट इजाजत दिएर सिन्डिकेट तोड्ने निर्णय विभागले दिएको थियो। सुरुमा मयुर यातायातको सेवा आक्रामक थियो। एक बर्षमै एक हजार बस सञ्चालन गर्ने घोषणा यो कम्पनीले गरेको थियो।

यति मात्रै होइन लुम्विनी र पोखरामा विद्युतीय बस चलाउने कम्पनीले योजना प्रस्तुत गरेको थियो। चक्रपथमा एयरकण्डिसनसहितको सुविधा सम्पन्न बस सञ्चालनको योजना पनि सार्वजनिक गरेको थियो। तर अहिले यो बस नियमित रुपमा संचालन भएको छैन। कम्पनीले पेट्रोल पम्पको उधारो समेत तिर्न नसकेपछि गाडीनै कब्जामा समेत पर्‍यो।

आखिर किन समस्यामा पर्‍यो यो कम्पनी?

कम्पनी मोडलमा सञ्चालनमा आएका यो बसमा धेरै साझेदार थिए। तर केही साझेदारले पनि बसबाट आएको आम्दानी आफूखुसी चलाए। सामूहिक लगानीमा सञ्चालनमा रहेको कम्पनीमा आफूखुसी पैसा चलाएपछि नोक्सानीमा गएको एक सञ्चालकले बताए।बैंकले बैंकको ऋण समेत नियमित तिर्न सकेको छैन।

कम्पनीका अध्यक्ष मोहन श्रेष्ठले आन्तरिक कारणले समस्या आएको स्वीकार गर्छन्। उनले धेरै समस्या समाधान भएको र कम्पनीले सेवालाई चुस्त बनाउने दाबी गरे।

बाबा गोकर्णेश्वर विभाजित

१० बर्षदेखि साना निलो माइक्रोबसको एकाधिकार तोडेको बाबा गोकर्णेश्वर यातायात दुई वटा कम्पनीमा विभाजन भइसकेको छ। सो कम्पनीबाट छुटेका व्यवसायीले ओम गोकर्णेश्वर यातायात दर्ता गरेर ८ वटा बस सञ्चालनमा ल्याएका छन्। बाबा गोकर्णेश्वरसँग भने ८० वटा बस छ।

कम्पनीका अध्यक्ष भीम बस्नेतले बसको आम्दानी नहुँदा बैंकको ऋण पनि तिर्न नसक्ने अवस्थामा पुगेको बताए। उनले आफ्नै खल्तीबाट पैसा हालेर किस्ता तिरिरहेको बताए।

नाफामा छैन दिगो शहरी यातायात

सरकारकै पहलमा पाइलट प्रोजेक्टको रुपमा संचालनमा ल्याइएको दिगो शहरी यातायात प्रालिको हालत पनि उस्तै छ। ठूला बस चलाउन प्रोत्साहन स्वरुप १५ प्रतिशत अनुदान, ८० प्रतिशत सहुलियत ऋण तथा दिगो शहरी यातायात आयोजनाले ५ प्रतिशत व्योहोरे पनि नाफामा जान सकेको छैन्।

कम्पनीका सचिव लालप्रसाद गुरागाईँका अनुसार कम्पनी अहिले ब्रेक इभनमा छ। उनले किस्ता तिर्न, मर्मत सम्भार गर्न, चालक सहचालकलाई तलव पुगेको बताए। गत बर्ष सिनामंगल- नयाँ बसपार्क रुटमा साना माइक्रो र ट्याम्पो हटाएर युरो-४ मापदण्डका १७ ठुला बसहरु संचालनमा ल्याइएको थियो।

अरु पनि हराए

सिटी मेट्रो यातायात कम्पनीले १५ वटा बस सञ्चालनमा ल्याए पनि अहिले अस्तित्वमा छैन। ४० सीटभन्दा माथिका ती बस काँडाघारीबाट सुरु भएर माइतीतीघर-न्यू प्लाजा-पुतलीसडक-नक्साल-महाराजगंज-बसुन्धरा हुँदै बनस्थलीसम्म पुग्ने र सोही बाटो फर्कने गरेका थिए।

नेपाल यातायातका साना बसबाट सास्ती पाएका यात्रुले विकल्प पाएका थिए। तर यो रुटमा सिटी मेट्रो चल्न बन्द भएको छ।

महानगर यातायातको पनि अवस्था राम्रो छैन्। सुरुमा रिङरोडबाट सेवा सुरु गरेको कम्पनीले ४० वटा बस थपेर रिङरोड भित्रका मूख्य रुटमा सेवा विस्तार गरेको थियो।

तर ती रुटमा बसहरु सञ्चालनबाट सोचेजस्तो फाइदा नभएपछि सेवा खुम्च्याएर रिङरोडमा केन्द्रित गरेको छ। केही समयअघि सञ्चालकबीच खटपट परेपछि फुटको संघारमा पुगेको थियो। ठूला बस चलाउने अर्को कम्पनी ओरेन्ज यातायातले रिङरोडमा १० बसमार्फत सेवा सुरु गरेको थियो। यो कम्पनीको बस पनि प्रभावकारी छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell