PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

क्यान विवाद सुल्झाउन आइसिसीका प्रतिनिधि, राखेप र स्वतन्त्र कमिटीको बैठक : क्यानको चुनाव १० र ११ गते हुने



मुकुन्द घिमिरे

क्यान विवाद सुल्झाउन आइसिसीका प्रतिनिधि, राखेप र स्वतन्त्र कमिटीको बैठक : क्यानको चुनाव १० र ११ गते हुने

काठमाडौं : नेपाल क्रिकेट संघ क्यानको निर्वाचन असोज १० र ११ गते हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद, स्वतन्त्र कमिटी र आइसिसीका प्रतिनिधिहरुबीच भएको आजको बैठकले क्यान निर्वाचनको मिति तोकेको हो।

त्यसो त नेपाल क्रिकेट संघ क्यान चुनावको विवाद नयाँ होइन। क्यान निलम्बन भएको वर्षौं भइसक्दा पनि विभिन्न कारणले निलम्बन फुकुवा हुने मिति पछि सर्दै आएको थियो।

पछिल्लो समय राष्ट्रिय खेलकुद परिषदले निलम्बन फुकुवाको शर्तको रुपमा रहेको क्यान निर्वाचनमा अड्चन थापेपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसी, आइसिसीले गठन गरेको स्वतन्त्र कमिटी र खेलकुद परिषदबीच आज बैठक काठमाडौंको सोल्टी होटलमा भएको छ।

बैठकमा विशेष गरी ४ वटा विषयमा छलफल भएको राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवालले बताए।

आज बैठकमा छलफल भएका विषय र सहमतिहरु यस्ता छन्।

१) क्यानको निर्वाचन असोज १० र ११ गते हुने।

२) क्यानको निर्वाचन स्वतन्त्र निस्पक्ष र धाँधलीरहित बनाउने

३) अक्टोबर १२ र १३ मा बस्ने आइसिसीको बैठकमा नेपालको प्रतिबन्ध फुकुवाका लागि कुरा उठाउने। राखेप सदस्यसचिव सिलवालका अनुसार नेपालमाथिको प्रतिबन्ध फुकुवा गर्न आइसिसी सकारात्मक देखिएको छ।

४) नेपाली क्रिकेटको भौतिक तथा व्यावसायिक सुधार गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टुर्नामेन्टबारे छलफल। त्यस्तै नेपाली अम्पायर, अफिसिय ललगायतलाई ट्रेनिङ् र वर्कसपको माध्यमबाट अपडेटेड बनाउने।

यसअघि क्यान निर्वाचनका लागि आइसिसीले गठन गरेको स्वतन्त्र कमिटीले क्यानको केन्द्रीय चुनाव असोज ३ र ४ गते गर्ने निर्णय गरेको थियो। तर, राष्ट्रिय खेलकुद परिषदले आफूसँग अनुमति नलिइ गरेको चुनाव मान्य नहुने बताएको थियो। आजको बैठकका लागि आइसिसीका प्रतिनिधिहरु इमरान ख्वाजा र उमर शेख नेपाल आएका थिए।

स्वतन्त्र कमिटीले जिल्ला र प्रदेशको निर्वाचनपछि केन्द्रको निर्वाचनको तयारी सुरु गरेको थियो।

जिल्ला र प्रदेशमा सम्पन्न चुनावले केन्द्रीय चुनावका लागि प्रतिनिधि छनोट गरिसकेको छ। तर, अर्कोतर्फ खेलकुद परिषदले आफ्नो अनुमति नलिइ गरेको चुनाव अमान्य हुने बताएपछि क्यानको निलम्बन फुकुवामा थप अन्योल उत्पन्न भएको छ।

विवादको विभिन्न शृङखलापछि क्यान निलम्बन फुकुवाको नजिक पुगेको छ। निर्वाचन सम्पन्न भएमा क्यान निलम्बन फुकुवाको बाटो खुल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell