PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

वडाध्यक्षलाई कारबाही नगर्न सत्तारुढ दलका सांसदको चेतावनी, 'बाँके घटनालाई बबाल बनाएर कांग्रेसले बबन्डर मच्चाए'



हेम रोकाहा

वडाध्यक्षलाई कारबाही नगर्न सत्तारुढ दलका सांसदको चेतावनी, 'बाँके घटनालाई बबाल बनाएर कांग्रेसले बबन्डर मच्चाए'

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का बाँकेका सांसद नन्दलाल रोकाले बाँके घटनामा खजुरा नगरपालिका १ का वडाध्यक्ष सुमन मल्ल निर्दोष रहेको बताएका छन्। आजको संसदमा उनले मल्ल निर्दोष रहेको दाबी गर्दै कांग्रेसले आन्दोलन गरे आफू पनि आन्दोलन गर्न तयार रहेको चेतावनी दिए।

कांग्रेसको जागरण अभियानका क्रममा बाँकेकी सभापति किरण कोइराला शुक्रबार घाइते भएपछि कांग्रेसले आन्दोलन गर्दै आएको छ। कोइरालालाई खासै केही नभएको उल्लेख गर्दै सांसद रोकाले भने, 'नेपाली कांग्रेसका स्थानीय सभापतिलाई पनि सोधेको छु। पुलिस इन्स्पेक्टरले के भनेको छ भने धकेलाधकेल यताउता केही नभएको, स्कर्टिङ गरेर पार्टी कार्यालय पुर्‍याएको छ। पार्टी कार्यालय पुर्‍याउन्जेलसम्म सभापतिज्यू तपाईलाई केही भएको छ भनेर सोध्दा छैन बाबु मलाई ठीक छ। वडाध्यक्ष बेकसुर छ। उसलाई मुद्दा लगाउने भन्ने कुरा हामी सहन सक्दैनौ।' 

रोकाले सीतापुर आफ्नै क्षेत्र भएको उल्लेख गर्दै उनले त्यहाँ कुनै हातपातसमेत नभएको दाबी गरे। भने, 'त्यहाँ वास्तविक कुरा एउटा हुन्छ। तर यहाँ धेरै बबाल हिसाबले आएको छ। भुवन सिह थापा भन्ने मान्छे १ नम्बर वडाका नेपाली कांग्रेसका कार्यकर्ता, अस्लाम भाट वडा नम्बर ७ का नेपाली कांग्रेसकै कार्यकर्ता हुन्। अस्लाम भाटले के काम गरेको रहेछ भने थापाको फेसबुकबाट आफूले हालेर बबन्डर मच्चाएको रहेछ। थापाले पछि थाहा पाएपछि तैंले किन यस्तो गरिस् भनेर राधापुर चौकीमा उजुरी दिएको रहेछ। त्यो उजुरी दिइसकेपछि त्यै थापाको पक्षमा लागेर चार जना केटा आएका छन्। पहिले चारजना केटा भित्र पसे। पछि एक जना बाहिर निस्केर तीन जना केटाहरु त्यहाँ पसेका छन्। कसैले पनि त्यहाँ हातपात गरेको छैन। हातपात गर्न दिने त कुरा पनि भएन।'

घटनामा कसैले कसैलाई नछोएको उनको दाबी थियो। 'करिब डेढ दुई सयको जमघटमा त्यो तीनजना केटाकेटीले हातपात गर्न सक्दैन। त्यहाँ कुनै पनि घटना घटेको छैन। कसैले कसैलाई छोएकै छैन,' सांसद रोकाले भने, 'नेपाली कांग्रेस जिम्मेवार पार्टी हो। घटनालाई राम्रो ढंगले अलिकति सोचेर जानुपर्थ्यो। त्यसै आक्षेप लगाएर। तीन जना केटा त्यहाँ गएर गल्ती गरे भनेर पार्टीले रियलाइज पनि गरिसकेको छ। विज्ञप्ति पनि निकालिसकेको छ। त्यो भन्दा बढि केही भएको छैन।'

उनले असत्य कुरा नस्विकार्ने उल्लेख गर्दै आन्दोलन गर्नसमेत तयार रहेको चेतावनी दिए। भने, 'कांग्रेसले आन्दोलन नै गर्छ भने हामी पनि आन्दोलन गर्न तयार छौं। हामी सत्य कुरा स्विकार्छौं। असत्य स्विकार्दैनौं। समिति गठन गरेर छानबिन गरेपछिमात्र दोषीलाई कारबाही गर्नुपर्छ। मेरो यही माग छ।
 
बाँके घटना लिएर खजुरा नगरपालिका १ का वडाध्यक्ष सुमन मल्लविरुद्ध जाहेरी दर्ता भएपछि कांग्रेस संसदको अवरोध हटाउन तयार भएको थियो। त्यसलगत्तै आज कांग्रेसकी सचेतक पुष्पा भुसालले आफ्नो धारणा राखेकी थिइन्। उनको धारणा लगत्तै सांसद रोकाले आफ्नो भनाइ राखेपछि कांग्रेसले संसद अवरोध गर्‍यो। कांग्रेसको अवरोध नरोकिएपछि प्रतिनिधि सभाको बैठक बुधवार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell