PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

लुक्लाबाट उडेका ८ हेलिकप्टरको आकस्मिक अवतरण, चार वटा काभ्रेको धानखेतमा

लुक्लाबाट उडेका ८ हेलिकप्टरको आकस्मिक अवतरण, चार वटा काभ्रेको धानखेतमा

पहिलोपोस्ट /पहिलोपोस्ट


लुक्लाबाट काठमाडौं उडान गरेका १० मध्ये ८ वटा हेलिकप्टर प्रतिकूल मौसमका कारण विभिन्न ठाउँमा आकस्मिक अवतरण गरेका छन्।

मौसम खराबीका कारण भिजिबिलिटी कम भएपछि सिम्रिकका दुई वटा, मनाङ, कैलाश, श्री, अल्टिच्युड र एयर डाइनेस्टीको एउटा हेलिकप्टर सुरक्षित अवतरण गरेको हेलिकप्टर सोसाइटी नेपालका महासचिव योगराज कँडेलले बताए।

उनका अनुसार १३ नटिकल माइल अन्तर्गत सिम्रिक, मनाङ र कैलाशको हेलिकप्टर पाँचखालमा अवतरण गरेको हो भने अल्टिच्युड र एयर डाइनेस्टीको भने २५ नटिकल माइलमा रहेको सुर्केमा अवतरण गरिएको हो।

‘भिजिबिलिटी कम भएपछि हेलिकप्टर सुरक्षित अवतरण गर्ने यो सामान्य र स्वाभाविक प्रक्रिया हो,’ कँडेलले भने, ’भिजिबिलिटीमा सुधार आउनेबित्तिकै हेलिकोप्टरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन्।'

काभ्रेका एसपी जयराम सापकोटाले चार वटा हेलिकप्टर धान खेतमा आकस्मिक अवतरण गरिएको जानकारी दिए।

‘धान खेतमा आकस्मिक अवतरण भएको जानकारी पाएका छौँ। कुनै पनि क्षति भएको छैन। चालकले मौसममा खराबी आएका कारण आकस्मिक अवतरण गरेको जनाएका छन्,’ सापकोटाले भने।

एसपी सापकोटाका अनुसार सिम्रिक एयरका दुईवटा, मनाङ र कैलाश एयरका एक/एक हेलिकप्टर आकस्मिक अवतरण गरिएको हो।

एक हेलिकप्टर सञ्चालकका अनुसार मौसममा खराबीका कारण भिजिबिलिटी कम भएकाले सुरक्षित स्थानमा हेलिकप्टर अवतरण गरिएको हो।

त्रिभु्वन अन्तर्राष्ट्रिय विमानस्थलको टावरले भिजिबिलिटी कम भएको जानकारी दिएपछि सुरक्षित स्थानमा हेलिकोप्टर अवतरण गरिएको हो।

विमानस्थल स्रोतका अनुसार बिहान कैलाशको एउटा हेलिकप्टर भने विमानस्थलमै अवतरण गरेको थियो।

'लुक्लाबाट बिरामी लिएर आएको हेलिकप्टर ग्राण्डीमा पुर्‍याएर विमानस्थलमा अवतरण गरेको थियो,' ती कर्मचारीले भने।

काभ्रेमा अवतरण गरिएका हेलिकप्टरका यात्रुहरुलाई नगरपालिकाले गाडी व्यवस्थापन गरी काठमाडौँ पठाउने तयारी गरेको छ। 

फोटोः- सरोज श्रीको ट्वीटरबाट र कपिल कोइराला



ट्रेन्डिङ पोस्ट

Ncell