PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

साफ यू १८ : प्रतियोगितामा १ करोड ९० लाख खर्च हुने अनुमान



मुकुन्द घिमिरे

साफ यू १८ : प्रतियोगितामा १ करोड ९० लाख खर्च हुने अनुमान
फोटो : एन्फा।

काठमाडौं : दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ) को कार्यक्रम अनुसार अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गर्न लागेको साफ यू १८ का लागि १ करोड ९० लाख अनुमानित लागत लाग्ने बताएको छ।

प्रतियोगिता असोज ३ गतेबाट सुरु हुँदैछ। प्रतियोगिताका सबै खेल हल्चोकस्थित एपिएफको रंगशालामा सम्पन्न हुने एन्फाले जनाएको छ।

आज पत्रकार सम्मेलनमार्फत एन्फाले साफ आयोजनाबारे जानकारी दिएको छ। प्रतियोगितामा सहभागी हुने टिम र म्याच अफिसियललाई साफबाट बसोबास खर्च, स्थानीय यातायात र आयोजनाको लागि साफबाट १ लाख ६० हजार अमेरिकी डलर प्रदान गरिने एन्फाले बताएको छ। अपुग रकम एन्फाले आफ्नै श्रोतबाट परिपुर्ति गर्ने जनाएको छ।

प्रतियोगिताका लागि एन्फाका उपाध्यक्ष वीरबहादुर खड्काको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ। प्रतियोगितामा टिकटको मुल्य ५०० रुपैयाँ राखिएको छ। प्रतियोगिताको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजन प्लसबाट हुनेछ।

यू १८ का लागि नेपाली खेलाडीको घोषणा

दक्षिण एसियाली खेलकुद अन्तर्गतको १८ वर्ष मुनिको फुटबलका लागि नेपाली टोलीको घोषणा भएको छ। मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले आज २३ सदस्यीय टोली घोषणा गरेका हुन्।

पोखरामा आठ दिन लामो अभ्यासपछि मुख्य प्रशिक्षक श्रेष्ठले नेपाली टोलीको घोषणा गरेका हुन्।

गोलकिपर रोहित कार्की र मिडफिल्डर दिपेश गुरुङ भने टोलीमा पर्न सकेनन्। उनीहरु अन्तिम छनोटबाट बाहिरिएका हुन्।

साफ यू १८ मा नेपालको पहिलो खेल असोज ३ गते माल्दिभ्सविरुद्ध हुनेछ। त्यस्तै, दोस्रो खेलमा नेपालले ५ गते भुटानसँग प्रतिस्पर्धा गर्ने छ। प्रतियोगितामा नेपाल समूह 'ए' मा रहेको छ।

समूह 'ए' मा नेपालसहित भुटान र माल्दिभ्स रहेका छन्। यता समूह 'बी'मा भने बंगलादेश, भारत र श्रीलंका रहेका छन्। प्रतियोगिता असोज ३ गतेदेखि १२ गतेसम्म सशस्त्र प्रहरीको मैदानमा हुनेछ।

तेस्रो संस्करणको रुपमा आयोजना हुन गइरहेको उक्त प्रतियोगिताको नेपाल साबिक विजेता हो। नेपालले पहिलो र दोस्रो संस्करणमा नै भारतलाई पराजित गर्दै उपाधि हात पारेको थियो।

यस्तो छ नेपाली टिम :

गोलकिपर : विशाल सुनार, सूर्य अधिकारी, पूजन होना

डिफेन्डर :  विशाल बस्नेत, रन्दीप पौडेल, पदम भट्टराई, सुजन शर्मा, नवीन गुरुङ, रोशन दोङ, एलिक रुम्बा, अन्जल महर्जन

मिडफिल्डर : शिशिर लेखी, रोशन राना मगर, आकाश बूढा मगर, जय गुरुङ, मनिष थापा, कुशल फुँयाल, नितिन थापा

फरवार्ड : ब्रिजेस चौधरी, सचु गुरुङ, कैलाश लामिछाने, दर्शन गुरुङ, मनिष डाँगी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell