PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

'२९ :३५' बजे ढालिएको य:सिंलाई टेकुमा लगेर विसर्जन गरियो, हेर्नुस तस्विरमा

'२९ :३५' बजे ढालिएको य:सिंलाई टेकुमा लगेर विसर्जन गरियो, हेर्नुस तस्विरमा

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं: हनुमानढोकाको काल भैरव अगाडी ठड्याइएको य:सिं आज बिहान ढालिएसँगै काठमाडौंमा ८ दिन लामो येँया: (इन्द्रजात्रा) विधिवत रुपमा सकिएको छ।

हरेक वर्ष नानिचा:या: (बीचको टोलमा रथयात्रा) को रात शुभ साइतमा हनुमानढोकामा ठड्याइएको य:सिं ढालेर टेकु दोभानमा लगेर विसर्जन गरेसँगै येँया: विधिवत् रुपमा सम्पन्न हुने गर्छ। तर यसपटक भने येँया:को विधिवत् समापन नानिचा:या: को दिन मंगलवार भएन।

यसपटक य:सिं ढाल्ने साइत जुर्‍यो मंगलवार २९:३५ बजे । ज्षोतिष शास्त्रको हिसावमा २९:३५  भनेको बुधवार बिहान ५:३५ हुने रहेछ।

पञ्चांग निर्णायक समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलका अनुसार ज्योतिषशास्त्रले सूर्योदय नभएसम्म नयाँ दिन सुरु भएको नमानिने भएकाले असोज १ गते बिहान ५ बजेर ३५ मिनेटको शुभ साइत निकालिएको हो। आज बिहान ५ बजेर ५० मिनेटमा सूर्योदय बिहान भएको थियो।

उनी यःसिं ढाल्ने साइत जुराउँदा नक्षत्र नमिलेकाले यसपटक बिहान साइत निस्किएको बताउँछन्। उनले भने, 'हामीलाई धरणी नक्षत्र चाहिन्थ्यो। तर ३१ गतेको रात अश्विनी नक्षत्र थियो। यस्तै, नक्षत्रसँगै य:सिं ठड्याउने दिनदेखिको बार, सूर्योदय, सूर्यास्त, चौथी तिथि सबै मिल्नुपर्छ। नक्षत्र नमिलेकोले यसदिन बिहानको साइत जुरेको हो।'

य:सिं ढालेपछि त्‍यसलाई हनुमानढोकाबाट मरु, चिकंमुग:,मजिपात, ह्युमत हुँदै टेकु दोभानमा लगेर विर्सजन गरिएको थियो।

य:सिंलाई टेकु दोभान लगेर सेलाउने पहिलादेखि कै प्रचलन रहेको केन्द्रीय मानन्धर संघका सचिव गजेन्द्र मानन्धरले बताए। भने 'पहिला पहिला दोभानमा धेरै जोगीबाबाहरु हुन्थे। त्यहाँ छोडिएको य:सिं उनीहरुले प्रयोग गर्थे। आजकल बाबाहरु देखिँदैनन्। त्यसैले अरुहरुले नै काठ लिने गरेका छन्।'

यसअघि मंगलवार नानिचा:या अर्थात् बीचको टोलमा जीवित देवी कुमारीसँगै जीवित कुमार देवताहरु गणेश र  भैरवको रथयात्रा गरिएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell