काठमाडौं : विश्वविख्यात आँखा सर्जन डा. सन्दुक रूइतको जीवनी नेपाली भाषामा प्रकाशित हुने भएको छ। अस्ट्रेलियन पत्रकार अली ग्रिपरले रुइतको बारेमा लेखेको किताब 'सन्दुक रूइत' को नेपाली अनुवाद असोज ११ गते सार्वजनिक हुने बताइएको छ। सो किताबलाई खगेन्द्र सङ्ग्रौलाले नेपालीमा अनुवाद गरेका छन्।
म्यागासेसे, पद्मभूषण जस्ता प्रतिष्ठित पुरस्कारबाट सम्मानित रुइतले आफ्नो बारेमा अङ्ग्रेजीमा लेखिएको जीवनी नेपाली अनुवाद हुँदा एकदमै हर्षित भएको बताएका छन्। पुस्तकले मानिसलाई परोपकार वा सत्कर्मको बाटोमा लाग्न प्रेरित गर्यो भने आफ्नो जीवनी सार्थक हुने उनको तर्क छ।
पुस्तकालाई नेपालीमा अनुवाद गरेका खगेन्द्र सङ्ग्रौला यो पुस्तकबाट रूइतको नागबेली जीवनयात्रा बहुआयामिक विशिष्टतायुक्त, प्रेरणादायी एवम् अनुकरणीय जीवनबारे बुझ्ने अवसर मिल्ने बताउँछन्। रुइत जस्ता उत्कृष्ट मानिसको भव्य जीवन कथा अनुवाद गर्नु आफ्नो जीवनको सुखद र सार्थक क्षणहरु रहेको उनले बताए।
उक्त पुस्तक अस्ट्रेलियन प्रकाशन गृह एलेन एन्ड अनविनले पहिलो पटक अङ्ग्रेजीमा प्रकाशन गरेको हो। उक्त प्रकाशन गृहसँग अनुवाद अधिकार लिएर फाइनप्रिन्टले नेपालीमा छापेको हो।
डा. रूइतको जीवनी लाखौं मानिसलाई आँखाको ज्योति प्रदान गर्ने एक नेत्र चिकित्सकको प्रेरणादायी कथा रहेको प्रकाशकले जनाएको छ। संसारका चिकित्सकीय संस्थापन पक्षसँग निरन्तर जुध्दै सबैभन्दा गरिब र असहाय मानिसलाई नेत्रज्योति उपहार दिएर तिनको जीवनलाई अँध्यारोबाट उज्यालोतिर मोडिदिने अद्भूत डा. रूइतको जीवन्त एवम् रोचक कथा यस पुस्तकमा समेटिएको छ।