PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

बाँके घटनाको दोषी उम्कन पाउँदैनन् : कानुनमन्त्री ढकाल



पहिलोपोस्ट

बाँके घटनाको दोषी उम्कन पाउँदैनन् : कानुनमन्त्री ढकाल

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज बाँके घटनाको विषयमा सरकारको जवाफ माग गरेपछि कानुनमन्त्री भानुभक्त ढकालले दोषी उम्कन नपाउने जवाफ दिएका छन्।

सरकारले चित्त बुझ्दो जवाफ नदिए सदन अवरुद्ध गर्ने तयारीमा रहेको कांग्रेसले कानुनमन्त्रीको जवाफपछि सदनमा अवरोध गरेन।

कांग्रेसका तर्फबाट दिलेन्द्रप्रसाद बडुले बाँके घटनाको दोषीलाई कारबाहीका लागि सरकारबाट प्रतिबद्धता आउनुपर्ने माग गरेका थिए।

त्यसपछि कानुनमन्त्री ढकालले सरकारका तर्फबाट जवाफ दिएका थिए। मन्त्री ढकालले भने, 'घटनामा संलग्न व्यक्तिहरुलाई कारबाहीको लागि दिएको निवेदन दर्ता भइसकेका छन्। गल्ती नगरेका कोही फस्दैनन्, गल्ती गरेका कोही उम्किँदैनन्। दोषीलाई कानुनको दायरामा ल्याएर कारबाही गर्नका लागि सरकार प्रतिबद्ध छ।'

कांग्रेसको जागरण अभियानका क्रममा बाँकेकी सभापति किरण कोइराला गत भदौ २७ गते घाइते भएपछि कांग्रेसले सदन र सडकबाट आन्दोलन गर्दै आएको थियो। 

सरकार र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच आइतवार संसद सुचारु गराउने सहमति भएको थियो। बाँके घटनालाई लिएर खजुरा नगरपालिका १ का वडाध्यक्ष सुमन मल्लविरुद्ध जाहेरी दर्ता भएपछि कांग्रेस संसदको अवरोध हटाउन तयार भएको थियो।

सहमति अनुरुप संसद सुचारु भएपनि नेकपाका सांसद नन्दलाल रोकाले आपत्ति जनाएपछि कांग्रेसले संसद अवरुद्ध गरेको थियो। सोमबार संसद स्थगित भएपछि सभामुखले आजको लागि सदन सारेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell