PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कर्णाली प्रदेशले सुरु गर्‍यो विपद दुर्घटना बीमा, यस वर्ष १० हजार घरधुरी लाभान्वित



पी बी खड्का

कर्णाली प्रदेशले सुरु गर्‍यो विपद दुर्घटना बीमा, यस वर्ष १० हजार घरधुरी लाभान्वित

सुर्खेत : कर्णाली प्रदेश सरकारले कर्णालीवासीको सामुहिक विपद दुर्घटना बीमा कार्यक्रमको शुरुवात गरेको छ। प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख भएको विपद दुर्घटना बीमा कार्यक्रमको औपचारिक सुरुवात भएको हो।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव वीरेन्द्रकुमार यादव र राष्ट्रिय बीमा कम्पनी लिमिटेडका प्रमुख डिल्लीराज अर्यालले सहमति पत्रमा हस्ताक्षर गरेका छन्।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा कार्यान्वयन गरिएको बीमा कार्यक्रम अन्तर्गत कर्णालीका हरेक नागरिकले १ लाख रुपैयाँको निशुल्क बीमा सुविधा प्राप्त गर्ने जनाईएको छ। त्यसैगरी विपद दुर्घटनाका कारण घरमा क्षति पुगेमा प्रतिघर ५ लाख रुपैयाँको बीमा सुविधा प्राप्त गर्ने व्यवस्था गरिएको छ।

सरकारले विमा कार्यक्रमकै लागि चालु आर्थिक वर्षमा एक करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ। सामुहिक रुपमा गरिने बीमाको प्रिमिएम वापत कर्णाली प्रदेशको कुल जनसंख्या १७ लाख ७० हजार मानेर प्रतिव्यक्ति सात रुपैयाँका दरले हुन आउने रकम आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बीमा कम्पनीलाई भुक्तानी गर्ने भएको छ। प्रदेश सरकारले चालु आर्थिक वर्षमा झण्डै दश हजार बढी घरधुरीको बीमा गर्ने जनाएको छ।

बीमा कार्यक्रमको सुरुवात गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले राज्यले प्रदान गर्ने सवै खाले सेवासुविधा सरल रुपमा प्राप्त गर्नुपर्ने बताएका छन्। मुख्यमन्त्री शाहीले विपदको उच्च जोखिममा रहेको कर्णालीका नागरिकले हरेक वर्ष ठुलो संख्यामा ज्यान गुमाउनु पर्ने अवस्थालाई हेरेर सरकारले राहत स्वरुप विमा कार्यक्रम शुरु गरेको बताए।

त्यस्तै, आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले बीमा कार्यक्रमलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।

‘बीमा कार्यक्रमलाई सफल र सार्थकता दिन आम सरोकारवाल निकायको साथ र सहयोग अपरिहार्य हुन्छ’ उनले भने, ‘ऐतिहासिक बीमा कार्यक्रम भएकाले उच्च जोखिममा रहेका कर्णालीका नागरिकलाई सहयोग हुने छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell