PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

गाडीको आयातप्रति अनुदार अर्थमन्त्रीकै कार्यकालमा चोरबाटोबाट भित्रियो महँगो अडी



खेमराज श्रेष्ठ

गाडीको आयातप्रति अनुदार अर्थमन्त्रीकै कार्यकालमा चोरबाटोबाट भित्रियो महँगो अडी

काठमाडौं : तीन साताअघि काठमाडौंको सडकमा अडीका कार गुडेको खबर सार्वजनिक भयो। विदेशमा समेत महँगो पर्ने यो गाडी त्यतिखेर भित्रियो जतिखेर अर्थ मन्त्रालयको नेतृत्व सम्हालिरहेका छन् मन्त्री युवराज खतिवडाले। गाडी आयात भएर अर्थतन्त्रमा नकारात्मक असर पारेको बताइरहने मन्त्री खतिवडाकै कार्यकालको यो अवधिमा यो गाडी भित्रिनु आफैँमा रोचक विषय बन्यो। गाडी आयात 'चोर बाटो'बाट भएपछि प्रकरण रोचक नहोस् पनि कसरी?   

बजेट कार्यान्वयन गर्न संसदबाट पारित आर्थिक ऐन २०७६ को अनुसूची १२ मा सवारी साधन पैठारी सम्बन्धी विशेष व्यवस्था छ। यो व्यवस्थाको व्याख्या गर्दै लेखिएको छ,

(१) सवारीका साधनहरु पैठारी गर्दा देहायका शर्तहरु पालना गर्नु पर्नेछ :–

(क)  निर्माता कम्पनी वा निजको आधिकारिक बिक्रेताबाट खरिद गरिएका नयाँ सवारी वा ढुवानीका साधनहरु नेपालस्थित आधिकारिक बिक्रेताहरुले मात्र पैठारी गर्न पाउने छन्।

यो व्यवस्थाको व्याख्या गर्दै अर्थ मन्त्रालयका एक सहसचिवले भने, 'यो व्यवस्था परिपालना गरेर नयाँ सवारी साधन आयात गर्न नेपालमा दुई वटा  बाटा छन्। पहिलो बाटो हो, निर्माता कम्पनीले नेपालमा कुनै कम्पनीलाई आधिकारिक बिक्रेता नियुक्त गरेर त्यसमार्फत सवारी साधनको आयात गर्ने।'

ती सहसचिवका अनुसार यो व्यवस्था परिपालना गर्नका लागि दोस्रो बाटो हो, निर्माता कम्पनीले नेपालका लागि तोकेको विदेशस्थित आधिकारिक बिक्रेताबाट नेपालीस्थित आधिकारिक बिक्रेता नियुक्त कम्पनीले सवारी साधन आयात गर्ने।

उनी भन्छन्, 'यी दुई प्रक्रियाबाहेक नेपालमा नयाँ सवारी साधन आयात गर्नका लागि अर्को कुनै पनि तेस्रो प्रक्रिया छैन।'

जबकि यही दफाको खण्ड 'ङ'मा लेखिएको छ - यस उपदफाको खण्ड 'क' (माथि उल्लेखित व्यवस्था) वा खण्ड 'ख' (प्रयोग भैसकेका सवारी साधन पैठारी गर्न नपाइने व्यवस्था) मा उल्लिखित शर्तहरु उल्लङ्घन गरी पैठारी गरिएका सवारी वा ढुवानीका साधनहरु जफत गर्न सकिनेछ।

तर, अहिले नेपालका सडकमा माथि तोकिएको दुवै पक्रिया पूरा नगरेका जर्मन कम्पनी अडिका विद्युतीय सवारी साधन निर्वाध गुडिरहेका छन्।

नेपालको भन्सार पार भैसकेको र उपभोक्ताको हातमा यी गाडीको स्टेयरिङ्ग पुग्दा पनि अर्थमन्त्री डा. युवराज खतिवडाले नेतृत्व गरिरहेको भन्सार विभागको तालुकदार अर्थ मन्त्रालय चुपचाप छ।

जफतसम्म गर्न सकिने व्यवस्था हुँदा समेत अर्थमन्त्रालयले न त यो गाडीको जाँचपास गर्ने भन्सार विभागका कर्मचारीलाई कारवाही गरेको छ, न त आयातकर्ता कम्पनीलाई नै।

कसरी भए अडीका गाडी आयात

नेपालमा गत फागुनमा रमेशकुमार जालान, अदिती अग्रवाल, विपिनकुमार खेतान (गुप्ता) र राम अग्रवाल चार जना सेयर साझेदार मिलेर एउटा कम्पनी खडा गरे- प्रिन्सा अटोमोटिभ प्रा.लि.। जर्मन अडीका गाडी यही प्रिन्सा कम्पनीले नेपालमा आयात गरेको हो।

अडीको गाडी नेपाल पठाउने कम्पनी हो, बेलायतमा दर्ता भएको तीन सय पाउण्ड चुक्ता पुँजी भएको जेम्सन कार्टर लिमिटेड। राजेश वेदी सञ्चालक रहेको यो कम्पनीको वार्षिक कारोबार केही लाख पाउण्ड मात्रै छ।

जेम्सन कार्टर लिमिटेडले (इम्पोर्ट माक्युज) नामको एउटा वेब पोर्टल चलाउँछ, यो वेब पोर्टलका अनुसार कम्पनी बेलायतमा एफएसबीको सदस्य हो। एफएसबी अर्थात् फेडरेसन अफ स्मल बिजनेस।

कानुनी व्याख्या अनुसार प्रिन्सा अटोमोटिभले अडीका गाडी नेपालमा आयात गर्न पाउँदैन।

कारण हो, अडीले नेपालका लागि प्रिन्सालाई आधिकारिक बिक्रेता नियुक्त गरेको छैन्। त्यसै कारण अडीको गाडी आयात गर्न प्रिन्साका लागि पहिलो बाटो बन्द छ।

दोस्रो बाटोबाट नेपालमा गाडी आयात गर्नका लागि अडिले जेम्सन कार्टरलाई नेपालको आधिकारिक बिक्रेता नियुक्त गर्नुपर्दथ्यो। त्यस आधारमा जेम्सन कार्टरले प्रिन्सालाई नेपालको आधिकारिक बिक्रेता नियुक्त गरेको हुनुपर्छ।

तर, अडीबाट आधिकारिक बिक्रेताको नियुक्ति नै नपाएको जेम्सन कार्टरले भने प्रिन्सालाई नेपालको आधिकारिक बिक्रेता नियुक्त गरेको छ। र, यही कागजातका आधारमा वीरगञ्जस्थित सुख्खा बन्दरगाहले अडी गाडीको जाँचपास गरेको थियो।

प्रिन्साले ल्याएको सवारी आर्थिक ऐन अनुसार नभएको भन्सार विभागका निर्देशक ज्ञानेन्द्रराज ढकालले बताए। उनका अनुसार नेपालमा सवारी भित्र्याउने कम्पनीले मूल उत्पादक कम्पनीसँग आधिकारिक बिक्रेताको प्रमाणपत्र लिनुपर्ने छ।

यदि, आधिकारिक बिक्रेताबाट ल्याए सो कम्पनीलाई मूल कम्पनीले नेपालका लागि आधिकारिक बिक्रेताको प्रमाणपत्र समेत पेश गर्नु पर्ने उनले बताए।

स्रोतका अनुसार प्रिन्साले आयात गरेको गाडी गैरकानुनी रुपमा भन्सार पार भएको पाइएपछि अर्थमन्त्रालय अहिले थोरै शर्तक भने भएको छ। तर, छानविन गरेर भन्सार जाँचपास गर्ने कर्मचारी र गैरकानूनी रुपमा आयात गर्ने कम्पनीलाई कारवाही गर्ने विषयमा भने ठोस प्रगति भने भएको छैन।

गैरकानूनी रुपमा गाडी आयात भएको विषयमा अर्थ मन्त्रालयमा गाडी व्यवसायीले मौखिक उजुरी गरेका थिए। यही मौखिक उजुरीपछि अर्थ मन्त्रालयले आयात हुने गाडीको कागजात हेर्न मौखिक रुपमै भन्सार विभागलाई निर्देशन आएको विभाग स्रोतले जानकारी दियो। निर्देशनपछि भन्सार विभागले यही प्रक्रियाबाट आयात गरेका थप गाडीको भन्सार जाँचपास भने रोकिदिएको स्रोतको दावी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell