PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

नजिकिँदै १३औं साग: पूरा होला त भौतिक पूर्वाधार निर्माण?



मुकुन्द घिमिरे

नजिकिँदै १३औं साग: पूरा होला त भौतिक पूर्वाधार निर्माण?

काठमाडौं: दक्षिण एसियाली खेलकुद (साग) नजिकिँदै छ। पटकपटक साग आयोजनाको मिति पछाडि सारेकाले समयमै आयोजना गर्न नेपालमाथि चर्को दबाब छ। त्यसैका कारण एकातर्फ सागका लागि खेलाडीको छनोट जारी छ भने अर्कातिर पूर्वाधार निर्माण पनि चलिरहेकै छ।

साग आयोजना नेपालका लागि प्रतिष्ठाको विषय हो। अन्तर्राष्ट्रियस्तरका खेलाडी सहभागी हुने भएकाले त्यही स्तरमा पूर्वाधार तयार गर्न नेपाललाई धौधौ परेको देखिन्छ। आखिरी समयमा मात्र काम गर्ने नेपालीको बानीले यसपटक पनि प्रतियोगिता सम्पन्न गर्न हम्मेहम्मे बनाउँदैछ।

यता भर्खरै सम्पन्न ओलम्पिक कमिटीको चुनावले प्रतिनिधिसभाका सांसदसमेत रहेका जीवनराम श्रेष्ठलाई अध्यक्ष चुनेको छ। कमिटीको निर्वाचनसँगै नेपाली खेलकुदमा लामो समयसम्म कहिले राजनीति, कहिले समानान्तर कमिटी विवादजस्ता समस्याबाट मुक्त हुने अवसरको रुपमा हेरिएको छ। यसको लागि दक्षिण एसियाली खेलकुद सफलतापूर्वक सम्पन्न गर्नु नै पहिलो चुनौती हो। साग आयोजनामा पूर्वाधार निर्माण सँगसँगै व्यवस्थापनमा देखिएको मतभेद तथा कार्यक्षेत्रमा समन्वय अभावलाई हटाएर खेलकुद नेतृत्वले आफूलाई पुष्टि गर्ने मौकाको रुपमा हेर्न सकिन्छ।

त्यसो त पछिल्लो समय साग तयारीमा खेलाडी, खेल संघ, खेलुकद परिषदलगायतले चासो बढाएको देखिन्छ। पछिल्लो समय त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको पुनर्निर्माणको गति बढेको छ। यसका लागि नजिकिँदै गरेको सागको चर्को दबाब छ।  

मंगलबार प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य युवा तथा खेलकुद उपसमितिका संयोजक तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ लगायतले निर्माणाधीन रंगशाला तथा कभर्ड हलको निरीक्षण गरे।

निरीक्षणमा समितिका सदस्यहरुलाई समयमै पूर्वाधार निर्माण सम्पन्न हुने भनेर आश्वस्त पारेको राष्ट्रिय खेलकुख परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले बताए। उनले रंगशाला, कभर्ड हल लगायत साग आयोजना हुने स्थानको भौतिक पूर्वाधार निर्माणको प्रगतिबारे जानकारी दिएका थिए।

राखेप सदस्य सचिव सिलवाल भौतिक पूर्वाधारतर्फको लगभग सबै कामहरु सकिएको दाबी गर्छन्। बाँकी रहेको काम पनि साग सुरु हुनुभन्दा महिना दिन अगावै सम्पन्न हुने उनको दाबी छ।

‘कभर्ड हल लगभग सकिएको छ। दशरथ रंगशाला यही कार्तिकभित्र सबै सकिने छ। त्यस्तै, सातदोबाटोको कार्तिक १५ भित्र सबै सकिनेछ,’ सदस्यसचिव सिलवालले भने, ‘दशरथ रंगशालाको हकमा एउटा भिआइपी प्याराफिट निर्माण गर्न बाँकी छ, एकातिर चेयरहरु राख्न बाँकी छ, प्याराफिटको स्ट्रक्चर र त्यसमाथि फ्याब्रिक हाल्न बाँकी छ, अरु लगभग सकिएको छ। सानातिना काम मात्र बाँकी छ।’

रंगशालाको अरुतर्फको प्यारापिट बने पनि त्रिपुरेश्वरतर्फको प्यारापिटमा अझै धेरै काम बाँकी रहेको देखिन्छ।

त्यस्तै, कभर्ड हल निर्माणको अन्तिम अवस्थामा रहेको सिलवालले दाबी गरे। संसदीय समितिको निरीक्षणकै क्रममा पनि सदस्य सचिव सिलवालले अन्नपूर्ण अन्तर्राष्ट्रिय ब्याटमिन्टन आयोजना गरेर १३ औं सागका लागि कभर्ड हल तयार रहेको सन्देश दिने बताएका थिए।

पहिलोपोस्टसँग सिलवालले भने, ‘कभर्ड हलमा खासै बाँकी केही छैन, अब लगभग सकिन लागेको हो। यहीँ अन्नपूर्ण ब्याटमिन्टन सुरु हुन लागेको छ। लगभग सबै तयार छ।’

साग आयोजनाको अर्को मुख्य ठाउँ सातदोबाटो हो। त्यहाँ पनि पुनर्निर्माणको काम लगभग सकिएको सिलवालले दाबी गरे। सातदोबाटोमा अहिले कराँते, तेक्वान्दो, बक्सिङ्लगायतको खेलहरुको अभ्यास चलिरहेको छ।

‘सातदोबाटोमा पनि लगभग सबै पूर्वाधार निर्माण भइसकेको छ। अब एउटा हिटिङ स्विमिङपुल बाहेक सबै काम सकिएको छ,’सिलवालले भने।

यता ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले दक्षिण एसियाली खेलकुदको आयोजनामा केन्द्रित हुने बताउँदै आएका छन्।

साग आयोजनाका लागि भौतिक पूर्वाधार निर्माणमा केही गति लिएकै हो। तर, भौतिक पूर्वाधारको निर्माणले मात्र साग आयोजना भइहाल्छ भन्ने चाहिँ होइन। यसको व्यवस्थापकीय पक्ष पनि सबल हुन अत्यन्त जरुरी छ। साग आयोजनामा नवनिर्वाचित कमिटीले कस्तो व्यवस्थापकीय भूमिका खेल्छ, त्यसले पनि महत्व राख्नेछ। लामो समयसम्म आन्तरिक किचलोमा फसेको ओलम्पिक कमिटीको नेतृत्वले कार्यभार सम्हाल्दै गर्दा जिम्मेवारी पनि त्यति नै थपिएका छन्। 

भौतिक पूर्वाधार निर्माण समयमै सम्पन्न गरेर साग आयोजना सफल बनाउन विशेष गरी ओलम्पिक कमिटी, खेलकुद परिषद या मन्त्रालयबीच समन्वय आवश्यक देखिन्छ। क्षेत्राधिकार र दायित्वबोध सम्बन्धित निकायमा साग सफल आयोजना हुनसक्छ। भर्खरै कार्यकाल सम्हालेका राखेप सदस्य सचिव सिलवाल र ओलम्पिक कमिटी अध्यक्षलाई समन्वयात्मक भूमिकामा साग आयोजना सम्पन्न गर्ने चुनौती देखिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell