PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

ट्रयाक खुलेको २५ वर्षपछि बड्डिचौर–बेनीघाट सडकको डिपिआर गरिँदै, चैतसम्ममा टेन्डर आह्वानको तयारी



पी बी खड्का

ट्रयाक खुलेको २५ वर्षपछि बड्डिचौर–बेनीघाट सडकको डिपिआर गरिँदै, चैतसम्ममा टेन्डर आह्वानको तयारी

सुर्खेत : मदन भण्डारी राजमार्ग अन्तर्गत पर्ने सुर्खेतको पश्चिम बड्डिचौर–बेनीघाट सडक स्तरोन्नतीका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को प्रक्रिया अघि बढ्ने भएको छ।

आइतवारदेखि सडकको डिपिआर तयार गर्नका लागि प्राविधिक अध्ययन सुरु गरी काम अघि बढाइएको छ। उक्त सडकको ट्रयाक खोलिएको झन्डै २५ वर्षपछि डिपिआर बनाउन थालिएको हो। विस्तृत परियोजना प्रतिवेदनको जिम्मा सिल्ट सिइआरसी जिइओकम इन्जिनियरिङ कम्पनीले पाएको छ। कम्पनीलाई डिपिआर निर्माण गर्न करिब दुई महिना लाग्ने जनाईएको छ।

विसं २०५१ सालमा ट्रयाक खोलिएको यो सडक करिब २५ वर्षपछि दुई लेनको स्तरोन्नति गर्न लागिएको प्रतिनिधिसभाका सांसद नवराज रावतले जानकारी दिए। सडकको दायाँ–बायाँ करिब ६५ मिटर विस्तार गर्ने गरी दुई लेन सडकको लागि विस्तृत अध्ययन सुरु गरिएको हो।

राजमार्ग अन्तर्गत पर्ने बराहताल गाउँपालिकाको बड्डिचौरदेखि चौकुने गाउँपालिकाको बेनीघाटसम्म करिब ९४ किलोमिटरको दुरी रहेको छ। सडकको बड्डिचौरलाई जिरो पोइन्ट हुने गरी अध्ययन प्रतिवेदनको काम अघि बढाइएको छ भने अध्ययन प्रतिवेदन बुझाएपछि थप काम अघि बढ्ने जनाइएको छ।

आगामी मंसिर मसान्तसम्ममा सडकको डिपिआर तयार गरेर माघ मसान्तसम्ममा वातावरणीय प्रभाव मूल्यांकन (इआइए) गरिने छ। सडकको इआइए गरेलगत्तै चैतसम्म टेन्डर आह्वानको तयारी हुने गरी काम अघि बढेको प्रतिनिधिसभाका सांसद रावतले जनाए। जिल्लाको काल्चे–मालारानीदेखि बेनीघाटसम्मको २३२ किलोमिटरको मदन भण्डारी राजमार्ग अन्तर्गतको काम दुई चरणमा हुने छ।

सर्वोच्चको निकासपछि तेलपानी–भुरीगाउँ सडक बन्ने 

कर्णाली प्रदेश र प्रदेश नम्बर ५ जोड्ने सडक निर्माणमा भएको अवरोध हटेसँगै निर्माणको लागि बाटो खुलेको छ। वीरेन्द्रनगरदेखि बर्दियाको भुरीगाउँ जोड्ने सडकमा पर्ने बर्दिया राष्ट्रिय निकुञ्जमा विवाद हुँदा काममा अवरोध भएको थियो।

बर्दियाको ठाकुरबाबा नगरपालिका–२, भुरीगाउँ अम्रेनीदेखि सुर्खेतको बराहताल गाउँपालिकाको तेलपानी सडकको दुरी ५१ किलोमिटर दुरी रहेको छ ।

२०२५ सालमा जिल्ला पञ्चायतले चिठ्ठीपत्र पुर्‍याउनकै लागि हुलाकी सडकको ट्र्याक खोलेको थियो। अहिले पनि वर्षातको समयबाहेक अन्य समयमा सो सडकबाट साना हलुका सवारीसाधनबाट यात्रु ओहोरदोहोर गर्ने गरेका छन्। उक्त सडक निर्माणका लागि प्रदेश सरकारले बजेट विनियोजनसमेत गरेको छ। यो सडक निर्माण भए कर्णाली प्रदेश, प्रदेश नम्बर ५ को पश्चिम क्षेत्र र सुदुूपश्चिम प्रदेश जोडिने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell