PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

संसदमा कड्किए देउवा : प्रधानमन्त्रीलाई उनको प्रश्न - तपाईँको राजमा को सुरक्षित छ?



पहिलोपोस्ट

संसदमा कड्किए देउवा : प्रधानमन्त्रीलाई उनको प्रश्न - तपाईँको राजमा को सुरक्षित छ?

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि प्रश्नहरु वर्षाएका छन्। बजेट अधिवशेनको अन्त्यमा आज प्रतिनिधिसभामा सम्बोधन गर्दै सभापति देउवाले बाँके घटनालाई जोड्दै- 'तपाईको राजमा को सुरक्षित छ?' भनी प्रश्न सोधे।

कांग्रेसको दोस्रो चरणको जागरण अभियानमा बाँकेकी सभापति किरण कोइरालाको हात भाँचिएको विषयमा देउवाले भने, 'जागरण अभियानको क्रममा बाँके जिल्ला सभापति किरण कोइरालाको हात भाँचिदिएको छ। हलभित्र कार्यक्रम गर्दा पनि वृद्ध महिलाको हात भाँचिन्छ भने भने तपाईको राजमा को सुरक्षित छ?'

देउवाले जनताले आन्दोलन गरी निरंकुशता हटाएको अवस्थामा पनि कार्यकर्ता परिचालित गरी सरकारले निरंकुशता लाद्न खोजेको आरोप लगाए।

'यसैका लागि सात सालदेखि लडेको हो? यस्तो हुन थाल्यो भने धेरै दिन रोस्टम बन्द हुन्छ,' देउवाले चेतावनी दिए।

प्रजातन्त्र जोगाउन फेरि लड्नुपर्ने अवस्था आएको उल्लेख गर्दै संविधान प्रचलनमा संविधानले कल्पना गरेको र मर्मअनुरुप काम यो सरकारले गर्न नसकेको दाबी गरे। भने, 'पछिल्लो समय संविधानको मर्मअनुरुप काम गरेको छैन। यो सरकारले संविधानप्रति अपनत्व कायम गर्न असफल भयो।'

उनले सरकार एकपछि अर्को संविधान विपरीत काम गर्न लागि परेको आरोप लगाउँदै जनतालाई बाँड्नुपर्ने शक्ति आफैले सञ्चय गर्न थालेको बताए।

'संवैधानिक व्यवस्थाअनुरुप सबै संवैधानिक निकाय स्वतन्त्र हुनुपर्नेमा सरकारले नियन्त्रण गर्दैछ। प्रदेश र स्थानीय तहबीच अधिकार बाँडफाँड गर्ने कुरा छ। तर, सरकार शक्ति सञ्चयतिर लागेको छ,' देउवाले आरोप लगाए।

देउवाले सरकार विकासमा सुस्त रहेको दाबी गर्दै ठूला भ्रष्टाचारको काण्ड ढाकछोपमा भने अग्रस्थानमा रहेको तर्क गरे।

'सबैभन्दा बढी भ्रष्टाचारका घटना यही डेढ वर्षमा भएका छन्। वाइडबडीदेखि बालुवाटारसम्म। कसैलाई उन्मुक्ति दिनुहुन्न, भ्रष्टाचारीलाई कारबाही गर्न प्रतिपक्षीले पनि सहयोग गर्छ,' देउवाले भने।

उनले प्रेस स्वतन्त्रता ग्यारेन्टी हुँदाहुँदै सञ्चारजगतलाई कन्ट्रोल गर्न खोजेको र विवादस्पद विधेयक जबरजस्ती ल्याउने काम भएकोमा सच्चिनुपर्ने बताए।

देशको शान्तिसुरक्षाको स्थिति नाजुक हुँदै गएको उल्लेख गर्दै सभापति देउवाले महिला हिंसालाई न्युनीकरण गर्न सरकारको प्रभावकारी उपस्थिति हुन नसकेको आरोप लगाए।

सरकार आफै आतंक फैलाउन थालेको उल्लेख गर्दै उनले अबका दिनमा पनि यस्तै काम दोहोरिए कांग्रेसले सडक र सदनबाट आन्दोलन गर्ने चेतावनी दिए।

उनले जनताको करबाट सुविधा लिने सरकारका मन्त्रीले खासै चित्तबुझ्दो नभएको दाबी गरे। उनले भने, 'चर्को रुपमा कर लगाइएको छ। विदेशी लगानीको वातावरण छैन। बेरोजगारी भयावह बढेको छ। बजार भाउ ह्वात्तै बढेको छ। प्रधानमन्त्रीलाई भाउ थाह छैन?'

सपनाको वितरण अन्धधुन्ध गरेको आरोप लगाउँदै देउवाले सोधे, 'तर, कार्यन्वयन खै?'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell