PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

दुई वर्षअघि मात्रै काठमाडौँ छिरेका जयसवालको डरलाग्दो ड्रग कारोबार : आफ्नै गाडी अनि क्यासिनोमा मस्ती



सविन ढकाल

दुई वर्षअघि मात्रै काठमाडौँ छिरेका जयसवालको डरलाग्दो ड्रग कारोबार : आफ्नै गाडी अनि क्यासिनोमा मस्ती

काठमाडौं : बुधवार दिउँसो शान्तिनगरमा गुड्दै गरेको एउटा जिपलाई एक युवकले हात दिएर रोके। भारतीय नम्बरको बिआर ३० पी ८६०७ को गाडी रोकियो। केहीबेरमै अरु युवा पनि थपिए र थाले खानतलासी।

जीपमा थिए भारतको सीतामढी ३७ वर्षीय अभिषेक कुमार जयसवाल। जिप रोक्ने चाहिँ लागुऔषध नियन्त्रण व्यूरोबाट विशेष सूचनाको आधारमा खटिएको 'अप्रेसन' टोली।

सिभिलमा रहेका प्रहरीलाई गाडीमा प्रतिबन्धित लागुऔषध भएको सूचना आएको थियो। तर, प्रहरीलाई आए जस्तो गाडीमा लागुऔषध भेटिएन। गाडी भित्र त चामल र पिठोमात्र भेटियो। कतै प्रहरीलाई आएको सूचना गलत त थिएन? प्रहरीले शङ्काको ठाउँ छोडेन। 

बाल्टी खोल्दै जाँदा प्रहरीहरु नै चकित भए। एकपछि अर्को बाल्टीमा लागुऔषध पो भेटियो। उनीहरूको साथबाट प्रहरीले डाइजेपाम १ हजार ४७ एम्पुल, नुर्फिन १ हजार ३७ थान र फेनारगन १ हजार ४२ थान बरामद गर्‍यो। त्यसपछि परे अभिषेक प्रहरी नियन्त्रणमा।

प्रहरीले लागु औषध कारोबारमा संलग्न अरुलाई पनि समात्यो। ३७ वर्षीय राजा कुणाल र ३२ वर्षीय राजेशकुमार जयसवाल पक्राउ परे।

बिजुलीको सामान बेच्दाबेच्दै लागु औषध कारोबार

अभिषेक कुमार जयसवाल काठमाडौँ आएको दुई वर्षमात्र भएको छ। काठमाडौँ आएपछि जयसवालले बिजुलीको सामान बिक्री गर्ने काम थाले। घरघरमा बिजुलीको सामान बिक्री गर्नु उनको काम। छोटो समयमा नै जससवाल काठमाडौँका गल्ली गल्ली र घरसँग परिचित भए।

‘सुरुमा बिजुलीको काम गर्थे। पछिमात्र उसले गलत धन्दा समातेको देखियो', व्यूरोका एसएसपी वसन्त लामाले भने।

अहिले अभिषेकको व्यापार परिवर्तन भइसकेको रहेछ। उनी घरघरमा बिजुलीको सामान होइन, लागुऔषधी लिएर पुग्दा रहेछन्। भारतबाट लागुऔषध लिएर ड्रगिस्टलाई बिक्री गर्ने उनको मुख्य काम भएको प्रहरी अनुसन्धानमा खुलेको छ।

‘बिजुलीको सामान बिक्री गर्दा उनले कसले के र कस्तो ड्रग लिन्छ सबै जानकारी पाए। त्यसपछि फाइदा देखेर उनी लागुऔषधको कारोबार गर्न थाले', एसएसपी लामाले भने।

सुरुमा सामान्य लागुऔषधको बिक्रीबाट उनको अपराध यात्रा सुरु भयो। तस्करीको धन्दामा राम्रो फाइदा देखेपछि एउटै गाउँका राजा कुणाल, राजेशकुमार जयवाललाई समेत यसमा सामेल गराए। राजेशकुमार उनका 'मालिक' समेत हुन्। मतलब, तस्करीका लगानीकर्ता।

लागुऔषधकै कमाइबाट गाडी र क्यासिनोको जुवा

बुधवार प्रहरीले लागुऔषधसहित उनीहरूलाई मात्र होइन भारतीय नम्बरको बिआर ३० पी ८६०७ को स्कोर्पियो पनि जफत गर्‍यो। त्यो गाडी उनीहरूले तस्करीका लागि नै किनेको देखिएको छ। केही महिना अघिमात्र उनीहरूले गाडी खरीद गरेकोका थिए।

‘भर्खर नै जिप किनेको देखिएको छ। उनीहरूको नाममा नै जिप रहेको छ', एसएसपी लामाले भने।

प्रहरीको अनुसन्धानमा उनीहरूले लागुऔषधको कारोबारबाट नै सम्पत्ति जोडेका हुन्। उनीहरूसँग अर्को एउटा कार समेत रहेको एसएसपी लामा बताउँछन्। भारत घर भएका उनीहरू रक्सौल हुँदै नेपालमा लागुऔषध भित्र्याउने र काठमाडौँमा ल्याएर बिक्री गर्ने गर्थे।

‘उनीहरूको मेडिकल पसलसँग राम्रो कनेक्सन देखिन्छ। प्रारम्भीक अनुसन्धानमा उनीहरूकै मेडिकल समेत भएको खुल्छ। तर, यसमा अनुसन्धान जारी छ', एसएसपी लामाले भने।

उनीहरू काठमाडौँमा महँगो होटेलको कोठा भाडामा लिएर बस्थे। लागुऔषधी बिक्री भएपछि कमाएको पैसाले क्यासिनो समेत जाने गरेको देखिएको छ। बुधवार प्रहरीले उनीहरूको साथबाट १ लाख बराबरको क्यासिनोको क्वाइन समेत बरामद गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell