PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

प्रधानमन्त्रीले सुनाएका सरकारका उपलब्धिः कर्मचारी समायोजनदेखि भत्ता बढाउनेसम्म



पहिलोपोस्ट

प्रधानमन्त्रीले सुनाएका सरकारका उपलब्धिः कर्मचारी समायोजनदेखि भत्ता बढाउनेसम्म

काठमाडौँः संविधान दिवसका अवसरमा प्रधानमन्त्री ओलीले जनताका नाममा सम्बोधन गरेका छन्। ओलीले सम्बोधनका क्रममा सरकारका उपलब्धि पनि सुनाएका छन्।  

नीति कार्यक्रम र पछिल्लो समयमा भइरहेका नियमित कामकाजलाई प्रधानमन्त्रीले उपलब्धिका रूपमा पेस गरेका हुन्।

पाइपलाइनको सुरुवात, हावाहुरी पीडितलाई घर हस्तान्तरण लगायतका विषय सरकारका उपलब्धिमा समेटिएका छन्। वित्तीय सङ्घीयताको व्यवस्थापन उचित रूपमा गरेको प्रधानमन्त्रीको दाबी छ। वित्तीय सङ्घीयताको कार्यान्वयनको उदाहरण बाँकी विश्वका लागि उदाहरणीय रहेको प्रधानमन्त्रीको दाबी छ।

भूकम्पपछि बन्द भएको तातोपानी नाका सुरुलाई प्रधानमन्त्रीले उपलब्धिका रूपमा सुनाएका छन्। राष्ट्रिय गौरवका आयोजनाको प्रभावकारी अनुगमन र राष्ट्रिय परिचयपत्रको वितरणलाई पनि प्रधानमन्त्रीले उपलब्धिमा राखेका छन्।

साक्षरता अभियान, सबै स्थानीय तहमा बैङ्कको पहुँच, प्रधानमन्त्री रोजगार कार्यक्रम र मलेसियाको शून्य लागतको रोजगारी कार्यक्रमलाई पनि सरकारको उपलब्धिमा राखिएको छ। सामाजिक सुरक्षा कार्यक्रममा सूचीकृत सङ्ख्या उल्लेख्य रहेको प्रधानमन्त्रीको दाबी छ।

करिब मन्त्रालयगत कामकाजको विवरणका रूपमा प्रधानमन्त्रीले प्रगति बताएका हुन्। यातायात सिन्डिकेटको अन्त्यको दाबी पुनः दोहोर्‍याएका छन्। यातायात प्राधिकरण गठनका लागि सदनमा विधेयक दर्तालाई प्रधानमन्त्रीले उपलब्धिमा उल्लेख गरेका छन्।

कर्मचारी समायोजन सरकारको उपलब्धि सूचीमा उल्लेख छ। स्थानीय तहमा भएका पदपूर्तिको प्रक्रियालाई पनि सरकारले उपलब्धि मानेको छ।

जापानसँगको हवाई सम्बन्ध पुनः स्थापनालाई पनि सरकारले उपलब्धि मानेको छ। दक्षिण एसियाली खेलकूलको पूर्वतयारीलाई पनि सरकारले उपलब्धिमा उल्लेख गरेको छ। सामाजिक सुरक्षा भत्तालाई ३ हजार रुपैयाँमा पुर्‍याउनुलाई पनि सरकारले आफ्नो उपलब्धिमा उल्लेख गरेको छ।

अख्तियार र राजस्व अनुसन्धानलाई प्रभावकारी बनाइएको प्रधानमन्त्रीको दाबी छ।

यो पनि पढ्नुहोस् :

खै रेल, खै पानीजहाज? प्रश्नकर्तालाई प्रधानमन्त्री भन्छन् ‘मैले मुर्छित सपनामाथि पानी छम्केकै हुँ'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell