PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

दशैंमा दक्षिणा दिँदा डिजिटल वालेटको प्रयोग किन नगर्ने ?



 दशैंमा दक्षिणा दिँदा डिजिटल वालेटको प्रयोग किन नगर्ने ?

  • अशोक रेग्मी 

हिन्दु धर्मवालम्बीहरुको महान् चाड दशैंमा मिठो परिकार खाने, नयाँ कपडा लगाउने, मान्यजनको हातबाट टीका तथा जमरा ग्रहण गर्दै आर्शिवादका साथसाथै नयाँ नोट दक्षिणा लिने-दिने गरिन्छ। यसरी हेर्दा दशैंको अभिन्न संस्कृति नै बनिसकेको छ, नयाँ नोट। यहि संस्कृतिलाई पछ्याउँदै नेपाल राष्ट्र बैंकले पनि हरेक दशैंमा नयाँ नोट बजारमा पठाउँछ।

दशैंमा दिने आर्शिवादको शुरुवात नै 'आयुः द्रोण सुते' अर्थात आयु द्रोणका छोराको जस्तै होस् भन्ने वाक्याशंबाट शुरु हुन्छ। धर्मग्रन्थ अनुसार द्रोणका छोरा अस्वत्थामा ऋषी, जसको आयु चन्द्रमा र सूर्य संग सम्बन्धित छ। जबसम्म चन्द्रमा र सूर्य रहिरहन्छन् तबसम्म अस्वत्थामा ऋषी पनि जीवित रहन्छन्। यसरी आफन्तजनको आयु बढोस् भनि आर्शिवाद दिने चाडमा हामी टीका र जमरामा लत्पत्याएर नोटको आयु भने घटाइरहेका हुन्छौँ।

नोट हाम्रो सभ्यताको प्रतिक हो। कुनै पनि विदेशी नागरिक नेपाल भ्रमणमा आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नासाथ ऊ नेपाली मुद्रा सटही गर्न सटही काउन्टरमा पुग्दछ। उसको हातमा पर्ने नोटको आधारमा उसले नेपाल र नेपाली नागरिकका बारेमा धारणा बनाउँदछ।

उसको हातमा केरमेट गरिएका, रङ पोतिएका, च्यात्तिएका झुत्रा नोट परेमा उसको मष्तिस्कमा नेपालीहरु असभ्य रहेछन् भन्ने धारणा बन्दछ। यहि कुरालाई मनन गर्दै नेपाल राष्ट्र बैंकले सफा नोट नीति लागु गरेको छ। चलनचल्तीमा पठाउन अयोग्य नोटहरु नेपाल राष्ट्र बैंकले सर्वसाधारणबाट तथा बैंक तथा वित्तीय संस्था मार्फत् संकलन गरी जलान (नष्ट) गर्दछ।

यसरी पुराना नोटहरु संकलन गरी जलाएपछि नेपाल राष्ट्र बैंकले बजारमा नयाँ नोट पठाउनु पर्छ। जसका लागि नोट छपाई गर्नुपर्ने हुन्छ। नोट छपाई नेपालमा हुँदैन। विदेशमा नोट छपाई गर्दा राज्यको करोडौँ रुपैँया बाहिरिन्छ। यसबाट शोधान्तर स्थितिमा प्रतिकुल प्रभाव पर्न जान्छ।

हालसालै १०० र ५० रुपैयाँ दरका क्रमश ४० करोड र २३ करोड थान नोट छपाई गर्ने क्रममा मात्रै पाउण्ड स्र्टलिङ (जीबीपी)  क्रमश ८० लाख २० हजार र ४७ लाख ७२ हजार ५०० सय खर्च भएको छ। नोटलाई सुरक्षित, टिकाउ, विश्वसनिय बनाउन नोटमा बिभिन्न सुरक्षण बिशेषताहरु राखिएको हुन्छ। जसले गर्दा नोट छपाई महङ्गो पर्न जान्छ।

हामीले साटेको नोट हिफाजत गरेनौँ भने राज्यलाई करोडौँ रुपैँया घाटा लाग्दछ। दशैँमा खानेकुराको जथाभावी उपभोग गर्दा जसरी हामी अस्वस्थ हुन्छौँ, त्यसैगरी नोटको जथाभावी प्रयोग गर्दा अर्थतन्त्र अस्वस्थ हुन्छ। र, नोट छपाई खर्चमा हामीले तिरेको करको अंश बढ्दै जान्छ।

जसरी दशैंमा किनेका लुगा हामी जतन गरेर लगाउँछौ, टीका लाग्छ की भनी निधारको ठीक मुनी पर्ने गरी हात थाप्छौं, र पछिसम्म प्रयोग गछौँ, त्यसैगरी दशैंमा साटेका नोटको जतन गरी पछिसम्म उपयोग गर्न सकिन्छ।

दशैं जस्तो धेरै दक्षिणा आदानप्रदान हुने चाडमा नोट बढी ढुट्टिने हुन्छ। रगंको प्रयोगले नोट रंगिने तथा पैसा बोक्दा समेत कुच्याएर गोजीमा हाल्ने प्रवृति धेरै हुन्छ। त्यसैले दक्षिणा दिँदा नोट मात्रै नदिई खाममा लगाएर दिएमा नोट सुरक्षित रहन्छ। नोटलाई कुच्याएर गोजीमा नराखी नखुम्चिने गरी पर्समा राखे नोटको आयु बढ्दछ।

सामान्यतया कागजी नोटको आयु ४/५ बर्षको हुन्छ तर दशैंका बेला बजारमा पठाइएका नोट एक बर्षमै पुराना हुन्छन्। नोटको उचित ढंगले प्रयोग गरेमा नोटको आयु बढ्न गई नोट छपाईमा खर्च हुने राज्यको करोडौं रुपैँया जोगिन जान्छ। अर्कातर्फ बजारमा सफा नोट हुँदा राष्ट्रको प्रतिष्ठा बढ्न जान्छ भने नक्कली नोटको बिगबिगी पनि घट्न जान्छ।

प्रबिधिको उच्चतम् उपयोग गर्दै दशैंका किनमेल कार्ड (पस मेसिन) मार्फत गर्न सकिन्छ। दक्षिणा दिन मोबाइल बैंकिङ, कनेक्ट आइपिएस, डिजिटल वालेट (इसेवा, खल्ती, आईएमई पे आदि) प्रयोग गर्न सकिन्छ। टेण्डर गरी विदेशमा छपाई गरिने हुँदा सबै दशैंमा माग अनुसार प्रत्येक दरका फ्रेस नोट उपलब्ध नहुनसक्छ भने सुकिला नोट ठूलो मात्रामा राष्ट्र बैंकको गोदाममा थन्किएको हुनसक्छ। यस्तो अवस्थामा दशैंमा सुकिलो नोट प्रयोग गरौँ भनी नेपाल राष्ट्र बैंकले गरेको आव्हानलाई अन्यथा लिनु हुँदैन।

फ्रेस नोटलाई नेपाल राष्ट्र बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीले प्रतिष्ठाको विषय बनाउनु हुँदैन। नोटको प्रयोग कम गर्ने र नोटको प्रयोग गर्दा यो हाम्रो सम्पत्ती हो भनी उचित ढंगले प्रयोग गर्ने बानी बसाली सभ्य र जिम्मेवार नागरिकको परिचय दिऔँ।

(रेग्मी, नेपाल राष्ट्र बैंक, विराटनगरमा कार्यरत छन्।)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell