PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

वीरगंजमा संविधान दिवस : कसैलाई हर्ष, कसैलाई विस्मात!



राधेश्याम पटेल

वीरगंजमा संविधान दिवस : कसैलाई हर्ष, कसैलाई विस्मात!

वीरगंज : विगतको क्रान्तिसंगै पछिल्ला विभिन्न मधेश आन्दोलनको केन्द्रविन्दु मानिने वीरगंजमा विरोधको बाउजुद पनि संविधान दिवस मनाइएको छ। संविधान दिवसको अवसरमा मुल समारोह समिति पर्साले आज वीरगंजमा प्रभातफेरी तथा सभाको आयोजना गरेको छ।

प्रभातफेरीमा उच्चअदालत वीरगंजका न्यायाधिश डिल्लीराज आचार्य, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई, सुरक्षा निकायका प्रमुखहरु, कार्यालय प्रमुखहरुलगायत नेपाली कांग्रेस र ने क पाका नेताहरुको पनि सहभागिता रह्यो।

वीरगंजको विपी उद्यानबाट शुरु भएको प्रभातफेरी नगर परिक्रमा गरी पुन: विपी पार्कमै आएर समारोहमा परिणत भएको थियो।

संविधानका प्रतिलिपि जलाइयो

मधेशी जनअधिकार फोरमको सबै भन्दा पुराना नेता मानिने भाग्यनाथ गुप्ता नेतृत्वको मधेशी जनअधिकार फोरम (मधेश)ले घण्टाघरमा संविधानको प्रतिलिपि जलाएको छ। सो क्रममा प्रहरीले हस्तक्षेप गर्दा फोरमका कार्यकर्तासँग सामान्य तनाव भएको थियो।

कसले के बोले?

नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा पूर्व सभासद सुरेन्द्र चौधरीले नेपालको संविधान एउटा पवित्र राष्ट्रिय दस्तावेज भएको बताए। सम्पूर्ण नागरिकलाई सार्भभौम बनाउने यही संविधान भएको उनले बताए। कुनै पनि संविधान पूर्ण नहुने भएकोले असन्तुष्टि र त्रुटिहरुलाई सच्याउँदै अघि बढ्नुपर्ने उनले बताए।

नेपाल कम्यूनिष्ट पार्टीका पर्सा इन्चार्ज रामचन्द्र साह तेलीले जारी संविधानप्रति मधेसवादी दलले गरेको आलोचनाको खण्डन गर्दै संविधान जारी भएपछि मात्र सम्पूर्ण नेपालीले मानव अधिकार र समाजिक न्यायको अनुभूति गरेको बताए।

'संविधान जनताद्वारा चुनिएका प्रतिनिधिबाट बनेको हो, यही संविधानले हामीलाई पूर्ण नागरिकको दर्जा दियो' उनले भने, 'संविधानको व्यवस्था ठिक छैन भन्ने साथीहरुले त्यो बुझ्नु भएको छैन्, त्यसकारण विरोध गर्नु हुन्छ।'

उच्च अदालत जनकपुरको अस्थायी इजलाश वीरगंजका मुख्य न्यायधीश डिल्लीराज आचार्यले संविधान दिवसलाई विश्वका करिब २ सय देशले हर्षोउल्लासको साथ विभिन्न दिवस भनेर मनाउने गरेको बताए। उनले नेपालमा संविधान र राष्ट्रिय दिवसको रुपमा मनाइरहेको अवस्थामा भारतमा कन्स्टिच्युसन डे, अरु देशहरुमा पब्लिक डे, इन्डिपेन्डेन्स डेलगायत दिवस भनेर मनाउने भएकोले नेपालमा पनि यो दिवस विशेष रहेको धारणा राखे।

नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदीले संविधान जारी भएपछि देशमा खुशीयालीसंगै पीडाको दिनको रुपमा पनि स्मरण गरेको बताए। उनले संविधान जारी हुदाँ गोली लागेर कति जना आमाको काख सुनसान पनि बनेको बताए।

उनले भने, 'मधेशी माथि गोली बर्साएर लेखिएको संविधान अवश्य पनि केही न केही हद सम्म त्रुटिपूर्ण छ, यसलाई सच्याउनु पर्छ।'

उनले असन्तुष्टहरुको अवाजलाई पनि राज्यले सम्बोधन गर्नु पर्ने धारणा राखे।

ने क पा पर्साका अध्यक्ष प्रभु हजराले संविधान नमानेर विरोध गर्ने मधेशवादी दलको नेताहरुलाई संचेत हुन आग्रह गरेका छन्। उनले संविधानको धारा टेकेर मुख्यमन्त्री, मेयर, उपमेयर हुने तर संविधान नमान्ने सोच राखी 'ब्लयाक आउट' दिवस मनाउनु सरासर जनतालाई भ्रमित पार्ने काम बाहेक अरु केही नभएको दाबी गरे।

'सत्ता सुख पाउने बेलामा संविधान ठिक छ, संविधान दिवसमा हामी मान्दैनौँ' उनले भने, 'यो कस्तो प्रवृति हो, विश्वास गर्न सकिन्छ र?'

बारामा पनि मनाइयो संविधान दिवस

संविधान दिवस मुल समारोह समिति बाराले कलैयामा प्रभातफेरी तथा सभाको आयोजना गरेको छ। जिल्ला प्रशासन कार्यालय बाराबाट निस्केको प्रभात फेरी कलैया उपमहानगरको विभिन्न भागको परिक्रमा पश्चात पुनः प्रशासन कार्यालयमा पुगी सभामा परिणत भएको थियो।

प्रभात फेरीमा बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल, सुरक्षा निकायका प्रमुखहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कर्मचारी, सामुदायिक तथा निजि विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell