PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नेकपाले अपनाएको पछिल्लो सिद्धान्त लोकतन्त्रका लागि खतरनाक : पौडेल



पहिलोपोस्ट

नेकपाले अपनाएको पछिल्लो सिद्धान्त लोकतन्त्रका लागि खतरनाक : पौडेल

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्टहरुले आफुनो पुरानो नीति सिद्धान्तलाई क्रमश: बाहिर ल्याउन सुरु गरेको बताएका छन्।

वरिष्ठ नेता पौडलले कम्युनिस्ट सिद्धान्त बलियो बनाउनका लागि चीनको जस्तो प्रशिक्षण सुरु गर्न लागेको समाचार बाहिर आएको भन्दै यो लोकतन्त्रका लागि खतराजनक भएको बताए। गण्डक टोखा प्रजातान्त्रिक समाजद्वारा आयोजित बडा दशैंको शुभकामना आदानप्रदान कार्यक्रममा पौडेलले कम्युनिस्ट सिद्धान्तलाई लागू गर्नका लागि चिनियाँ कम्युनिस्ट पार्टीबाट प्रशिक्षण लिने र सवै अधिकार आफैमा केन्द्रित गर्ने अभियान सुरु गरेको आरोप लगाए।

पौडेलले भने, 'नेपालीलाई अहिले चिनियाँ मोडेलको शासन व्यवस्थाबारे प्रशिक्षण दिनु, सवै अधिकार एकजनामा केन्द्रित गर्नु, कम्युनिस्ट अधिनायकवाद तर्फ उन्मुख हुने संकेत हुन्। अहिलेको समस्या भनेको संविधान कार्यान्वयन गर्ने भन्दा पनि कम्युनिस्टको घोषणापत्र कार्यान्वयन गर्ने प्रयास गरेकाले भएको हो। त्यही भएर आम जनतामा असन्तुष्टि बढ्दै गएको छ।'

आम जनता असंतुष्ट भएपनि सरकारलाई कुनै चासो नभएको पौडेलको आरोप थियो। उनले अहिले विचार सिद्धान्तको राजनीति कमजोर हुँदै जात धर्म र भूगोलको राजनीतिले प्रश्रय पाउन लागेको बताए। जात धर्म र भूगोलको नाममा राजनीति ध्रुविकरणको प्रयास भइरहेको भन्दै उनले चिन्ता व्यक्त गरे।

पौडेलले विकासमा पनि बाधा उत्पन्न भएको बताए। उनले वीपी कोइरालाले देखाएको बाटोका बारेमा आम कांग्रेस कार्यकर्तालाई प्रशिक्षित गर्नुपर्ने बेला भएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell