PahiloPost

Apr 17, 2024 | ५ बैशाख २०८१

उपनिर्वाचन नलड्ने बामदेवको घोषणा, 'कास्की २ बाट निर्वाचनमा उठ्नु भनेको म फेरि पराजित हुनु हो'



उपनिर्वाचन नलड्ने बामदेवको घोषणा, 'कास्की २ बाट निर्वाचनमा उठ्नु भनेको म फेरि पराजित हुनु हो'

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी  (ने क पा) का संगठन विभाग प्रमुख वामदेव गौतमले मंसिर १४ मा हुने उपनिर्वाचनमा कास्की २ बाट नउठ्ने घोषणा गरेका छन्। शनिबार बसेको पार्टीको सचिवालय बैठकमा तत्कालिन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निर्वाचन क्षेत्रमा आफू उम्मेदवार नबन्ने बताएको गौतमले आफ्नो फेसबुक पेजबाट सार्वजनिक गरेका हुन्।

ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा अधिकारीको निधन भएपछि कास्की २ रिक्त छ।

बामदेवले आफूलाई कास्कीबाट निर्वाचनमा भाग लिन अनुरोध गर्ने पाटीका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालका साथै पार्टीका सबै सहयोद्धाप्रति आभार रहेको बताउँदै कास्कीबाट निर्वाचन नलड्ने बताएका हुन्।

 

कास्कीबाट उम्मेदवारी दिँदा आफू फेरि पराजित हुनसक्ने संकेत दिँदै गौतमले पछिल्लो निर्वाचनमा प्रतिनिधिसभा सदस्य पदका लागि बर्दिया–१ मा तत्कालीन वाम गठबन्धनसँग विपक्षीको तुलनामा ३२ हजार मत बढी रहँदा पनि आफू पराजित भएको भन्दै फेसबुकमा लेखेका छन्, 'त्योभन्दा अत्यन्त कम मतान्तर रहेको कास्कीमा निर्वाचन उठ्नु भनेको म फेरि पराजित हुनु हो।'

गौतमले उपनिर्वाचनमा स्थानीय नेता उठ्न सुझाव दिएका छन्। यसअघि गौतमले काठमाडौं ७ बाट निर्वाचन लड्ने हल्ला चलेको थियो। त्यसका लागि काठमाडौं ७ का प्रतिनिधि सभा सदस्य रामवीर मानन्धरले राजीनामा समेत दिने घोषणा गरेका थिए। चर्को विरोधपछि मानन्धरले आफ्नो राजीनामा दिने घोषणा फिर्ता लिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell