PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

'नेपाली तारा'बाट उदाएका सन्तोष, भन्छन् 'एल्बम निकाल्न नसक्दा तीन वर्ष कष्टसँग बित्यो'



मन्दिरा खत्री

'नेपाली तारा'बाट उदाएका सन्तोष, भन्छन् 'एल्बम निकाल्न नसक्दा तीन वर्ष कष्टसँग बित्यो'

सन् २००७ सालको 'नेपाली तारा सिजन २' को टाइटल जितिसकेपछि गायक सन्तोष लामाको जीवनमा एकाएक धेरै परिवर्तन आयो। टाइटल जितेपछि उनी केही दिनसम्म त अलमलमा परे। आफ्नो जीवनमा के भइरहेको छ छुट्ट्याउन सकिरहेका थिएनन्।

नर्मलबाट उनको लाइफ सेलेब्रेटीझैँ भएको थियो।

१२ वर्षअघि नै नेपाली ताराको टाइटल जितेका सन्तोष लामा केही दिनअघि जाउलाखेलको 'क्याफे कफी डे' मा भेटिए।

छोटो भेट घाटमा सन्तोषले त्यो बेलाको आफ्नो अनुभव सुनाउँदै भने 'नेपाली ताराको विजेता भएपछिका मेरा दिनहरू निकै फरक थिए। नेपाली तारा जितेको एक दुई वर्षसम्म त मलाई निकै रमाइलो भयो। कसैले कन्सर्टको लागि बोलाउनु हुन्थ्यो त कसैले रेकर्डिङको लागि बोलाउनु हुन्थ्यो। नर्मल लाइफबाट सेलिब्रेटीझै भइएको थियो। बाटोमा हिँड्दा पनि मानिसहरूले नेपाली तारा भन्दै नोटिस गर्थे।’

नेपाली ताराको उपाधि जितेको दुई वर्ष बितिसक्दा पनि उनको एउटा पनि नयाँ गीत सार्वजनिक नहुँदा भने उनका फ्यानहरू निराश भए। आफैंलाई पनि नयाँ गीत ल्याउन नसक्दा निकै प्रेसर फिल हुन थालिसकेको थियो।

'दुई वर्ष कटिसकेपछि भने मान्छेहरूले गीत खोइ, एल्बम खोइभन्दा चाहिँ अलि प्रेसर हुन थालेको थियो', उनले भने 'मेरो नयाँ एल्बम नआउँदा दर्शकले मलाई बिर्सिने पो हो कि भन्ने एक किसिमको डर पनि मनमा थियो।'

नेपाली तारा जितेको तीन वर्षपछि मात्र 'बटुवा' बोलको नयाँ एल्बम निकाले। त्यो बीचको तीन वर्ष उनको निकै कष्टसँग बित्यो।

'सन्तोषले नयाँ एल्बम किन ननिकालेको भन्दै प्रश्न उठ्न थालेपछि मैले बटुवा  नामक नयाँ एल्बम त निकाले तर त्यो एल्बम निकाल्दा म र मेरो टिम ठूलो लफडामा पर्‍यो' उनले भने ‘एल्बमको काम सकेर हामी रियाज म्युजिक कम्पनी गीत थप्न भनियो। सुरुमा हामीले ८ वटामात्र गीत रेकर्ड गराएका थियौँ। रियाज म्युजिकले अरू गीत पनि थप्नुपर्छ भन्यो। फेरि तीनवटा गीतको रेकर्डिङ गर्‍यौँ तर म्युजिक कम्पनी नै परिवर्तन हुँदा धेरै लफडा भयो। अन्त्यमा हामी म्युजिक डट कम नामक कम्पनीमा गयौँ र बल्ल गीत सार्वजनिक भयो। दिनकै १८/२० घण्टाको लोडसेडिङले पनि समस्या पार्‍यो।’

बटुवामा ११ गीत समावेश छन्। बटुवापछि उनले २०१२ मा अम्बर,  २०१५ मा अक्षता लगायतका एल्बम सार्वजनिक पनि गरिसकेका छन्।

धादिङ, नौबिसेको मध्यम वर्गीय परिवारमा जन्मेका सन्तोष लामा सानैदेखि नाच्न, गाउनमा रुचि राख्थे। लजालु स्वभावका उनी स्कुल लेभलदेखि नै गायन प्रतियोगितामा भाग लिने गर्थे। कक्षा ८ मा पहिलोपटक ‘तिम्रो स्वर मेरो गीत’ नामक गायन प्रतियोगितामा भाग लिए। उनी फाइनलसम्म भने पुगेनन्। त्यसपछि उनी गाउँघरमा हुने गरेका हरेक गायन प्रतियोगिताहरूमा सहभागी हुँदै गए।

स्नातक तहमा अध्ययन गर्दासम्म धादिङमा रेडियो, टेलिभिजन लगायतका सञ्चार माध्यम पुगिसेका थिए।

उनले सञ्चारमाध्यममार्फत् नै गायन रियालिटी सो नेपाली ताराको अडिसनबारे थाहा पाए। पढाइ बीचमै छोडेर सन्तोष नेपाली तारा सिजन १ को अडिसन दिन काठमाडौँ गए। अडिसनले गर्दा उनको पढाइ पनि बीचमै नै रोकियो।

काठमाडौँ अडिसनबाट उनी छानिए पनि। तर टप २० बाटै बाहिरिए। अर्को वर्ष फेरि सिजन २ को लागि अडिसन दिए। कुपन्डोल अडिसनबाट उनी छानिए र सिजन १ को मेहनतले काम गर्‍यो। अन्ततः उनले नेपाली तारा सिजन २ को उपाधि जिते।

सन्तोष नेपाली तारालाई नै जीवनको ठूलो टर्निङ पोइन्ट मान्छन्। ‘मेरो जिन्दगीमा नेपाली तारा'बाहेक अरू टर्निङ पोइन्ट के नै हुनसक्छ। नेपाली तारामा गरेको मेहनतकै कारण नै आज दर्शक माझ चिनिएको छु।'

त्यसपछि उनलाई बिस्तारै फिल्मको गीत गाउनको लागि पनि अफर आउन थाल्यो। उनले हालसम्म फिल्मको करिब ४० वटा र अन्य गीत गरी ३ सयवटा गीत गाइसकेका छन्। उनले भगवान् सबैको, स्वर, फस्ट लभ, भिजा गर्ल,  अभाष लगायतका थुप्रै फिल्मको गीतहरूमा स्वर दिएका छन्।

लामाले मैले सोचेको जस्तै, बेहुली लगायतका अन्य थुप्रै हिट गीतहरू गाइसकेका छन्। हिट गीत दिइसकेका सन्तोष हालसम्म कुनै पनि ब्याण्डमा आबद्ध छैनन्।

उनी भन्छन् 'मलाई मन त थियो तर साँच्चै भन्नु पर्दा नेपालमा ब्यान्ड पाल्न अलि गाह्रो छ। ब्यान्ड चल्नको लागि नियमित जसो स्टेज कार्यक्रम हुनुपर्छ। जुन नियमित गर्न सम्भव छैन। नेपालमा स्टेज कार्यक्रम आयोजना गर्न दशैं, तिहार लगायतका चाडपर्व नै कुर्नुपर्ने हुन्छ।'

नेपालमा भएका कमै ब्यान्डमध्ये नेपथ्य, मन्त्र लगायतका केहीमात्र सफल मानिन्छन्।

२०७१ सालतिर उनले गायनसँगै अर्को व्यवसायमा पनि आबद्ध भए। गीत गाएरमात्र जीवन गुजारा गर्न गाह्रो भएपछि उनले काठमाडौँको पानीपोखरीमा पार्टनरसीपमा रेस्टुरेन्ट सञ्चालनमा ल्याए। तर एक वर्ष नपुग्दै रेस्टुरेन्ट बन्द भयो।

'हामीले बिजनेसलाई सिरियस्ली लिएनौँ वा आइडिया भएन हाम्रो व्यावसाय सफल हुन सकेन', उनले भने 'अब चाहिँ केही गरियो भने निकै सोचेर सम्झेर गरौँला तर त्यतिन्जेलसम्म भने गीत संगीतलाई नै निरन्तरता दिने सोचिरहेको छु।'

अहिले उनी निरन्तर साङ्गीतिक क्षेत्रमा नै सक्रिय छन्। केही साताअघि उनले 'फेरि फेरि' बोलको गीत बजारमा ल्याएका छन्। डीबी मोक्तानले लेखेको गीतमा सन्तोषकै स्वर र सङ्गीत रहेको छ।

गीत पाँच वर्षअघि नै रेकर्डिङ गरिएको थियो। पाँच वर्षअघि नै डिबी मोक्तानको शब्दमा सन्तोषले स्वर दिए पनि रिलिज भएको थिएन।

सन्तोष सुनाउँछन् 'त्योबेला मेलोडी जनाराका गीत नै धेरै चल्तीमा थिए। पाँच वर्षअघि नै हामीले गीतको रेकर्डिङ गराएका थियौँ। तर म्युजिक भिडियो खिच्न पाएनौँ। गीत मर्न दिनुहुन्न भनेर हामीले गीतको सम्पूर्ण छायाङ्कन सकेर भर्खरै रिलिज गरेका हौँ।'

उक्त म्युजिक भिडियोमा सन्तोष स्वमयले मोडलिङ गरेका छन्। गीत आफ्नै अफिसियल युट्युब च्यानल सन्तोष लामा अफिसियलमार्फत् सार्वजनिक गरेका छन्।

'गीत सुनेर दर्शकले राम्रो प्रतिक्रिया दिइरहनु भएको छ', उनले भने 'मैले लिपसिङ नगरेको यो पहिलो म्युजिक भिडियो हो। गीत हेर्ने प्राय सबैले राम्रै प्रतिक्रिया दिइरहनु भएको छ।'

अर्को नयाँ गीत दशैं र तिहारको अवसरमा सार्वजनिक गर्ने उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell