PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

हङकङ संकट: प्रदर्शनकारीद्वारा फेरि विमानस्थल संचालनमा अवरोधको प्रयास



हङकङ संकट: प्रदर्शनकारीद्वारा फेरि विमानस्थल संचालनमा अवरोधको प्रयास
फोटो : Reuters/Anushree Fadnavis

हङकङ : हङकङ सरकार विरुद्ध आन्दोलन गरिरहेका प्रदर्शनकारीहरुले फेरि हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा जाने बाटो रोक्ने प्रयास गरेका छन्। उनीहरुले विमानस्थल जाने सडकमा ब्लकहरु राखेर अवरोध खडा गरेका छन्।

विमानस्थललाई लक्षित गर्दै फेरि आन्दोलन भएपछि विमानस्थलको आपतकालीन केन्द्रलाई संचालनमा ल्याइएको छ भने सरोकालवाला निकायसँग मिलेर विमानस्थलको सेवालाई प्रभावित हुन नदिने प्रयास गरिएको छ। 

प्रदर्शनलाई मध्यनजर गर्दै हङकङ सरकारले विमानस्थलमा पुग्ने रेलको यात्रामा कडाइ गरेको छ। प्रदर्शनकारीहरुले अनलाइनबाट नक्कली बोर्डिङ पासका बनाइ प्रयोग गरेको पाइएपछि सरकारले हातमा बोर्डिङ पास हुनेहरुलाई मात्रै रेल यात्रामा अनुमती दिने तयारी गरेको बताइएको छ।

अगस्त महिनामा पनि आन्दोलनकारीहरुले विश्वकै अत्यन्त व्यस्त मानिने हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा प्रवेश गर्दै विमानस्थल नियन्त्रणमा लिएका थिए। कालो कपडा लगाइ प्रदर्शनका उत्रेका प्रदर्शनकारीहरु तीन दिनसम्म विमानस्थल नियन्त्रणमा लिएका थिए। उनीहरुका कारण सयौं विमानहरु अवरुद्ध भएका थिए। पछि  हङकङको एक अदालतले विमानस्थल प्रशासनलाई प्रदर्शनकारीलाई हटाउन आदेश दिएको थियो।

सुपुदर्गी विधेयक विरुद्ध सुरु भएको आन्दोलन तीन महिनायता चर्किँदै गएको हो। विरोध चर्किँदै गएपछि सरकारले सदनबाट विधेयक स्थगन गरेको थियो। तर, प्रदर्शनकारीहरुले भने विधेयक स्थगन नभई फिर्ता नै लिनुपर्ने र हङकङकै कार्यकारी प्रमुख क्यारी ल्यामले राजीनामा दिनुपर्ने माग राख्दै विरोध गर्दै थिए। ल्यामले प्रदर्शनकारीहरुको माग बमोजिम विधेयक फिर्ता लिएपनि स्वतन्त्र हङकङको पक्षधर आन्दोलनकारीहरुले विरोध रोकेका छैनन्।

यता, चीनले पनि हङकङमा भएको प्रदर्शन उग्र बन्दै गएको र त्यसले चीनको एक राष्ट्र दुई प्रणाली नीतिमाथि संकट उत्पन्न गरेको भन्दै कडा कदम चाल्न बाध्य हुनुपर्ने चेतावनी दिइसकेको छ। हाल प्रदर्शनरत पक्षलाई 'आतंकवाद' सँगै तुलना गर्दै चीनले हङकङमा चीनको झण्डा जलाउने , चिनियाँ कार्यालयहरुमा तोडफोड भएको भन्दै अवस्था नियन्त्रणमा लिन हङकङमा चिनियाँ जनमुक्ति सेना परिचनलन हुन सक्ने चेतावनी दिइसकेको छ। यद्यपि, प्रदर्शनकारीहरु भने अमेरिका र बेलायतसँग आफूहरुलाई समर्थन गर्दै हङकङका विषयमा हस्तक्षेप गर्न माग गरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell