PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

राजनीतिक संरक्षण पाएका ठेकेदारले समयमा काम नगर्दा देश पछाडि पर्‍यो : प्रधानमन्त्री ओली



राजनीतिक संरक्षण पाएका ठेकेदारले समयमा काम नगर्दा देश पछाडि पर्‍यो : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक संरक्षणका बलमा ठेक्का पाएका ठेकेदारले काम नगर्दा आयोजनाका कामहरु अलपत्र परेको बताएका छन्।

राष्ट्रिय विकास समस्या समाधान समितिको अध्यक्ष समेत रहेका ओलीले आइतबार समितिको ४६ औँ बैठकलाई सम्बोधन गर्दै विगतमा ठेक्का दिने प्रक्रियामा देखिएको कमजोरीले देश पछि परेको बताएका हुन्।

‘त्यस्ता ठेकेदारका कारण देश कति समय पछाडि पर्‍यो ?  बाटोको अभावमा सामाजिक जागरण र आमजनताको सुविधाको विषय कति पछि पर्‍यो?’  प्रधानमन्त्री ओलीले प्रश्न गरे।

अब ठेकेदारहरुलाई राजनीतिक संरक्षण दिएर जोगाउने अवस्थाको अन्त्य हुने बताउँदै ओलीले समयमा काम सम्पन्न नगर्ने ठेकेदारलाई दण्डित गर्दै क्षतिपूर्ति तिर्न लगाउने र भविष्यमा समेत अयोग्य ठहरिने गरी कालो सूचि राख्नुपर्ने बताए।

जनताले ने क पालाई ठूलो अपेक्षाका साथ बहुमत दिएका भन्दै ओलीले सरकार जनताको आकांक्षा पूरा गर्नै पर्ने विशेष अवस्थाबाट अगाडि बढिरहेको बताए। आम जनताबीच जागरणको लहर सृजना गर्नुपर्ने बताउँदै उनले पपुलिस्ट नभइ दीगो विकासको लक्ष्य सहित काम गर्न निर्देशन समेत दिए।

हिंसा फैलाउन खोज्ने र गाउँ गाउँमा गएका विकासको बजेट लुट्ने विप्लव नामका समूह हामीले चाहेको विकासका बाधक रहेको बताउँदै उनले देश विकासका लागि सरकार नयाँ संकल्पका साथ अघि बढेको बताए।

नेपाल विकासको तीव्र गतिको चरणमा प्रवेश गरिसकेका बताउँदै ओलीले सबै पक्षलाई रचनात्मक ढंगले अघि बढ्न निर्देशन दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell