PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

चीनसँग समस्यारहित मित्रता रहेको प्रम ओलीको दाबी, भने : कम्युनिस्टले विकासको नेतृत्व गर्छ भन्ने चीनले प्रमाणित गर्‍यो



चीनसँग समस्यारहित मित्रता रहेको प्रम ओलीको दाबी, भने : कम्युनिस्टले विकासको नेतृत्व गर्छ भन्ने चीनले प्रमाणित गर्‍यो

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सि जिनपिङको विचारधाराबारे छलफल चलाएर नयाँ बहसको थालनी गरेकोमा खुशी व्यक्त गरेका छन्।

राजधानीको होटल याक एन्ड यतिमा नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा आजबाट शुरु भएको 'सि जिनपिङ विचारधाराबारे कम्युनिस्ट पार्टीको धारणा तथा नेपाल कम्युनिस्ट पार्टीबीच विचारात्मक छलफल कार्यक्रम' उद्घाटन गर्दै नेकपाका अध्यक्षसमेत रहेका ओलीले यसलाई सुखद् शुरुवात भएको बताए।

'नयाँ बहसको थालनी भएको छ। हामी दुई पार्टी कसरी अघि बढ्दैछ भन्ने विषय पनि हो यो। यो सुखद् शुरुवात हो,' प्रधानमन्त्री ओलीले भने

नजिकिएको चीनको स्वतन्त्रता दिवसको अवसरमा चिनियाँ जनतालाई बधाई दिँदै उनले चिनियाँ राष्ट्रपति जिनपिङको गरिबी हटाउने योजना सफल होस् भनी शुभकामनासमेत व्यक्त गरे।

नेपाल र चीनबीच समस्यारहित सम्बन्ध रहेको उल्लेख गर्दै ओलीले नेपाल एक चीन नीतिमा अडिग रहेको बताए।

'दुई पार्टीबीचको घनिष्ठ सम्बन्ध स्वाभाविक र सान्दर्भिक छ। हामी हिमालबाट जोडिएको छ। हाम्रो मित्रता खुल्ला छ,' प्रधानमन्त्री ओलीले भने, 'तर हाम्रो मित्रता स्वार्थभन्दा माथि छ। समस्यारहित सम्बन्ध छ। एक चीन नीतिमा अडिग छ। यहाँको भूमि र आकाश चीनविरुद्ध प्रयोग हुन दिइने छैन।'

चीन सरकार शक्तिशाली भएर पनि थिचोमिचो नगर्ने देश भएकोले नेपाल सदैव यो नीतिको सम्मान गर्ने प्रधानमन्त्रीको भनाई थियो।

'चीन शक्तिशाली भएर पनि थिचोमिचो नगर्ने र शान्ति समानताको पक्षमा छ। न्यायोचित व्यवस्थामा चीन छ भन्ने कुरा यसबाट प्रस्ट पार्छ,' ओलीले भने।

कम्युनिष्ट पार्टीले विकासको नेतृत्व गर्न सक्दैनन् भन्ने कुरालाई चिनियाँ कम्युनिष्ट पार्टीले झुट सावित गरिदिएको उनले दाबी गरे। भने, 'कम्युनिस्ट पार्टीले क्रान्तिको नेतृत्व गर्न सक्छन् तर विकासको नेतृत्व गर्न सक्दैनन् भन्ने कुरालाई चिनियाँ कम्युनिस्ट पार्टीले झुट सावित गरेको छ।'

चिनियाँ कम्युनिस्ट पार्टी मार्क्सवादको रक्षामा अब्बल देखिएको उल्लेख गर्दै यस विकासको श्रेय सि जिनपिङलाई नै जाने ओलीको भनाई थियो।

'विकास गरी विश्वलाई नै चकित तुल्याएको छ। चिनियाँ मोडल दिगो हुने पक्का देखिन्छ। यसको श्रेय सि जिनपिङलाई नै जान्छ,' प्रधानमन्त्रीले भने।

चीन विश्वकै ठूलो आर्थिक देशको रूपमा रहेकोले नेपाल चीनसँग सहकार्य गर्न सदैव तयार रहेको र चीनको विकासबाट नेपाली जनता खुसी रहेको उनको भनाई थियो।

ओलीले मार्क्सवादलाई नेकपाले नेपाली परिवेश अनुसार प्रयोग गरिरहेको तर्क पेश गरे। भने, 'हामीले मार्क्सवादलाई आफ्नै शैलीमा ढालेका छौँ। बहुदलीय जनवादमा। प्रतिस्पर्धाको आधारमा जनताको मन जित्ने हाम्रो नीति बनेको छ। नक्कल भनेको नक्कल हो। सिर्जनात्मक प्रयोग गर्नुपर्दछ। अर्काको नक्कल गरेर प्रगति हुदैन। त्यसैले हामीले नेपाली परिवेश अनुसार मार्क्सवादको सिर्जनात्मक प्रयोग गरेका छौ।'

प्रधानमन्त्री ओलीले कम्युनिस्ट पार्टी अनुशासित हुनैपर्ने उल्लेख गर्दै अबका दिनमा कम्युनिस्ट पार्टीको ध्यान युवामा हुनुपर्ने धारणा राखे।

'हाम्रो ध्यान युवामा हुनुपर्छ। उर्जाशील युवा पुस्तामा। नवीन विचारमा हामी खुल्ला हुनुपर्छ,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell