PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

भन्सारबाट आयातकर्ताले धमाधम छुटाउन थाले विलासी कार, २० दिनमा डेढ सय कार छुटे



राधेश्याम पटेल

भन्सारबाट आयातकर्ताले धमाधम छुटाउन थाले विलासी कार, २० दिनमा डेढ सय कार छुटे

वीरगंज : वीरगंजस्थित तीन वटा भन्सार नाकाबाट व्यवसायीहरुले धमाधम सवारी साधन छुटाउन थालेका छन्। जेठ १५ गते हुने बजेट भाषण अगावै नेपाली आयातकर्ताहरुले भन्सार विन्दुमा लामो समयदेखि होल्ड भएका सवारी सधानको जाँचपास गराउन थालेका हुन्।

वीरगंजस्थित श्रीसिया सुक्खा बन्दरगाहका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले आगामी बजेटमा सवारी सधान आयातमा राजस्व बढ्ने डरका कारण धमाधम गाडी छुटाएर लगिएको बताए।

‘आगामी आर्थिक वर्षको बजेटमा यदि गाडीको आयातमा राजस्व दर बढाइए ठूलो घाटा नलागोस् भन्ने अभिप्रायले उनीहरुले गाडी छुटाउन थालेको हुुन सक्छ,’ उनले भने।

बन्दरगाहबाट पछिल्लो २० दिनको अवधिमा १५० वटा ईलेक्ट्रिक गाडीको जाँचपास गरी पठाइएको उनले बताए। चीनमा निर्मित पूर्ण विद्युतीय एमजी ब्रान्डको डेढ सय कारको जाँचपास गरी आयातकर्ताले काठमाडौं लगेको जनाइएको छ। एमजीको एउटा विद्युतीय कारको मूल्य नेपालमा करिब ५५ लाख पर्छ। यस्तो गाडीमा १० प्रतिशत भन्सार महसुल र १३ प्रतिशत भ्याट गरी एउटा गाडीमा करिब साढे १२ लाख राजस्व लाग्छ।

१५० वटा एमजीको कार काठमाडौंको पारा मोटर्सले भित्र्याएको छ। डेढ सय गाडी भित्रिएपछि करिब पौनै १९ करोड राजस्व संकलन भएको उनले बताए।

त्यसैगरी, बन्दरगाहमा सोमवारसम्म ७० वटा थप कारहरु होल्ड भएर बसेको जनाइएको छ। जसमा ५५ वटा कोरियन ब्रान्डका, ५० वटा डिजेलबाट चल्ने सवारी साधन र १५ वटा चिनियाँ कम्पनीकै एमजी (डिजेलबाट चल्ने) कारहरु तथा ६ वटा गैरकानुनी किसिमले भित्रियाइएको गाडी छन्।

आर्थिक ऐन विपरित काठमाडौंको वेस्टार ग्यालेक्सीले बेलायतबाट मगाएको एक टेस्ला, किशोर गियर प्रालिले बेलायतबाट मगाएको २ वटा ज्यागुआर र प्रिन्सा मोटर्सले अमेरिकाबाट मगाएको ३ वटा आउडी कार करिब १० महिनादेखि थन्किएका छन्। आयातकर्ताले आवश्यक कागजात भन्सार कार्यालयमा नबुझाउँदा ती विलासी कारको जाँचपास हुन सकेको छैन।

यसअघि प्रिन्सा मोटर्सले ३ वटा आउडी कार मगाएर बेचिसकेको छ भने किशोर गियरले पनि ६ वटा ज्यागुआर ल्याएर बिक्री गरिसकेको छ। लकडाउनमा गाडीको बिक्री घटेको र बैंकिङ कारोबार गर्न असहज भएको भन्दै गाडी नछुटाउनेहरु राजस्वमा वृद्धि हुने अनुमान अनुसार धमाधम गाडी छुटाउन लागेका हुन्। भन्सार महसुल, अन्तशुल्क र भ्याट गरी कुल २२० देखि २९० प्रतिशतसम्म कारको क्षमता हेरेर राजस्व लाग्ने गर्छ।

वीरगंज भन्सारका दुई नाकामा साढे ५ सय गाडी होल्ड

वीरगंज भन्सार नाकाको शंकराचार्य र आईसीपी नाकामा गरी कुल ५ सय ४४ वटा सवारी सधान होल्ड भएकोमा केही साता यता भन्सार नाकाबाट विभिन्न प्रकारको गाडी छुटाउने क्रम बढेको छ। वीरगंज भन्सारको शंकराचार्य भन्सारमा २ सय र आईसीपीमा ३४४ गाडी थन्केको वीरगंज भन्सारका सूचना अधिकारी विमल कुमार साहले जानकारी दिए।

उनका अनुसार होल्ड भएका गाडीहरुमा कार, जीप भ्यान, माइक्रो, बस, ट्रक, लरीलगायतको गाडी छन्। विशेष गरी सिप्रदीले आयात गरेको टाटाका सवारी साधनहरु, अग्नी समूहले भित्र्याएको महिन्द्रा ब्रान्डका गाडीहरु, सीजी समूहले भित्र्याएका मारुती सुजुकी, टोयाटा र फोर्ड कम्पनीका गाडीहरु होल्ड भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell