PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

ट्राफिक प्रमुख फेरिएसँगै सुर्खेतमा ट्राफिक नियम कार्यान्वयनमा कडाइ, तीन दर्जन बढी सवारी साधन कारबाहीमा



पी बी खड्का

ट्राफिक प्रमुख फेरिएसँगै सुर्खेतमा ट्राफिक नियम कार्यान्वयनमा कडाइ, तीन दर्जन बढी सवारी साधन कारबाहीमा
फाइल फोटो।

सुर्खेत : सुर्खेत ट्राफिक प्रहरी प्रमुख फेरिएसँगै कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ट्राफिक नियम कार्यान्वयनमा आक्रामक देखिएको छ। ट्राफिक प्रहरी प्रमुखमा उपेन्द्रप्रसाद आचार्य आएसँगै सुर्खेतमा सवारी साधान व्यवस्थापन लगायतका नियम पालनामा कडाइ गरिएको छ।

वीरेन्द्रनगरको मुख्यबजार क्षेत्रमा साना तथा ठूला गाडीहरु अव्यवस्थित पार्किङ लगायत अनिवार्य ट्राफिक नियम पालना गरे नगरेको विषयमा निगरानी बढाएको छ।

त्यस्तै, ट्राफिक प्रहरीले ठूलो आवाज निकाल्ने मोटरसाइकलका साइलेन्सर तान्न थालेको छ। सवारी व्यवस्थापन तथा ध्वनी प्रदुषण न्युनिकरण गर्ने उद्देश्यले बुलेट मोटरसाइकलका तीन दर्जन बढी साइलेन्सर निकालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख आचार्यले जानकारी दिए।

आवाज निकाल्नका लागि सडकमा दु्रत गतिमा हाँक्ने, सडक पेटीमा हिड्ने नागरिकहरुलाई नै त्रसित बनाउने गरी ठूला आवाज निकाल्ने ३५ वटा बुलेट मोटरसाइकलका साइलेन्सर झिकेर कार्यालयमा राखिएको छ।

‘वास्तविक ध्वनीलाई मोडिफाई गरेर ध्वनी बढाएको पाएपछि मोटरसाइकलको साइलेन्सर तानेका छौँ’, प्रमुख आचार्यले भने, ‘बजार क्षेत्रभित्र साइलेन्सर मोडिफाई नगर्ने प्रतिवद्धता जनाएपछि कारबाही गरेर छोड्छौँ।’

सवारी साधनको मापदण्ड र स्वरुप विगारेर आफू खुशी परिवर्तन गरी ध्वनी प्रदुषण गराउने जो कोहीलाई नछोड्ने प्रहरीको भनाइ छ। यसरी मोटरसाइकलको साइलेन्सर नै तान्ने हिम्मत नराखेका ट्राफिकले यसपटक भने एक्सननै लिएको छ। जसले गर्दा बजार क्षेत्र शान्त हुने विश्वास स्थानीय नागरिकको छ।

त्यस्तै, ट्राफिक प्रहरीलाई नै आर्थिक प्रलोभनमा पारी नगद रकम दिन खोज्ने ६ जनालाई पक्राउ गरेको छ। भेरीगंगा नगरपालिका १३ भेरीपुलस्थित सडक खण्डमा सवारी जाँच गर्ने क्रममा ट्राफिक नियम उल्लघंन गर्ने सवारी साधनलाई सवारी तथा यातायात व्यवस्था ऐन अन्र्तगत कारबाही गर्ने क्रममा रकमको प्रलोभनमा पार्ने चार वटा ट्रकका चालक रहेका छन् भने बस र विङ्गरका एक÷एक जना सहचालकलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा ट्रक चालक कैलालीका बिबेक सिंह, अर्घाखाँचीका कमल पुन, चितवनका कृष्ण बहादुर नेपाली, सुर्खेतका कमल रजा ट्रक चालक हुन भने बाँकेका सुनिल विश्वकर्मा र प्रमोद विक सहचालक हुन्। उनीहरुलाई पक्राउ गरेर कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको ट्राफिक प्रमुख आचार्यले जानकारी दिए।

‘ट्राफिक नियम उल्लघंन गरी उल्टै प्रहरीलाई प्रलोभन पार्ने कोही कसैले छुटकारा पाउँदैनन्’, उनले भने, ‘ट्राफिक नियम भनेको ट्राफिक प्रहरीका लागि मात्रै नभएर, नागरिकले हामी सबैका लागि हो भन्ने बुझ्नुपर्छ। तब मात्रै यस्ता घटना दोहोरिदैँनन्।’

उनले सबै नागरिकले सवारी साधनका आवश्यक कागजात साथमा लिनुपर्ने र ट्राफिक नियमको पालना गर्न समेत आग्रह गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell