PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

नेपाल vs स्कटल्याण्ड : नेपाल हार्नुका ५ कारण



पहिलोपोस्ट

नेपाल vs स्कटल्याण्ड : नेपाल हार्नुका ५ कारण
फोटो : आइसीसी

काठमाडौं : आइसीसी क्रिकेट वर्ल्डकप क्वालिफायरमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ। पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग ११६ रनले हारेको नेपाल दोस्रो खेलमा स्कटल्याण्डसँग ४ विकेटले पराजित भयो। टस जितेर ब्याटिङ गरेको नेपालले निरन्तर विकेट गुमाउँदा पुरै ओभर खेल्न सकेन र स्कटल्याण्डलाई थोरै लक्ष्य दिएको थियो। तैपनि नेपालले बलिङमा केही सुधारिएको प्रदर्शन देखाएको थियो तर त्यो खेल जित्न पर्याप्त भएन। नेपाल पराजित हुनुका ५ कारण यस्ता छन्।

फ्लप ओपनिङ

स्कटल्याण्डविरुद्धको खेलमा पनि नेपालको ओपनिङ फ्लप भयो। एक रन बनाउँदा ओपनर ज्ञानेन्द्र मल्ल दोस्रो ओभरमा आउट भए। यस्तै अर्का ओपनर दीलिप नाथ तेस्रो ओभरमा आउट भए।

स्कटल्याण्डविरुद्ध नेपालको ओपनिङ साझेदारी १ रन मात्र रह्यो।

३ ओभर भित्रै नेपालका दुई ओपनर आउट भएपछि नेपाल दबाबमा पर्‍यो। ओपनरले सुरुवात दिलाउन नसकेपछि अन्य खेलाडी झन् दबाबमा पर्दा रन बनाउन कठिन भयो भने विकेट नै निरन्तर झरिरह्यो।

 

दीपेन्द्र र शरदको विकेट

ज्ञानेन्द्र आउट भएपछि कप्तान पारस खड्का क्रिजमा पुगेका थिए। दीलिप आउट भएपछि दीपेन्द्र चौथो क्रममा ब्याटिङ गर्न पुगे। तर दीपेन्द्र र पारस बीच पनि साझेदारी हुन पाएन। यी दुईबीच ३ रनको साझेदारीपछि दीपेन्द्र १ रन बनाएर आउट भए। त्यस लगत्तै क्रिजमा पुगेका शरद भेषावकर खाता नखोली आउट भए। स्कटल्याण्डका स्टुअर्ट ह्विटिङहमले लगातार दुई बलमा दीपेन्द्रलाई एलबिडब्लु तथा शरदलाई बोल्ड आउट गरिदिए। त्यसपछि आएका आरिफ शेख पनि २ रन बनाएर आउट हुँदा नेपाल ८ ओभरमा ३९-५ को स्थितिमा पुगेको थियो।

 

पारसको विकेट

५ विकेट जाँदा पनि कप्तान पारसले एक छेउबाट नेपालको इनिङ्स धानिरहेका थिए। उनलाई गतिलो साथ दिने कुनै खेलाडी भएन। तैपनि छैटौँ विकेटका लागि पारसले सोमपाल कामीसँग ४२ रनको साझेदारी गर्दै स्कोर उकासे। तर यी दुईबीच नै तालमेल मिलेन र सोमपाल कामी २५औँ ओभरमा आउट हुन पुगे। पारसले नेपालको लागि सर्वाधिक ६३ रन बनाए। तर २९औँ ओभरको पहिलो बलमा पारस स्वयं आउट हुँदा नेपाल १००-७ को स्थतीमा पुग्यो। त्यसपछि नेपालको लागि राम्रो साझेदारी हुन सकेन र पूरा ओभर पनि खेल्न सकेन। नेपाल ४७.४ ओभरमा अलआउट भयो।

 

स्कटल्याण्डको उत्कृष्ट बलिङ

नेपाललाई कम स्कोरमा रोक्न सुरुवातदेखि नै उत्कृष्ट बलिङ गरेको स्कटल्याण्डका बलरले विकेट पनि निरन्तर लिए। यसअघिका दुई खेल नखेलेपनि नेपाल विरुद्ध स्टुअर्ट ह्विलिङटनले राम्रो बलिङ गरे। उनले १० ओभर बलिङ गर्दा ३५ रन खर्चेर नेपालको ३ विकेट लिए। यस्तै ८ ओभर बलिङ गरेका सरिफले २ मेडन राख्दै २१ रन मात्र खर्चेर २ विकेट हात पारे। एलासदाइर इभान्सले ८.४ ओभरमा २ मेडन राख्दै २४ रन खर्चेर २ विकेट नै लिए।

स्कटिस बलरले नेपालका खेलाडीलाई छक्का हान्न समेत दिएनन्।

 

कोत्जरको विकेट लिन नसक्नु

स्कटल्याण्डलाई ४ विकेटको जित दिलाउँदा कप्तान केल कोत्जरले नटआउट ८८ रनको योगदान गरे। ओपनिङ गरेका कोत्जरले १३६ बल खेल्दै ७ चौका र ३ छक्का समेत प्रहार गरे। अर्को छेउबाट विकेट झरेपनि कोत्जरले एक छेउबाट स्कटिस इनिङ्स सम्हाल्दै लगातार तेस्रो जित दिलाए। नेपालले कोत्जरको विकेट लिन सकेको भए खेलले अर्कै मोड लिन सक्थ्यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell