PahiloPost

Dec 12, 2018 | २६ मंसिर २०७५


वर्ल्डकप क्वालिफायर : नेपाल Vs हङकङ (प्रिभ्यु)


पहिलोपोस्ट

वर्ल्डकप क्वालिफायर : नेपाल Vs हङकङ (प्रिभ्यु)

काठमाडौं : जिम्बावेमा भइरहेको आइसीसी क्रिकेट वर्ल्डकप क्वालिफायरमा नेपालले समूह चरणको अन्तिम खेलमा सोमवार हङकङसँग भिड्दैछ। दुवै टोलीका लागि यो खेल उत्तिकै महत्वपूर्ण छ। यसअघि लगातार ३ खेल हारेको नेपाल अंकविहीन छ र ५ टोली रहेको समूह बी को सबैभन्दा पुछारमा छ। ३ मध्ये १ खेल जित्दै २ अंक जोडेको हङकङ अफगानिस्तानसँग रनरेटमा पछि पर्दै चौथो स्थानमा छ।

समूह बी बाट घरेलु टोली जिम्बावे र स्कटल्याण्ड लगातार ३ खेल जित्दै यसअघि नै सुपर सिक्समा पुगिसकेका छन्। त्यसैले नेपाल र हङकङबीचको खेल सुपर सिक्समा पुग्ने तेस्रो टोलीको लागि निर्णायक मानिएको छ। यस खेलमा हङकङ विजयी भए ४ अंक जोड्दै समूहमा तेस्रो भएर सुपर सिक्स पुग्नेछ। नेपालले सामान्य अन्तरमा हङकङलाई पराजित गरे तीन वटै टिमको समान २ अंक हुन्छ र यस्तोमा राम्रो रनरेटको आधारमा अफगानिस्तान सुपर सिक्समा पुग्नेछ।

नेपालको हकमा भने सुपर सिक्स पुग्न ठूलै चमत्कार हुनुपर्छ। नेपालले ठूलो अन्तरमा हङकङलाई पराजित गरे मात्र सुपर सिक्स पुग्नेछ। तर, यो निकै गाह्रो छ। अफगानिस्तानको रनरेट राम्रो छ।

नेपाल सुपर सिक्समा पुग्न असफल भएमा वान डे मान्यता पाउने बाटो अझै कायम रहनेछ तर त्यसका लागि अफगानिस्तान सुपर सिक्समा पुग्नुपर्ने हुन्छ। क्वालिफायरमा सहभागी ६ एसोसिएट राष्ट्रमध्ये नेदरल्याण्ड्स (डब्लुसिएल जितेका कारण वान डे मान्यता पक्का भइसकेको) बाहेक अन्य तीन ३ उत्कृष्ट टोलीले मात्र वान डे मान्यता पाउने प्रावधान छ। समूह बी बाट यसअघि नै एसोसिएट राष्ट्र स्कटल्याण्डले सुपर सिक्समा स्थान बनाइसकेको छ। अब समूह बी बाट हङकङ सुपर सिक्समा पुग्ने र समूह ए बाट युएई सुपर सिक्समा पुगे भने नेपालले प्लेअफमा जस्तै नतिजा निकाले पनि वान डे मान्यता पाउने छैन।

अर्को समूहबाट नेदरल्याण्ड्स र नेपालको समूहबाट अफगानिस्तान सुपर सिक्समा पुगेमा भने नेपालले प्लेअफको पहिलो खेल जित्नैपर्ने छ वान डे मान्यता पाउन। यस्तो अवस्था आए नेपाल, हङकङ र पपुवा न्यू गिनीमध्ये एक टोलीले मात्र वान डे मान्यता पाउनेछ।

यसका लागि समूह बी जस्तै समूह ए को नतिजामा पनि नेपालले भर पर्नुपर्ने हुन्छ।

समूह ए मा युएई ३ खेलबाट २ जितका साथ ४ अंक जोड्दै तेस्रो स्थानमा छ। २ अंक मात्र जोडेको नेदरल्याण्ड्स चौथो स्थानमा छ।नेदरल्याण्डसले अन्तिम खेलमा वेष्ट इन्डिजलाई हराउने र युएई आयरल्याण्ड्सँग पराजित भएमा मात्र नेदरल्याण्ड्स सुपर सिक्स पुग्न सक्छ। वेष्ट इन्डिजले नेदरल्याण्ड्सलाई पराजित गरेमा युएई पराजित भए पनि सुपर सिक्स पुग्नेछ।

क्वालिफायर अन्तर्गत समूह चरणका चार खेल सोमवार हुँदैछ। चारवटै खेल नेपालका लागि महत्वपूर्छ छ।

अहिलेसम्म समूह ए बाट वेष्ट इन्डिज तथा समूह बी बाट जिम्बावे र स्कटल्याण्ड सुपर सिक्समा पुगिसकेका छन्। समूहमा चार वटै खेल हारेको पपुवा न्यू गिनी सुपर सिक्सबाट बाहिरिसकेको छ।

बाँकी रहेको ६ टिम सुपर सिक्सको ३ स्थानमा रहन संघर्षरत छन्। समूह चरणको अन्तिम खेलपछि यो सबैको छिनोफानो हुनेछ।

 

सुधारिएको हङकङ र रन बनाउन संघर्षरत नेपाल

क्वालिफायरमा पहिलो खेलमा स्कटल्याण्ड विरुद्ध ९१ रनमा अल आउट भएको हङकङले त्यसपछिको दुई खेलमा सुधारिएको प्रदर्शन गरेको छ। दोस्रो खेलमा अफगानिस्तानलाई २४१ रन बनाउँदै जित हात पारेको हङकङले तेस्रो खेलमा पनि जिम्बावे विरुद्ध १७३ रन बनाएको थियो। त्यसअघि हङकङले जिम्बावेलाई २६३ रनमा रोकेको थियो।

यता जिम्बावेले नेपालको विरुद्धको पहिलो खेलमै ३८० रन बनाउँदा नेपालले जवाफमा २६४ रन बनाएको थियो। तर त्यसपछिका दुई खेलमा भने नेपाल रन बनाउनमै संघर्षरत छ। स्कटल्याण्ड विरुद्ध १४९ रन बनाएको नेपालले अफगानिस्तान विरुद्ध १९४ रन बनाएको थियो। तर दुवै खेल जित्न नेपाललाई उक्त स्कोर पर्याप्त भएन। नेपालको तर्फबाट कप्तान पारस खड्का बाहेक अन्य खेलाडीले सम्झन लायक ब्याटिङ गर्न सकिरहेका छैनन्। यस्तै बलियो मानिएको नेपाली बलिङको पनि जिम्बावेमा गतिलै परीक्षण भइरहेको छ।  

उता हङकङका एहसान खान सर्वाधिक विकेट लिनेको शीर्ष स्थानमा छन्। उनले ३ खेलबाट ९ विकेट लिइसकेका छन्। हङकङकै एहसान नवाज ६ विकेट लिँदै संयुक्त रुपमा चौथो स्थानमा छन्। यस्तै ब्याटिङतर्फ अंशुमन रथ (१५०) छैटौँ स्थानमा छन्। नेपालका कप्तान पारस खड्काले ३ खेलमा १७८ रन बनाएका छन्। तर नेपालको खेलेको खेलले वान डे मान्यता नपाउने भएका कारण खड्काको स्कोर लिस्ट ए मा मात्र गणना हुनेछ।

समग्र क्वालिफायरमा भने खड्का सर्वाधिक रन बनाउनेमा छैटौँ स्थानमा छन्।

 

नेपाल भर्सेस हङकङ (हेड टु हेड)

नेपाल र हङकङले पछिल्लोपटक वर्ल्ड क्रिकेट लिग च्याम्पियनसीप खेलेका थिए। जसमा पहिलो खेल हङकङले जितेको थियो भने दोस्रो खेल वर्षाका कारण रद्ध भएको थियो।

चार वर्ष अघि वर्ल्डकप क्वालिफायरमै भएको भेटमा भने हङकङ १० विकेटले विजयी भएको थियो।

 

कुल खेल : ११

नेपाल विजयी : ६

हङकङ विजयी : ५

 

१९९६ एसीसी ट्रफी इलाइट

नेपाल १३७ -४९ ओभर  हङकङ १३९/४ -३३.३ ओभर

हङकङ ६ विकेटले विजयी

 

१९९८ एसीसी ट्रफी इलाइट

नेपाल १५० -३८ ओभर  हङकङ १५४/४ -२८.१ ओभर

हङकङ ६ विकेटले विजयी

 

२००० एसीसी ट्रफी इलाइट

हङकङ २६८/३ -५० ओभर  नेपाल ८९ रनमै अलआउट २४ ओभर

हङकङ १७९ रनले विजयी

 

२००६ एसीसी ट्रफी इलाइट

नेपाल २११/७ -५० ओभर  -१२४ ४३.३ ओभर

नेपाल ८७ रनले विजयी

 

२००८ एसीसी ट्रफी इलाइट

नेपाल २४५/७ -५० ओभर  हङकङ २०१/९ -५०ओभर

नेपाल ४४ रनले विजयी

 

२०१० एसीसी ट्रफी इलाइट

नेपाल २३६/७ -५० ओभर  हङकङ ११८ -३३.४ ओभर

नेपाल ११८ रनले विजयी

 

२०१२ एसीसी ट्रफी इलाइट

नेपाल २२५/५ ५० ओभर, हङकङ १०० -३७ ओभर

नेपाल १२५ रनले विजयी

 

२०१४ एसीसी प्रिमियर लिग

हङकङ १८१ -४१.५ नेपाल १४७/३ -३४.१

नेपाल डिएलमा ७ विकेटले विजयी

 

२०१४ वर्ल्डकप क्वालिफायर

नेपाल १५० -४९.३ ओभर हङकङ १५४ -३३.२ ओभर

हङकङ १० विकेटले विजयी

 

२०१७ एसीसी इमर्जिङ कप

हङकङ २१४ -५० ओभर नेपाल २२०/३ -४४.२ ओभर

नेपाल ७ विकेटले विजयी

 

२०१७ डब्लुसिएल

हङकङ १९४ -५० ओभर नेपाल १११ -३४.५ ओभर

हङकङ ८३ रनले विजयी

 

 



वर्ल्डकप क्वालिफायर : नेपाल Vs हङकङ (प्रिभ्यु) को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट