PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

धर्म प्रचार शैलीको विरुद्ध



धर्म प्रचार शैलीको विरुद्ध
तस्बिर सौजन्य: गोलनेपाल डटकम

किशोर दाहाल-
जहाँतहाँ बेला न कुबेला ‘यशुको सन्देश’ बाँड्नेहरुले ‘लास्टै’ दिक्क लगाए। पढ्नैपर्ने त्यस्तो बिशेष कुरा भए, मन परे, रुची भए मान्छेले किनेरै पनि पढ्छन्। जबर्जस्ती थमाउनु पर्ने जरुरी छैन। नत्र एउटा सुरमा, एउटा तनावमा हिँडिरहेको मानिसलाई ‘एक छिन’ भन्दै ‘दिमाग चाट्नेहरु’लाई समातेर कारबाही गर्न मिल्दैन? कोही–कोही भने घरको गेटको घण्टी बजाउन आइपुग्छन्। कि, यिनीहरु सरकारी एजेन्ट हुन्?

मलाई कुनै धर्मको बिरोध गर्नु छैन। न त समर्थन नै। तर, सडक पेटिका यस्ता नौटङ्कीबाजहरुले गर्दा धर्मका नाममा कमल थापा ठीक छन् कि भनेर सोच्ने दिन नआओस्।

धर्म निरपेक्षताले सबैलाई आफ्नो धर्म मान्ने छुट दिएकै छ। तर, यसको मतलब धर्मप्रति रुची नै नभएकालाई समेत धार्मिक ‘अतिवाद’ तिर धकेल्ने काम राम्रो होइन। यसको अन्त्य हुनुपर्छ।

जो कोंही मन्दिर, मस्जिद, चर्च वा गुम्बा जाओस् र धर्मको खास अर्थ बुझोस्। त्यसमा ऊ स्वतन्त्र छ। तर ‘नेटवर्किङ व्यवसायी’ले सदस्य सङ्ख्या बढाउन ‘पापड बेलेजस्तो’ हर्कत धर्मभिरुहरुले बन्द गरुन्।

स्पष्ट के छ भने कुनै पनि धर्मगुरुहरु अवतारी थिएनन्। उनीहरु आफ्नो समयमा अरुभन्दा फरक थिए र बहुजन हितका निम्ति आफुलाई समर्पित गर्दथे (होला)। त्यसकारण उनीहरुलाई पुजा प्रार्थना होइन, सम्मानको खाँचो छ। बस्, त्यति ! हामी जति धेरै धर्मगुरुहरुको क्षमतामा विश्वास गरिरहेका छौं, त्यति क्षमतावान् उनीहरु थिएनन्/होइनन्। सायद उनीहरु स्वयंलाई पनि आफुप्रति त्यतिधेरै विश्वास थिएन होला। 

म धर्म विज्ञ होइन। तर यसमा देखिएका केही छिद्रहरु र ढोङले गर्दा म यसबाट परै छु। तर, धर्मका नाममा फैलिरहेको व्यापारी प्रवृति पटक्कै चित्त बुझेको छैन। सडक किनारामा, घरको गेटमा ‘कुकरको रबर’ बेचेजस्तो ‘यशु वाणी’को किनबेच कुनै हालतमा सही मान्न सक्दिनँ। 

जीवनजगत बुझ्नको लागि यशु मात्रै होइन बुद्धवाणी वा अन्य महान् व्यक्तिहरुको वाणी सुन्दा कसैलाई केहि घाटा हुँदैन। बरु, फाइदै हुन्छ। तर, त्यसमा श्रवण गर्ने व्यक्तिको स्वेच्छा र चासो प्रधान हुन्छ। तर कसैले कुनै एउटा व्यक्तिको वाणीमात्रै सही हो, अरु सबै बकवास हुन् भन्छ भने त्यसले दोश्रो व्यक्तिलाई स्वत: अतिवादतिर धकेलिदिन्छ। धर्मको प्रचार–प्रसार पनि धार्मिक नैतिकताको घेरोले बाँधिन जरुरी छ। अर्को व्यक्तिलाई मन नपर्दानपर्दै ‘ल्याङल्याङ’ गरिरहने प्रवृत्तिको कतै धार्मिक रुपमै प्रतिकार हुन थाल्यो भने त्यसले सिर्जना गर्न सक्ने समस्या भयंकर हुन्छ। किनकि भेटेजति सबैले धर्म प्रचारकप्रति सहमति वा भद्र असहमति मात्रै राख्लान् भन्न सकिन्न। कसैले अभद्र व्यवहार देखायो भने त्यसले आगोको रुप लिन सक्छ, किनकि यो आस्थाको कुरा हो। 

मलाई क्रिस्चियन धर्मको कुनै पनि चलन, नियम विपरित एक शब्द पनि बोल्नु छैन। यो उनीहरुको आस्थाको कुरा हो। विश्वासको कुरा हो। मेरो असहमति भनेको यसको प्रचारशैलीले मलाई पुर्‍याएको अप्ठ्यारोको हो। त्यससँग जोडिएका अन्य सन्दर्भको हो। जुनसुकै धर्मका केही कुरा विज्ञानसम्मत देखिए, त्यसलाई अपनाउन मलाई पनि कुनै आपत्ति हुने छैन।

त्यस्तै, हिन्दु, बौद्ध, इस्लाम वा अन्य धर्मका मान्यताहरुमा पनि यो कुरा लागु हुन्छ। धर्म जुनसुकै होस्, त्यसमा मलाई चित्तबुझ्दो केही कुरा पाएँ भने त्यसलाई स्वीकार गर्न मलाई सोही धर्मालम्बी बन्नु जरुरी छैन। तर, अन्य धर्मका यो यो कमजोरी छन् भन्दै अर्काको कमजोरी खोतल्ने क्रिस्चियन प्रवृत्ति र उनीहरुलाई लगाइने ‘आयातित धर्म’को फत्तुर, दुवैको विपक्ष छु। राम्रो भए आयातित भएपनि केही फरक पर्दैन। नराम्रो भए उत्पादितलाई पनि विनाश गर्नुपर्छ। तर, आफ्नो आलोचना एक वाक्य नसुन्ने धर्मभिरुहरुले मेरो दिमाग खराब नगराउन्, मेरो अपेक्षा त्यति हो। आफ्नो आङको भैंसी नदेखेर अर्काको आङको आङमा जुम्रा खोज्नु भनेको अर्कोलाई अतिवादी बनाउने प्रयत्न हो। 

धर्ममाथि व्यापक बहश हुनुपर्छ जस्तो लाग्छ। यो विषय पनि राजनीतिक दर्शनजस्तो हुनुपर्छ। व्यापक रुपमा खोतलखातल हुनुपर्छ। खासमा जुनसुकै धर्ममा पनि छिद्रहरु छन्। तर, त्यसलाई आस्था वा विश्वासले छोपिन्छ। कमजोरी खोतलेर सुधार गर्नुको साटो झन् लुकाइन्छ। कमजोरी खोतलिए पनि अर्को कुनै अमुक धर्मको खोतलिन्छ, आफ्नो खोतलिन्न। यो नै धर्मको खास कमजोरी हो जस्तो लाग्छ। राजनीतिज्ञ, साहित्यकार वा दार्शनिकको जीवनशैली र विचारमाथि समालोचना भएजस्तै धर्मका प्रवर्तक, पात्र, विचार, व्यवस्था र अन्य विविध पक्षमाथि छलफल हुने हो भने धर्महरु बकवास बिषय बन्नबाट जोगिने थिए कि!

म कुनै पनि धर्मप्रति आस्था राख्दिन। तर, हिन्दु परिवारमा जन्मिएको हुनाले मेरा सोचाई, व्यवहारमा कतै न कतै स्वत: हिन्दुत्व झल्किन्छ। तर, म कसैलाई म हिन्दु धर्म मान वा नमान भन्न सक्दिनँ। अन्य कुनै धर्मप्रति पनि आस्था राख वा नराख भन्न सक्दिनँ। किनकि यो व्यक्ति इच्छामा भर पर्ने कुरा हो। मैले बढीमा धर्मप्रति मेरो बुझाई सुनाउन सक्छु, कसैले इच्छा व्यक्त गर्‍यो भने। म चाहन्छु धर्म प्रचार यत्ति र यस्तैमा सीमित होस्। सालिन होस्। 

मेरो अभिप्रायः कुनै धर्मको समर्थन र आलोचना गर्नु होइन। हातहातमा जबर्जस्ती ‘यशु वाणी’ नामका पुस्तिका थमाइने काम बन्द गरौँ भन्ने मात्रै हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell