PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

​.. अनि म नाङ्गिएँ !



​.. अनि म नाङ्गिएँ !

  • अनन्त कोइराला/पहिलोपोस्ट-
काठमाडौंस्थित भारतीय दूतावासमा विगत साढे चार वर्षदेखि ‘प्रेस एण्ड पब्लिसिटी अफिसर’का रुपमा काम गर्ने आभास कर्माचार्यका केही 'नाङ्गा' फोटोहरु एकाएक सामाजिक सञ्जालमा चर्चाको विषय बने। स्टुडियोमा जाँदा पनि उनलाई पुरै नाङगिन्छु भन्ने थिएन। तर बिस्तारै निर्वस्त्र भए। उनी भन्छन्, ‘त्यतिबेलासम्म मात्र अप्ठेरो लाग्दोरहेछ जतिबेलासम्म हामी नाङ्गिदैनौं। एकपटक नाङ्गिएपछि त्यो पाँच मिनेटका लागि होस् या दुई घण्टाका लागि त्यसले केही फरक नपार्ने रहेछ।‘

 
‘मान्छे आमाको गर्भबाट निस्किन्छ, अनेकौं बन्धनमा जीवनभरी जकडिन्छ र अन्त्यमा फेरि पृथ्वीको गर्भमा बिलिन भएर जान्छ,’ जीवनलाई यस्तै बुझे आभासले। यही जीवनको बुझाइभित्र रहेर उनले फोटोग्राफर विजय गजमेरसँग मिलेर गर्भासयमा बच्चाको अवस्थितिको ‘पोट्रेट’ खिचे, ठ्याक्कै उस्तै ‘पोजिसन’मा, नाङ्गै।

आभास कर्माचार्य, काठमाडौंस्थित भारतीय दूतावासमा विगत साढे चार वर्षदेखि ‘प्रेस एण्ड पब्लिसिटी अफिसर’का रुपमा काम गर्छन्। उनको रुचीको विषय साहित्य र आर्ट पनि हो। 

आभासको त्यही फोटोले उनलाई कपीलमणि दीक्षितसँग भेटायो। यी तिनै कपीलमणि दीक्षित हुन् जो ‘न्युड आर्ट’का लागि चिनिन्छन्। उनको विशेषता, उनी मोडललाई प्रत्यक्ष अगाडि राखेर ‘न्युड आर्ट’ गर्छन्।



‘न्युड आर्ट’लाई खासगरी पश्चिमा आर्टको परम्पराको रुपमा मानिन्छ। यो महिला वा पुरुषको सुन्दरता, मानवीय गुण, शरीरको हाउभाउ वा भंगी देखाउनका लागि प्रयोग गरिन्छ। दीक्षित नेपालमा ‘न्युड आर्ट’का लागि पायोनियर मानिन्छन्।

अमेरिकाको टेक्सास विश्वविद्यालयबाट फाइन आर्टमा डिग्री गरेका दीक्षित र त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र/मानवशास्त्रमा डिग्री गरेका आभासको भेट नयाँ सिर्जनाको आधार बन्यो।

‘म कपिलजीलाई एउटा आर्टिस्टको रुपमा सामान्य रुपमा चिन्थेँ। मैले त्यो फोटो पोस्ट गरेपछि उहाँले मलाई लेख्नुभयो,’ दीक्षितसँगको परिचयको दृष्टान्त सम्झिँदै उनले भने, ‘उहाँले म पनि यस्तो आर्ट गर्छु, ‘आइ एम अ न्युड आर्टिस्ट’ भन्नुभयो।‘

आभासलाई लाग्छ, ‘व्यक्तिलाई समाजले दिएका जीवनका व्याख्याहरु र धारणाहरु, मुल्य र मान्यताहरु समयको विकासक्रमसँगै आफ्नै अनुकूल व्याख्या गर्छन् मान्छेहरु।‘ मान्छेका आफ्नै विश्वास हुन्छन्, चाहना हुन्छन्, सपना हुन्छन् र इच्छाहरु हुन्छन्। तर सामाजिक मूल्य र
मान्यताले तिनलाई दबाएर राख्दिन्छन्। मान्छे समाजले तोकेको मापदण्ड बाहिर गएर सपना देख्नै सक्दैन।

दीक्षितको सुन्धाराको स्टुडियोमा गएर उनका ‘न्युड आर्ट’ हेर्दा आभासलाई कुनै पनि ‘आर्ट’ ‘भल्गर’ लागेनन्। त्यसो त उनी आफैं पनि ‘न्युडिटी’लाई ‘नेकेडनेस’ वा ‘भल्गारिटी’ मान्दैनन्।

‘यो त कला प्रदर्शनीको माध्यम हो, जीवनलाई नजिकबाट नियाल्ने प्रयास हो,’ यसै भन्छन् उनी। उनी भन्छन्, ‘सेन्सुआलिटी’ र ‘भल्गारिटी’का बीचमा एउटा सानो त्यान्द्रो हुन्छ, त्यसलाई कसरी सन्तुलित बनाउने भन्ने महत्वपूर्ण हो।‘

भनिन्छ, क्यान्भास सँधै समाजको ऐना बन्न सक्दैन, अथवा समाजको ऐना मात्र बनेर क्यान्भास अडिन सक्दैन। क्यान्भास कहिले समाजको पथ प्रदर्शक बन्छ, अनि कहिले समाजको वैरी। समाज, सामाजिक मुल्य र मान्यतालाई एक कदम पछाडि छोडेर क्यान्भास अगाडि बढिरहन्छ।

दीक्षितसँग ‘बडी आर्ट’को कुरा भयो। अनलाइनमा त आभास पहिलेदेखि नै ‘बडी आर्ट’को बारेमा हेर्ने र अध्ययन गर्ने गर्थे। तर यी दुवै यो विषयमा नयाँ थिए। न्युड आर्टिस्ट भएपनि दीक्षितले ‘बडी आर्ट’ गरेका थिएनन्। बीचमा दुवै आफ्नै काममा व्यस्त भए र केही समय यो ‘आर्ट’को कुरा पनि रोकियो।

गफगाफ हुँदै गर्दा ‘बडी आर्ट’ गर्ने कुरा भयो।

आभासलाई आफैलाई पनि ‘बडी आर्ट’ गर्ने कि नगर्ने दोधार थियो। एकातिर उनको जागिरको ‘प्रोटोकल’को कुरा थियो अनि अर्कोतिर घर, परिवार, इष्टमित्र। ‘मैले के गरिरहेको छु भनेर कतिले बुझ्लान्? भन्ने पनि थियो,’ आभासले सुनाए, ‘पछि लाग्यो, संसारमा भएका सबै मान्छेलाई कहाँ खुसी बनाउन सकिन्छ र !’

शनिबार आभास दीक्षितको स्टुडियो पुगे। फोटोग्राफर मिलन लामालाई पनि बोलाए। ‘स्टुडियोमा जाँदा पनि म पुरै नाङगिन्छु भन्ने थिएन,’ आभास सम्झिन्छन्, ‘कम्तिमा अन्डरवेयर चाहिँ लगाउँछु वा सलले छोप्छु।‘

आभासले त्यसै गरे। ‘बडी आर्ट’ सुरु भयो। यो पेन्टिङ हैन। यसलाई ‘इन्स्टलेसन आर्ट’ अर्थात् प्रतिस्थापन कला भनिन्छ। यसको पृष्ठभूमिमा पेन्टिङ छ तर यसको मुख्य वस्तु त्यो पात्र हो, अर्थात् यसमा चाहिँ आभास। उनको शरीरको हाउभाउ, भावभंगीबाट उनको अवस्था, त्यो अवस्थामा उनको प्रतिक्रिया, त्यसको विरोध लगायतका कुरा यसमा देखाउने प्रयत्न गरिएको छ।

आर्ट गर्न सुरु गर्दा आभास पुरै नाङ्गो थिएनन्। आर्ट गरिरहेका दीक्षितले सोधे, ‘तपाइँले यो आर्टमा के देखाउन खोज्नु भएको हो? तपाइँ यो किन गर्दै हुनुहुन्छ?’

‘म एकपटक भए पनि आफ्नो लागि बाँच्न चाहन्छु। मेरा सोच, मेरा विचार, मेरा विश्वास र मेरा इच्छाका लागि बाँच्न चाहन्छु र म एकपटक पूरै नाङ्गै हुन चाहन्छु भनेर पनि पाइँदैन। समाजका आफ्ना मूल्य मान्यताहरु छन्, रिग्रेसन छन्, समाजले एउटा बन्धन बनाएको छ, धेरै कठिनाइहरु छन्,’ आभासको जवाफ यस्तै यस्तै थियो। उनी भन्छन्, ‘यो आर्टको ‘थिम’ नै त्यही थियो।‘

आभासको जवाफपछि दीक्षितले भने, ‘त्यसो हो भने तपाइँले पूरै कपडा खोल्नुपर्छ।‘

अब उनलाई झन् दोधार भयो। १०/१५ मिनेट सोचे । ‘कपडा खोलौं या नखोलौं, मेरो अगाडि एकजना आर्टिस्ट छ, उ मेरो पूरै शरीरमा पेन्टिङ गरिरहेछ,’ उनले भने, ‘अर्को एउटा फोटोग्राफर छ, जो मेरो तस्बिर खिचिरहेछ।‘

के गरौं के गरौंको दोधारमै मिलन (फोटोग्राफर)ले ‘खोल्नुस्, नत्र तपाइँ आफूले आफैलाई बन्धनमा राखेको जस्तो देखिनुहुन्छ’ भनेछन्। ‘त्यसपछि मैले सोचेँ, बरु बडी आर्ट नै गर्दिनँ नत्र पूरै गर्छु भनेर पुरै नाङ्गिएँ,’ नाङ्गिँदाको अनुभव सुनाउँदै उनी भन्छन्, ‘त्यतिबेलासम्म मात्र अप्ठेरो लाग्दोरहेछ जतिबेलासम्म हामी नाङ्गिदैनौं। एकपटक नाङ्गिएपछि त्यो पाँच मिनेटका लागि होस् या दुई घण्टाका लागि त्यसले केही फरक नपार्ने रहेछ।‘

रङ् संयोजनको अर्थ  

यसमा निलो, रातो र कालो रङको प्रयोग छ। रङ संयोजनबारे आभास भन्छन्, ‘यो एउटा चाहिँ म स्वतन्त्र हुन चाहन्छु भन्नका लागि प्रयोग भएको छ। त्यस्तै निलो चाहिँ मलाई शान्त हुन देऊ, मलाई मेरै लागि बाँच्न देऊ भन्न प्रयोग भएको छ।‘

‘रातो रङ चाहिँ ‘अग्रेसन’का लागि हो, म तिमीहरुको बन्धन, तिमीहरुको नियमको म विरोध गर्छु भन्नको लागि प्रयोग भएको छ,’ उनले भने, ‘यसमा मेरो आइडिया वा ‘थिम्’ चाहिँ धर्म पनि थियो।‘

‘बडी आर्ट’मा प्रयोग भएको कालो रङले अनेकौं बहानामा एउटा व्यक्तिलाई समाजले कतिसम्म दबाएको छ भन्ने देखाउन प्रयोग गरिएको छ।
शरीरमा प्रयोग गरिएको रङ र आर्टको ‘थिम्’लाई मिल्ने पृष्ठभूमिका लागि पनि दीक्षितको पुरानो ‘इन्स्टलेसन आर्ट’को प्रयोग भएको छ।

काठमाडौं पोस्ट, रिपब्लिका दैनिकको पत्रकार हुँदै भारतीय राजदूतावासको जागिरे उनका लागि नाङ्गिनुभन्दा ठूलो दोधार चाहिँ यसलाई सार्वजनिक गरौं कि नगरौं भन्नेमा पर्‍यो। ‘जागिरमा के भन्लान्, प्रोटोकल के होला, परिवारले के भन्लान्, इष्टमित्रले के बुझ्लान् भन्ने त थियो,’ उनी भन्छन्, ‘जे जस्तो परिस्थिति सिर्जना भएपनि जतिसुकै गाली खाए पनि सहन्छु भनेर सार्वजनिक गरेँ।‘

जागिरको प्रोटोकलको चिन्ता बोकेका उनले ‘न्युड बडी आर्ट’को तस्बिर फेसबुकमा सार्वजनिक गरेपछि अफिसमा प्रशंसा भयो रे। फेसबुकमा त उनको प्रशंसामा सयौं कमेन्ट आएका छन्। ‘मैले सोचेभन्दा राम्रो प्रतिक्रिया पाएँ,’ उनले खुशी व्यक्त गरे।

‘सबै आर्ट सबैका लागि हुँदैनन्। म कोही ७० वर्षको मान्छेलाई यसको बारेमा बुझाउन सक्दिनँ,’ उनका इष्टमित्रको प्रतिक्रियाबारे उनले भने, ‘नबुझ्नेका लागि यसमा म फगत नाङ्गो हुँ। कसैले यसै भने पनि फिस्स हाँस्छु होला सायद।‘ 

(यहाँ प्रयोग भएका सबै फोटोहरु मिलन लामाले खिचेका हुन्। गर्भासयमा बच्चाको अवस्थितिको  एउटा ‘पोट्रेट’ भने विजय गजमेरले खिचेका हुन्)











@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell