PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

रामचन्द्र भन्दा सुजातालाई मिलाउन सुशील कोइरालालाई कठिन



रामचन्द्र भन्दा सुजातालाई मिलाउन सुशील कोइरालालाई कठिन

  • पहिलोपोस्ट -
काठमाडौं : नेपाली कांग्रेसको १३औं महाधिवेशनको प्रारम्भिक चरण सुरु भएको छ। महाधिवेशनको करिब एक महिनाअघि माघ १५ गतेबाट सुरु भएको गाउँ अधिवेशन देखि नै संस्थापन र देउवा पक्षमा कसको पल्ला भारी भनेर हिसाव किताव सुरु भएको छ। वरिष्ठ नेता शेरबहादुर देउवाले आफ्नो पक्षमा मजबुत पकड जमाउन एक ढिक्का भएको आभाष दिइरहेका छन्। उनको पक्षमा कुनै पदमा समूहलाई फाइदा हुनेगरी अर्को पक्षबाट कोही नेता आउँछ भने त्याग गर्ने अनौपचारिक मतैक्यता बनेको छ।
 
तर, संस्थापन पक्षमा भने वार्तमा सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल र अहिले केन्द्रीय सदस्य रहेकी पूर्व सभापति गिरिजाप्रसाद कोइरालाकी सुपुत्री सुजाता कोइरालाले आफूलाई सभापति पदको दावेदारका रुपमा प्रस्तुत गरिरहेका छन्। यस बाहेक महामन्त्री कृष्णप्रसाद सिटौलाले पनि अब दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न आग्रह गर्दै आफूलाई नेताका रुपमा दावी गरिरहेका छन्। यस्तो अवस्थामा सभापति सुशील कोइराला समूह व्यवस्थापनको चुनौती सामना गरिरहेका छन्।


कसको व्यवस्थापनमा कति चुनौती?

कांग्रेस वित्तमा उपसभापति रामचन्द्र पौडेलले सभापतिमा दावेदारी प्रस्तुत गर्दै देश दौडाहा सकेका छन् भने उनले अनलाइन चन्दा संकलन समेत अघि बढाएका छन्। त्यस हिसाबले उनले सुशील कोइरालाको आग्रहमा सजिलै सभापतिको दावी छोड्न सक्ने अवस्था छैन। देश विदेशबाट चन्दा संकलन समेत गसिकेकाले राजनीतिक हैसियत बचाउन मत जतिसुकै आए पनि एक पटक चुनाव लड्ने अडानमा छन् पौडेल।
 
‘कार्यवाहक सभापतिको आश्वासन दिएर अघिल्लो पटक उपसभापतिमा नियुक्ति गर्न समेत सुशील कोइरालले महिनौ लागइदिनुभयो,’ पौडेलका सहयोगीले भने, ‘अहिले पनि कार्यवाहकको जिम्मेवारी पहिलो चरणमै दिने प्रस्ताव आएको छ, तर अब विश्वास नगर्ने भन्दा पनि सभापतिमा दावी छोड्न सक्ने अवस्थामा रामचन्द्रजी हुनुहुन्न।’ उनले सभापति कोइरालले अघिल्लो पटक नै एक पटकका लागि चुनाव लड्छु भनेका कारण अब छोड्नुपर्ने अवस्था रहेको बताए। 
 
पौडेलले पनि कोइरालले अघिल्लो पटक एक पटकका लागि भनेको र सभापति र प्रधानमन्त्री दुवै पदको जिम्मेवारी सम्हालिसकेकाले अब पदमा ओगट्न नहुने तर्क गरिरहेका छन्। त्यसैले राजनीतिक नैतिकता र समान राजनीतिक ‘हाइट’का कारण पौडेलको व्यवस्थापन कोइरालाका लागि पहिलो चुनौती हो।
 

दोस्रो तर सबैभन्दा जटिल सुजाता

सुशील कोइरालाका लागि दोस्रो तर अत्यन्त जटिल चुनौती हुन् सुजाता कोइराला। नेपाली कांग्रेसको सभापति गिरिजाप्रसाद कोइराला हुँदा सबैभन्दा बढी बहसमा रहने पात्र थिए सुशील र सुजाता। सुशील कोइरालले गिरिजाप्रसाद कोइरालासँग अन्य नेताहरुलाई जस्तै भेटघाटमा समेत प्रतिबन्ध लगाएपछि सुशील र सुजाताबीच पटक पटक भनाभन हुने गर्थ्यो।
 
सम्बन्ध जति नराम्रो देखिन्थ्यो, त्यति नै राम्रो पनि थियो भनिन्छ दुईबीच। नातामा दाजु सम्बन्ध रहेका सुशील कोइरालले सुजाताका कुरा नसुन्न गिरिजाप्रसादलाई गर्ने आग्रह र भेटघाटका लागि समेत सुशीलको अनुमति लिनुपर्ने बाध्याताका कारण दुईबीच सम्बन्ध उतार चढावमै चलेको थियो। त्यस्तो सम्बन्ध कायम रहेकै समयमा माधव नेपाल नेतृत्वको सरकारकामा उपप्रधान तथा परराष्ट्रमन्त्री बनाएर सरकारमा पठाउँदा विरोध गर्ने व्यक्ति पनि उनै सुशील कोइराला थिए।

२०६७ सालको भदौमा १२ औं महाधिवेशनका लागि सुशील कोइरालले सभापतिको उम्मेद्वारी दिन सानेपामा अन्य नेतासहित भेला हुँदा सुजाता छुट्टै महामन्त्रीमा उम्मेद्वारी दिने मनस्थिति सहित मण्डिखाटारस्थित निवासमा बसिरहेकी थिइन्। सुशील कोइरालले महामन्त्रीको उम्मेद्वार आफूलाई बनाउनु पर्ने नभए छुट्टै उम्मेद्वारी सहित चुनाव लड्ने घोषणा उनको थियो। उनले त्यतिवेला महामन्त्री पदमा आफूलाई नराखे सभापति पदमै उम्मेद्वारी दिने तयारी गरेको बताउने गरेकी थिइन्।

लामो कसरत पछि सुशील कोइरालले उनलाई केही आश्वासन दिएर सानेपा बोलाए र उम्मेद्वारी घोषणा कार्यक्रममा सहभागी गराए। के आश्वासन दिएर सुशीलले सुजातालाई सानेपा लगेका थिए भन्ने औपचारिक जानकारी कसैलाई नगराए पनि सुजाताले आफ्ना विश्वास पात्रहरुलाई उपसभापति बनाउने भनेर धोका दिएको बताउने गरेको उनका सहयोगी बताउँछन्।

सम्बन्धमा उचार चढाव देखिए पनि सुजाताले सुशील कोइरालालाई २०६६ चैत्रमा गिरिजाप्रसाद कोइरालाको निधनपछि खाली रहेको महाराजगञ्जस्थित भाडाको घरमा सुजाताले नै लगेकी थिइन्। सुजाताको आग्रहमा पुरानै कोइरालाल निवासमा बस्न थालेपछि सशील सुजाता सम्बन्धमा केही स्थिरता देखिए पनि त्यो सम्बन्ध स्थायी भने हुन सकेन। २०७० सालको संविधानसभा चुनाव पछि नेपाली काग्रेस पहिलो पार्टी भयो, सुशील कोइराला माघमा प्रधानमन्त्री निर्वाचित भए। दुई कोइरालाबीच राम्रै सम्बन्ध अघि बढिरहेको थियो। तर, जब संविधान जारी भयो, सुशील कोइराला प्रधानमन्त्रीबाट हट्नुपर्ने अवस्था आयो। प्रधानमन्त्रीबाट हटेपछि कोइराला पुरानो भाडाको घरमा फर्केनन् बरु उनले केही महिना अघि नै पुरानो भाडाको घरमा नफर्कने जानकारी घरवालालाई गराइसकेका रहेछन्। घर भाडामा समेत लागिसकेको रहेछ।

सुशीलले सरकारी निवास बालुवाटार छोड्न लाग्दा घर नभएकै कारण केही दिन ढिला गर्नुपर्‍यो। उनी पहिले पहिले बस्दै आएको बुद्धनरस्थित भाञ्जा रमेश भण्डारीको घरमा फर्कने तयारी गरे। त्यहाँ पुन: स्थायी बसोबास नहुने निष्कर्ष निकालियो। तर, बहस जेसुकै गरे पनि सुशील कोइराला बीपीको समिपमा बस्दा आफैले डोहोर्‍याएर स्कुल लगेका डा. सशांक कोइरालालसँग बस्न चाहन्थे। त्यही भयो, कोइराला पहिले लामो समय गिरिजाप्रसाद बसेकै निवास सशांकको घरतर्फ लागे।

पहिले समेत उतार चढावको सम्बन्ध रहेका सुशील र सुजाताबीच त्यहाँ गएपछि पुनः अन्तरसंवादको वातावरण बनेको छैन। सुशील सुजातालाई भन्दा सशांकलाई अघि बढाउन चाहन्छन्। तर सुजाता सहज रुपमा सुशीललाई राजनीति गर्न दिने पक्षमा छैनन्। उनले सुशील कोइराला प्रधानमन्त्री छँदा उनले उम्मेद्वारी नदिए आफू सभापतिको उम्मेद्वार बन्ने घोषणा गर्दै आएकोमा अहिले सुशीलले इच्छा जाहेर गर्दा गर्दै विराटनगर पुगेर सभापति पदमा उम्मेद्वारी दिने घोषणा गरेकी छन्।

यसले सुशीललाई रामचन्द्र व्यवस्थापन भन्दा अप्ठेरोअवस्थामा पुयाइदिएको छ। रामचन्द्रले उम्मेद्वारी दिएमा दोस्रो चरणमा आकर्षक प्रस्तावसहित आफूलाई समर्थन गर्ने विश्वासमा रहेका सुशील सुजाता भड्किएमा सम्हाल्न गाह्रो हुन्छ भन्नेमा विश्वस्त छन्। त्यसैले सुशीललाई ठूलो चुनौतीको रुपमा खडा भएकी छन् सुजाता कोइराला।

सुजाताले देश दौडाहामा निस्किए प्रमुख नेताहरु असफल भएका कारण पार्टीको छवी धुमिल भएको बताउँदै आएकी पनि छिन्। उनले पश्चिमका पहाडी तराईका जिल्ला र पूर्वको भ्रमण सकिसकेकी छिन् भने मध्य क्षेत्र उम्मेद्वारी घोषणा पछिका लागि साँचेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell