PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

फोटोग्राफीको व्याकरणबारे इडनको अनुभव



फोटोग्राफीको व्याकरणबारे इडनको अनुभव

  • अनन्त कोइराला/पहिलोपोस्ट
काठमाडौं : 'फोटोग्राफी 'जीवन बाँचेजस्तो'  हुनुपर्छ,' बिबिसी वर्ल्ड सर्भिसमा कार्यरत बेलायती फोटोग्राफर हेनरी इडन भन्छन्, 'यसमा जीवनको कथा हुनुपर्छ।' 

काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ)को दोस्रो दिन कमलपोखरीको कुमारी हलमा इडन 'सोखलाई पेशामा बदल्दा' (टर्निङ् अ हबी इनटु अ प्रोफेसन) शीर्षकमा बोल्दै थिए।
 
इडनले २० वर्ष अगाडि आफू बिबिसीजस्तो विश्वमा ख्याति भएको टेलिभिजन च्यानलमा व्यवसायिक फोटोग्राफरका रुपमा काम गर्ने सोचेका थिएनन्। 'आफ्नो सोखका रुपमा फोटोग्राफी गरिरहेको म बिबिसी मै काम गरुँला भन्ने त कहिल्यै सोचेको थिइनँ,' उनले भने, 'तर नियमितको कडा परिश्रम र कामप्रतिको लगावले कहा पुर्‍याउँछ भन्न सकिन्न।' 
 
१४ वर्षको उमेरमा फिल्म क्यामेराबाट फोटोग्राफी सुरु गरेका उनी एडभेन्चर मन पराउँछन्। हिमालमा स्की गर्न मन पराउने उनले युरोपका धेरै हिमालमात्र हैन अमेरिकासम्म पुगेर स्की गरिसकेका छन्। सोमबार महोत्सवका लागि काठमाडौं ओर्लेका उनी नेपालका हिमाल पुग्न चाहन्थे तर उनको यात्रा फुल्चोकीमा माउन्टेन बाइकिङ मै सीमित भयो। 'म महोत्सवकै लागि आएको हुँ,' उनले भने, 'तर म यहाँ आफ्नो हरेक समयलाई फरक रुपमा बिताउन चाहान्थेँ। हिमाल पुग्न त सकिनँ तर डाँडा भने चढेँ।'
 
बेलायतमा समुद्र सतहबाट मात्र १० मिटरको उचाइमा घर छ उनको। तर हिमाल उनको मन पर्ने क्षेत्र हो। हिमाल जाँदा उनी फोटो खिचिरहन्थे। उनले 'लोकेसन फोटोग्राफी', 'एक्सन फोटोग्राफी' मात्र हैन व्यवसायिक प्रकाशनका लागि पोट्रेट, कम्पनीको विज्ञापनका लागि फोटो खिच्ने सबै काम गरे। 'विवाहकै फोटो खिचे पनि त्यसमा एउटा जीवन हुनुपर्छ,' इडनलाई लाग्छ, 'यसका लागि फोटोमा रहेका वस्तुबीचको अन्तर्सम्बन्ध हुनुपर्छ। फोटो त्यतिबेला सफल हुन्छ जब त्यसले एउटा सिंगो जीवनका बारेमा बोल्छ।'
 
उनको फोटोग्राफीको सुत्र साधारण छ। व्यवसायिक हुनका लागि साधारण हुन जरुरी छ। 'फोटो खिच्दा पनि म साधारण कुरा हेर्छु, त्यसको फ्रेमिङका लागि कुनै एक अमूर्त रेखा खोज्छु,' उनी भन्छन्, 'फोटोको फ्रेम जहिल्यै त्रिकोणीय होस् भन्ने मेरो मान्यता छ।' बेलायतको चर्चित फूटबल क्लब म्यानचेस्टर युनाइटेडमा समेत अफिसियल फोटोग्राफरका रुपमा काम गरेका इडनका लागि 'नेटवर्क' र बृहत्तर सम्बन्ध महत्वपूर्ण हुन्। 'व्यवसायिक व्यक्तिका लागि धेरै मानिसहरुसँग सम्बन्ध स्थापित गर्नु महत्वपूर्ण छ,' इडनले हाँस्दै भने, 'त्योभन्दा महत्वपूर्ण त्यो सम्बन्धलाई जिवित राख्नु हो।'
 
सम्बन्ध र नेटवर्कका बारेमा उनको रोचक अनुभव छ। १० वर्ष पहिले उनका एक साथी रहेछन्। उनकी एउटी प्रेमिका थिइन्। साथीसँगको नजिकको सम्बन्धका कारण साथीकी प्रेमिकासँग पनि उनको राम्रै सम्बन्ध थियो। तर साथीको ब्रेकअप भयो। उनीहरु छुट्टिए। साथीसँगको सम्बन्धमा पूर्णविराम लागे पनि इडनको सम्बन्ध साथीकी प्रेमिकासँग निरन्तर रह्यो, भलै त्यो फेसबुकमै मात्र किन नहोस्। उनी डिजाइनर थिइन्। ३ वर्षअघि उनले बिबिसीमा काम पाइन्। इडन भन्छन्, 'यो कुरो अनौठो पनि लाग्ला तर मैले बिबिसीमा मेरो साथीकी पूर्व प्रेमिका मार्फत् जागिर पाएँ।'
 
जसरी लेखाइमा व्याकरण हुन्छ त्यसरी नै फोटोग्राफीमा पनि व्याकरण हुन्छ। जसरी लेखाइमा पूर्ण विराम, अल्पविरामको ध्यान दिनुपर्छ त्यस्तै फोटोग्राफीमा पनि त्यो व्याकरण फलो गर्नुपर्छ भन्छन् उनी। 'धेरै फोटोग्राफरले याद नगरेका होलान्,' व्याकरणका बारे बोल्दै उनी भन्छन्, 'फोटोमा देखिने होराइजन (क्षितिज) जहिले पनि फोटोमा रहेको व्यक्तिको टाउकोभन्दा माथि हुनुपर्छ।'
 
अरु काममा जस्तो फोटोग्राफीमा सहुलियत हुँदैन। काममा हुँदा फोटोग्राफर जहिले पनि चनाखो र तयार अवस्थामा रहनुपर्छ। राम्रो फोटोग्राफर हुन जहिल्यै 'आइडिया'मा काम गर्नुपर्छ। उनका विचारमा हरेक क्षण फरक गर्ने सोच सफलताका लागि महत्वपूर्ण छ। 'तपाईँ जहिले पनि 'रेडी टु गो' अवस्थामा रहनु जरुरी छ,' सफलताको सुत्रबारे उनी भन्छन्, 'एक सेकेण्ड तपाईँ रोकिनुभयो, तपाईँको पूरै काम ध्वस्त हुन्छ।'

उनको यो सुत्रले व्यक्तिको हाउभाउको फोटो खिच्दा विशेष अर्थ राख्छ। 'एकपटक फेला पारेको हाउभाउ र इमोसन तपाईँ आफ्नो करिअरभरि नभेट्टाउन सक्नुहुन्छ।' उनी फोटोग्राफरका रुपमा हरेकपटक नयाँ सोच चाहिने उल्लेख गर्छन्। 'सँधै आँखाको 'लेभल'बाट मात्र फोटो खिच्नु ठूलो कुरा होइन तर एउटै 'सट'लाई कहिले 'लो एंगल' वा 'हाइ एंगल'बाट हेर्ने बित्तिकै त्यसको महत्व फरक हुन्छ,' उनी भन्छन्।

प्रविधिको विकासले फोटोग्राफीमा पनि ठूलो प्रभाव पारेको उनको बुझाइ छ। व्यवसायिक फोटोग्राफरले क्यामेरामा आएका नयाँ प्रविधिको उच्चतम उपयोग गर्न सके 'क्रियटिभिटी'को अर्को स्तरमा पुग्न सक्ने बताउँछन् उनी। 'क्यामेरा त अहिले हरेक गोजीमै छ, फोनमै राम्रा क्यामेा छन्,' इडन भन्छन्, 'तर तपाइँले त्यसबाट कस्तो प्रोडक्ट निकाल्नुभयो भन्ने महत्वपूर्ण हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell