PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

छोरो त बित्यो बित्यो, किरिया गर्नसमेत पाएनन्



छोरो त बित्यो बित्यो, किरिया गर्नसमेत पाएनन्

विनोद शाही
सुर्खेत :
गत आइतबार सुर्खेतमा भएको बस दुर्घटनामा बाजुराको गोत्री १ का पहलसिंह दर्जीले छोरो गुमाए।  कमाउनका लागि भारत हिडेका उनका २५ वर्षीय छोरा रामबहादुर दर्जीको बस दुर्घटनामा मृत्यु भयो। 
 
छोरोका शव बुझ्न सुर्खेत आएका उनले सुर्खेतको विरानो बगरमा अन्य परिवारविनै छोराको दाहसंस्कार गरे। एकातिर छोरा गुमाएको पीडा त छँदै थियो अर्कोतर्फ बुधबारदेखि सुर्खेतमा भएको यातायात बन्दले त्यसमाथि नुन छर्केजस्तो भयो - उनले दाहसंस्कार गरेको दुई दिन बितिसक्दा पनि छोराको काजकिरिया गर्न पाएका छैनन्।

पहलसिंहसँगै गोत्रीका १६ जना मृतकका आफन्तले यतिबेला सुर्खेतमा दोहोरो सास्ती खेपिरहेका छन्। विधि र परम्पराअनुसार मृतकको दाहसंस्कार गरेकै दिनदेखि काजकिरियाको प्रक्रिया सुरु हुन्छ। तर, बन्दका कारण सुर्खेतका होटलमा बस्न बाध्य उनीहरु भने रुँदै बसिरहेका छन्। ‘लाश उतै ल्याइदेउ भन्दा पनि लगिदिएनन्, यतै बोलाए,’ पहलसिंहले भने, ‘अहिले घर जान पनि दिँदैनन्।’

गाडीको क्षमताभन्दा बढी यात्रु चढाउने बस र चालकलाई प्रहरीले पक्राउ गरी कारवाहीको प्रक्रिया सुरु गरेपछि त्यसको विरोधमा जिल्लाका यातायात व्यवसायी र यातायात मजदूरहरुले बुधबारदेखि सुर्खेतमा अनिश्चितकालीन यातायात बन्द गरेका छन्। यातायात बन्दकै कारण मृतकका आफन्तहरु सुर्खेतबाट घर फर्किन पाएका छैनन्। उनीहरुले जसरी भएपनि घरसम्म पुर्‍याइदिन माग गर्दै शुक्रबार मध्य पश्चिमाञ्चल क्षेत्रीय प्रशासन र जिल्ला प्रशासन कार्यालयमा धर्ना समेत दिए। प्रशासनले उनीहरुलाई पुर्‍याउनका लागि पहल गरे पनि यातायात व्यवसायीले गाडी दिन नमानेपछि उनीहरु सुर्खेतमै रोकिएका छन्।

गत आइतबार कालिकोटबाट कैलालीतर्फ जादै गरेको बस सुर्खेतमा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो। मृतकमध्ये १६ जना बाजुराको गोत्री गाविसका हुन्।

यसैबीच बढी यात्रु चढाउने चालकहरुविरुद्ध प्रहरी सार्वजनिक मुद्दा दर्ता गरेपछि त्यसको विरोधमा यातायात मजदूरले गरेको बन्दका कारण यात्रुहरु मारमा परेका छन्। विभिन्न ठाउँमा जानका लागि सुर्खेत आएका यात्रुहरु दुई दिनदेखि सुर्खेतमै बस्न बाध्य बनेका छन् ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell