PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

प्राकृतिक विपद्‍भन्दा सडक दुर्घटनाबाट बढी जनधनको क्षति



प्राकृतिक विपद्‍भन्दा सडक दुर्घटनाबाट बढी जनधनको क्षति
जाजरकोट भेरी नदीमा खसेको बस। पोटोः नेपालगञ्ज अनलाइन।

काठमाडौं : सरकारले प्राकृतिक विपद् जोखिम व्यवस्थापनको कामलाईमात्र प्राथमिकता दिँदा सडक दुर्घटना न्यूनीकरण अभियान ओझेलमा परेको छ।

सडक दुर्घटना र प्राकृतिक विपद्‍ले पारेको मानवीय र आर्थिक नोक्सानीको सरकारी तथ्यांक केलाउने हो भने प्राकृतिक विपद्‍भन्दा दुर्घटनाबाट बढी जनधनको क्षति हुने गरेको छ।

गृहमन्त्रालयका अनुसार पछिल्लो तीन वर्षमा प्राकृतिक विपद्बाट दुई अर्ब ८५ करोड ८० लाख रुपैयाँ र सडक दुर्घटनाबाट चार अर्ब १५ करोड २८ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

नेपाल जनस्वास्थ्य सङ्घको रजत वर्षका अवसरमा शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा पछिल्ला वर्षमा प्राकृतिक विपद्बाट भन्दा सडक दुर्घटनाबाट बढी जनधनको क्षति भइरहेको जानकारी दिइयो।

विश्वस्वास्थ्य सङ्गठनका अनुसार मृत्युका कारणमध्ये सडक दुर्घटना आठौँ नम्बरमा उक्लिएको छ। पहिलो नम्बरमा हृदयाघात रहेको छ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. खेम कार्कीले प्रति १० हजार जनसङ्ख्यामा १६ जना सडक दुर्घटनाका कारण मृत्युको मुखमा पर्ने गरेको बताए।

कार्कीका अनुसार प्रति १० हजारमा कतिजना प्राकृतिक विपद्‍मा परी मृत्यु हुन्छन् भन्नेबारेमा अध्ययन नै भएको छैन।

महानगरीय ट्राफिक कार्यालयले बर्सेनि सडक दुर्घटनाबाट एक हजार ८०० जना मानिसको मृत्यु हुने गरेको जनाएको छ।

कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र पोखरेलले भने, 'तीन वर्षमा सडक दुर्घटनादर घटिरहेको छ तर मानवीय तथा भौतिक क्षति भने वृद्धि भइरहेको छ।' पोखरेलका अनुसार गत वर्ष साना र ठूला गरी आठ हजार ४०६ वटा सडक दुर्घटना भएका थिए।

सदस्य सचिव डा. कार्कीले सडक दुर्घटनाबाट हुने मानवीय तथा भौतिक क्षतिभन्दा घाइतेको उपचार र पुनःस्थापनामा खर्च बढी हुने गरेको बताए।

घरमा एकजना बिरामी हुँदा सिङ्गो परिवार नै बिरामी पर्ने हुँदा दुर्घटनाका बिरामी (ट्रमा) लाई छिटो उपचारको व्यवस्था गरिनुपर्ने उनको सुझाव छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको पछिल्लो स्वास्थ्य नीतिमा एक घन्टाको दुरीका बिचमा ट्रमा उपचार केन्द्र बनाउने भनिएको छ।

प्रहरी निरीक्षक पोखरेलले चालकको लापर्बाही, मादक पदार्थ सेवन र यात्रुको हेलचेक्र्याईं जस्ता कारण सडक दुर्घटना हुने गरेको बताए।

कार्यक्रममा सङ्घका अध्यक्ष भोगेन्द्रराज डोटेलले सडक दुर्घटनाले जनस्वास्थ्यमा गम्भीर असर परिरहेकाले यसको न्यूनीकरणका लागि समन्वयात्मक काम हुनुपर्ने बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell