PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कपिलले काठमाडौँमा भने- 'मेरो कार्यक्रममा कसैको आँखा लाग्यो'



कपिलले काठमाडौँमा भने- 'मेरो कार्यक्रममा कसैको आँखा लाग्यो'

  • पहिलोपोस्ट-
काठमाडौं : शनिबार जतिखेर उनी दशरथ रंगशालामा उपस्थित हजारौँ दर्शकका सामु आफ्नो हास्यकला प्रस्तुत गरिरहेको हुनुपर्ने थियो, उतिबेला याक एन्ड यति होटलको एउटा हलका सीमित मिडियाकर्मी सामु आफ्नो विचार व्यक्त गरिरहेका थिए।


त्यसो त पत्रकारसँग उनको भेटघाट कार्यक्रम पनि कुनै सो भन्दा कम थिएन, उनी निर्धारित समयभन्दा दुई घण्टा ढिला उपस्थित भएका थिए। पत्रकारसामु आउने बित्तिकै उनले माफी मागे र आफूलाई प्रश्न सोध्न भने।


पत्रकारका प्रश्नको उत्तर दिँदै उनले १५ मिनेट बिताए र उनको कार्यक्रम आयोजना गरेको एनसेलका कर्मचारीसँगको अन्तर्क्रिया र सामूहिक फोटो सेसनमा लागे।

कन्ट्रोभर्सी किङ

भारतीय मिडियाले कन्ट्रोभर्सी किङको उपमा दिने गरेका कपिल यसअघि नै नेपालसँग जोडिएको विषयमा विवादमा परिसकेका छन्। सगरमाथा भारतमा रहेको भन्ने अभिव्यक्तिको सोसल मिडियामा आलोचना भएपछि उनले माफी मागेका थिए।


आफ्नो कार्य्रकममा कसैको आँखा लागेकोले स्थगित भएको भन्दै उनले जोक गरे। 'हाम्रो कार्यक्रममा कसैको आँखा लाग्यो', उनले भने, 'अर्कोपटक पुरै परिवारसहित आउँछु।' परिवार भन्नाले उनले आफ्नो कार्यक्रमका अन्य चरित्र/पात्रलाई भनेका थिए।


यसपटक कपिलसँग दादीको भूमिका निभाएका अलि अजगर र नोकरको भूमिका निभाउने राजु अर्थात चन्दन प्रभाकर नेपाल आएका थिए।

विगत सम्झिए

पत्रकारसँग उनले हरेक पेशाका मानिसले जस्तै आफूले पनि सुरुसुरुका दिनमा संघर्ष गरेको बताए। कमेडी सो तथा कार्यक्रमहरुमा छिर्दा सुरुसुरुका दिनमा मानिसहरुले आफूलाई नपत्याउने गरेको अनुभव उनले सुनाए।

'सुरुसुरुका दिनमा मानिसहरुलाई विश्वास थिएन। यो नयाँ केटाले के पो गर्ला र भन्थे मान्छेहरु', उनले भने, 'तर तीन दिन अब पुराना भैसके।'

रंगशाला खाली 

जिल्ला सुरक्षा समितिको बैठकले सुरक्षाको कारण देखाउँदै भारतका चर्चित कमेडियन कपिल शर्मासहितको कार्यक्रम स्थगित गर्न निर्देशन दिएपछि आज रंगशाला अघिपछि झैँ खाली नै रह्यो। हिजो रातिदेखि फैलिएको खबर नसुनेकाहरु भने त्यहाँ टाँगिएको एनसेलले रकम फिर्ता दिने सूचना पढेर फर्किए।

कपिल शर्मा शनिबार र आइतबार दुई दिन भारतको कलर्स च्यानलबाट प्रसारण हुने लोकप्रिय कार्यक्रम कमेडी नाइट्स विद् कपिलपछि अत्यधिक चर्चामा आएका हुन्। स्टायन्ड अप कमेडीमा उनले भारतकै अर्का कलाकार राजु श्रीवास्तवलाई पछि पारिसकेका छन्। राजुले तीन वर्षअघि जावलाखेलमा बलिउड धुम कार्यक्रममा हसाएका थिए। त्यतिबेला उनी ओरालो लागिसकेका भएर जावलाखेलको मैदानमा दर्शकको खासै चाप भने थिएन।

यतिखेर कपिल शर्मा चर्चाको शिखरमा छन् र पहिलो पटक नेपालमा कार्यक्रम गर्दै थिए। उनलाई हेर्न तथा सुन्न कै लागि यो पैसा तिरेर मात्र टिकट नपाइने कार्यक्रमका लागि एनसेलको डाटा किन्नेहरुको लाइन लागेको थियो।

नमस्ते' भन्दै सिटमा बसेका कपिलले बस्नेबित्तिकै पत्रकारको प्रश्न 'फेस' गरे- हामी दुई घण्टादेखि तपाईँलाई कुरिरहेका छौँ। तपाईँ निर्धारित समयभन्दा दुई घण्टा ढिला भैसक्नुभयो। के यो तपाईँ ठूलो स्टार भैसक्नुभयो भन्ने कुराको संकेत हो?

उनले सुरुमा त कार्यक्रम स्थगित भएको कुरा पत्याएनन्। हल्लामात्र हो भन्ठानेछन्। 'मलाई कार्यक्रम स्थगित भएको भन्दै हजारौँ ट्विट प्राप्त भए। सुरुमा त हल्ला होला भन्ठानेँ तर पछि औपचारिक जानकारी आएपछि पक्का भयो।'

सो स्थगित भएको थाहा पाउँदा पनि उनले आफ्नो भ्रमण रोकेनन्। 'हामीले उनको टिम म्यानेजरलाई कार्यक्रम स्थगित भएको जानकारी गराएको केही बेरमै उनको ट्विट आयो 'भोलि नेपाल जाँदैछु' भनेर। हामी पनि दंग पर्यौँक', एनसेलका कर्पोरेट सञ्चार विज्ञ मिलनमणी शर्माले भने।
काठमाडौं आफूलाई मनपर्ने सहर भएकाले भ्रमण नरोकेको कपिलले बताए।







@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell